BIZMANDU
www.bizmandu.com

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त दुई सातादेखि हिरासतमा, ३८ करोड कर्जा दुरुपयोगको अनुसन्धान

२०८३ मंसिर १

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त दुई सातादेखि हिरासतमा, ३८ करोड कर्जा दुरुपयोगको अनुसन्धान
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त दुई सातादेखि हिरासतमा, ३८ करोड कर्जा दुरुपयोगको अनुसन्धान

काठमाडौं। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त दुई सातादेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को हिरासतमा छन्। सीआइबीले उनको बयान लिइरहेको छ।

GBIME
Tata

प्रहरीले कर्जा दुरुपयोग गरेको आरोपमा दीक्षान्तमाथि अनुसन्धान भइरहेको जिकिर गरेको छ। उनले विभिन्न कम्पनीमार्फत ३८ करोड रुपैयाँ बराबरको कर्जा दुरुपयोग गरेको देखिएको प्रहरीको दाबी छ।

दीक्षान्तलाई सीआइइबीले गत कात्तिक १६ गते भैरहवाबाट पक्राउ गरेको थियो। त्यसअघि गत वैशाख तेस्रो साता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले बानियाँको काठमाडौंको नक्साल र सुन्धारा तथा हेटौंडा-५, पिप्लेस्थित घर र कार्यालयमा छापा मारेको थियो।

सुन्धारास्थित कार्यालय बानियाँले कार्यकर्ता भेटघाटका लागि प्रयोग गर्ने गरेका थिए। त्यस्तै नक्सालस्थित कार्यालय भने व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन्। नेपाली कांग्रेसका नेता बानियाँ गत पोहोर २० गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

विभागले बानियाँमाथि केन्द्रित भएर अनुसन्धान थालेको थियो। तर, सम्पत्ति शुद्धीकरणमा प्रमाण भेटिएन। कर्जा दुरुपयोगको आशंकापछि विभागले राष्ट्र बैंकलाई जानकारी गराएको थियो।

राष्ट्र बैंकले कर्जा दुरुपयोगमा अनुसन्धान गर्न भन्दै सीआइबीलाई पत्राचार गरेपछि दीक्षान्त पक्राउ परेका हुन्। ‘राष्ट्र बैंकको पत्राचारसँगै अनुसन्धान अगाडि बढाइएको हो। अहिले हामी प्रारम्भिक चरणमा नै छौं,’ सीआइबीका एसएसपी अनुपशमशेर जबराले बिजमाण्डूसँग भने।

दीक्षान्त संचालक रहेका तीन वटा कम्पनीको कर्जा दुरुपयोग भएको देखिएको छ। भू-गर्भ सिमेन्ट, बानियाँ कन्स्ट्रक्सन र बानियाँ सप्लार्यसका नाममा लिएको कर्जा विभिन्न प्रक्रियाबाट सेयरमा लगानी भएको खुलेको हो।

करिब ३८ करोड रुपैयाँको सेयर खरिद गरेको देखिएको छ। ठेक्का मोबिलाइजेसनको पैसा पनि सेयर खरिद गर्न प्रयोग गरेको भेटिएपछि अनुसन्धान अघि बढाइएको हो।

बानियाँको कम्पनीले ठेक्कापट्टाको काम पनि गर्दै आएको छ। उनको कम्पनीले ठेक्का लिएका सडक रुग्ण र अलपत्र छन्। कम्पनीले पुँजी वृद्धि लगायत अन्य शीर्षकमा कर्जा लिएको देखिएको छ।

‘कर्जा रकम त अर्बमा छ। तर, ३८ करोड रुपैयाँ भने सेयरमा नै घुमाएर लगानी भएको देखिएको छ,’ एक अनुसन्धान अधिकृतले भने। बानियाँले नेपाल बैंक, एनआइसी एसिया बैंक र सानिमा बैंकबाट कर्जा लिएका थिए।

कर्जा लिएको केही सातामा नै रकम सेयरमा लगानी गरेको देखिएको छ। सेयर बिक्री गरेको केही रकम बानियाँ र आफन्तहरूको खातामा आएको अनुसन्धानबाट खुलेको ती अधिकृतले बताए।

बैंकबाट अन्य प्रयोजनका लागि ऋण लिएका कम्पनीमा ९० प्रतिशतभन्दा बढी सेयर लगानी बानियाँ र उनका आफन्तहरूको नै देखिएको छ।