BIZMANDU
www.bizmandu.com

चन्द्र ढकाल सार्क चेम्बरको पर्यटन समितिको संयोजक, परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता

२०८३ मंसिर १

चन्द्र ढकाल सार्क चेम्बरको पर्यटन समितिको संयोजक, परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता
चन्द्र ढकाल सार्क चेम्बरको पर्यटन समितिको संयोजक, परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता

काठमाडौं। आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकाल सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सीसीआई)को पर्यटन समितिको संयोजकको जिम्मेवारी पाएका छन्।

GBIME
Tata

सार्क सीसीआईको ८८औं कार्यकारी समितिको मंगलबार माल्दिभ्समा सम्पन्न बैठकले ढकाललाई संयोजक चयन गरेको हो।

सार्क सीसीआईको पर्यटन समितिको संयोजकको हैसियतले समग्र दक्षिण एसियाको पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्ने बताएका छन्।

‘क्षेत्रीय पर्यटन प्रवर्धनका लागि सार्कभित्रै घुमौं भन्ने भावनाका साथ अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्न आवश्यक छ। विभिन्न देशका गन्तव्यलाई समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्दै धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनमा आपसी आदानप्रदान बढाउन सकिन्छ,’ उनले भने।

ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेको भन्दै सर्वोच्च शिखर सगरमाथादेखि हिन्द महासागरका सुन्दर टापु, भूपरिवेष्ठित राष्ट्रदेखि विशाल समुद्री तट, जङ्गल, मरुभूमि तथा समृद्ध धार्मिक र ऐतिहासिक सम्पदाले यस क्षेत्रलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने अपार सम्भावना रहेको बताए।

‘विश्वको करिब एक चौथाइ जनसंख्या बसोबास गर्ने यो क्षेत्र आफैंमा एक विशाल आन्तरिक पर्यटन बजार पनि हो,’ उनले भने, ‘यो अथाह सम्भावनालाई यथार्थमा बदल्न समग्र सार्क क्षेत्रमै पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार अपरिहार्य छ।’

ढकालले सार्क क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डलाई एकअर्काको देशमा विस्तार गर्नुपर्ने बताए।उनले सार्क राष्ट्रका प्रमुख शहरबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गरी पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमनमा तीव्रता ल्याउन सकिने बताए। ‘नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सार्कका प्रमुख गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्न सकिए क्षेत्रीय पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्नेछ,’ उनले भने।

उनले यसका लागि सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीचको बलियो सहकार्यको आवश्यकता औंल्याए।