काठमाडौं। लुम्बिनी लायन्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिगको फाइनलमा पुगेको छ। साविक विजेता लुम्बिनीले आज सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनल पुगेको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।
सुदूरपश्चिमका थारिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले समान १ विकेट लिए पनि लुम्बिनीलाई रोक्न सकेनन्। ब्याटिङमा प्रतियोगिताभर संघर्ष गरिरहेको सुदूरपश्चिमले आज भने बलियो मानिएको फिल्डिङमा पनि निकै गल्तीहरु गर्यो।

लुम्बिनी फाइनलमा पुग्दा यसअघिका दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिमलाई पनि फाइनल पुग्ने अझै एक मौका छ। अब, बुधबार इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाज र चितवन भिड्नेछन्। यो खेलको विजेता टोलीले सुदूरपश्चिमसँग दोस्रो क्वालिफायरमा फाइनल पुग्न खेल्नेछ।
लुम्बिनीलाई फाइनल पुर्याउन १०६ रनको लक्ष्य पछ्याउने क्रममा निरोशन डिक्वेलाले अर्धशतकीय इनिङ्स खेल्दै ३७ बलमा अविजित ५९ रनको योगदान दिए। त्यस्तै, रोहित पौडेलको २१ तथा दीलिप नाथको अविजित १० रन लुम्बिनीलाई जिताउन पर्याप्त बन्यो।
सुदूरपश्चिमले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको हो।

सुदूरपश्चिमको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरीको एकल प्रयास रह्यो। उनले ५१ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा इशान पाण्डेले २७ रन बनाए। पहिलो बलबाटै विकेट गुमाउन थालेको सुदूरपश्चिमको बाँकी ब्याटरले दोहोरो अंकको रननै बनाउन सकेनन्।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलमेन र शेर मल्लले समान २ विकेट लिँदा किशोर महतो र अभिषेश गौतमले समान १ विकेट लिए।

बुधबार इलिमिनेटरको खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्।