BIZMANDU
www.bizmandu.com

चीन पुगे पुटिन, एपेक सम्मेलनको साइडलाइनमा ट्रम्प र सीसँग पहिलोपटक त्रिपक्षीय भेटवार्ता गर्दै

२०८३ मंसिर २

चीन पुगे पुटिन, एपेक सम्मेलनको साइडलाइनमा ट्रम्प र सीसँग पहिलोपटक त्रिपक्षीय भेटवार्ता गर्दै
चीन पुगे पुटिन, एपेक सम्मेलनको साइडलाइनमा ट्रम्प र सीसँग पहिलोपटक त्रिपक्षीय भेटवार्ता गर्दै

काठमाडौं। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार पुटिन स्थानीय समयअनुसार राति करिब २ बजे सेन्जेन पुगेका हुन्।

GBIME
Tata

एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र पुटिनबीच पहिलोपटक ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने भएपछि उनको चीन भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

उनको स्वागत चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निर्णयकारी निकायका पाँचौँ वरीयताका नेता काइ छीले गरेका थिए।

काइ छी चिनियाँ राष्ट्रपति सी चिनफिङका प्रमुख सहयोगी तथा वास्तविक प्रमुख कर्मचारी प्रमुखसमेत हुन्। विमानस्थलमा पुटिनलाई चिनियाँ सैनिकको मार्चपास र नृत्य प्रस्तुतिसहित स्वागत गरिएको थियो।

एपेक सम्मेलनको साइडलाइनमा हुन लागेको बैठकमा अमेरिका, चीन र रसियाका राष्ट्रप्रमुख सहभागी हुनेछन्। तीन शक्तिशाली मुलुकका नेताबीच हुन लागेको यो पहिलो त्रिपक्षीय भेटवार्ता हो।

चीनको विदेश मन्त्रालयले सोमबार बैठक हुने पुष्टि गरेको थियो। यसअघि ह्वाइट हाउस र क्रेमलिनले पनि भेटवार्ताबारे घोषणा गरेका थिए।

द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले रसिया-युक्रेन युद्ध अन्त्य गर्ने विषयमा वार्ता अघि बढाउने उद्देश्यले यस्तो बैठकको प्रस्ताव गरेका थिए। यद्यपि, चीनको विदेश मन्त्रालयले बैठकको कार्यसूचीबारे विस्तृत जानकारी दिएको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि अक्टोबरमा आणविक हतियार निशस्त्रीकरणका विषयमा तीन नेताबीच छलफल हुन सक्ने बताएका थिए। यसै महिनाको सुरुवातमा उनले तीन नेताले विभिन्न विषयमा व्यापक छलफल गर्ने संकेत गरेका थिए।

ट्रम्पले त्यतिबेला इरानमा जारी युद्ध अन्त्य गर्ने प्रयासबारे पनि कुरा भइरहेको बताएका थिए। तर, बिहीबारको बैठकमा कुन विषयले प्राथमिकता पाउने भन्नेबारे औपचारिक विवरण भने सार्वजनिक भएको छैन।