काठमाडौं। काठमाडौं-तराई/मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको महादेवटारमा सुरुङ छिचोलिएको छ। ३.३९९ किलोमिटर लामो सुरुङ बुधबार ‘ब्रेक थ्रु’ गरिएको हो। सुरुङ ब्रेक थ्रुमा राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी भएका छन्।
सुरुङ ब्रेक थु समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल नेपालि सेनाको हेलिकोप्टरमा महादेवटार पुगेका थिए। राष्ट्रपति पौडेलले सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै विकासका काममा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।
‘विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय छ,’ उनले भने।
फास्ट ट्र्याक निर्माणमा नेपाली सेना संलग्न छ। सेनाले २०७४ साउनदेखि फास्ट ट्र्याक बनाउन सुरु गरेकामा बल्ल आधा काम भएको छ।
राष्ट्रपति पौडेलले फास्ट ट्र्याकको निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।
‘यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुने नै छ, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्नेछ। देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यो आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु,’ उनले भने।
राष्ट्रपतिले फास्ट ट्र्याकको काम सम्पन्न गर्नका लागि सेनालाई सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, चिनियाँ राजदूत झाङ माओमिङ र कोरियाका राजदूत पार्क जे क्यूङ, प्रधान सेनापति अशोकराज सिग्देललगायतको सहभागिता थियो।