BIZMANDU
www.bizmandu.com

आईपीएलबाट धोनीको संन्न्यास, चेन्नई सुपर किंग्सको मेन्टर बन्ने घोषणा

२०८३ मंसिर १

आईपीएलबाट धोनीको संन्न्यास, चेन्नई सुपर किंग्सको मेन्टर बन्ने घोषणा
आईपीएलबाट धोनीको संन्न्यास, चेन्नई सुपर किंग्सको मेन्टर बन्ने घोषणा

काठमाडौं। भारतीय क्रिकेटका महान् खेलाडी महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट खेलाडीका रूपमा सन्न्यास लिएका छन्। चेन्नई सुपर किंग्स (सीएसके) ले मंगलबार धोनीलाई सन् २०२७ को संस्करणदेखि टोलीको मेन्टर नियुक्त गर्ने घोषणा गरेको हो।

GBIME
Tata

४५ वर्षीय धोनीले सन् २००८ मा सुरु भएको आईपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएका थिए। उनी प्रतियोगिताको पहिलो संस्करण खेलेका खेलाडीमध्ये अन्तिम सक्रिय खेलाडी थिए। तर, घुँडाको चोटका कारण उनले सन् २०२६ को पूरा सिजन गुमाएका थिए।

धोनीले आईपीएलमा १८ वर्ष लामो खेलाडी जीवन बिताउँदै आफूलाई प्रतियोगिताकै सफल कप्तानमध्ये एकका रूपमा स्थापित गरेका छन्। उनको कप्तानीमा चेन्नईले पाँचपटक आईपीएल उपाधि जितेको छ। सन् २०१० र २०११ मा लगातार उपाधि जितेको चेन्नईले सन् २०१८, २०२१ र २०२३ मा पनि उपाधि उचालेको थियो।

आईपीएलमा कप्तानका रूपमा धोनीले सर्वाधिक २२६ खेल खेलेका छन्। तीमध्ये १३३ खेलमा टोलीलाई जित दिलाएका छन्। कम्तीमा १० खेलमा कप्तानी गरेका कप्तानमध्ये उनको ५८.८४ प्रतिशत जितको अनुपात उत्कृष्ट रहेको छ।

चेन्नई सुपर किंग्सका सञ्चालक तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्व अध्यक्ष एन श्रीनिवासनले धोनीसँगको सम्बन्धलाई विशेष रहेको बताएका छन्।

‘धोनीबिना चेन्नई सुपर किंग्सको कल्पना गर्न सकिँदैन। झन्डै दुई दशकदेखि हामीले उनीसँगै सफलता, असफलता र अनेक उतारचढावको यात्रा गरेका छौँ,’ श्रीनिवासनले भनेका छन्।

उनले सन् २००८ मा धोनीलाई चेन्नईको टोलीमा आबद्ध गराउन आफूले जोड दिएको स्मरण गर्दै त्यो आफ्नो सबैभन्दा राम्रो निर्णय भएको बताएका छन्। धोनी सधैँ चेन्नईको पहिचानको हिस्सा रहने र यो टोली उनको घर भएको पनि उनले उल्लेख गरेका छन्।

धोनीले सन् २०२२ मा केही समयका लागि चेन्नईको कप्तानी रविन्द्र जडेजालाई सुम्पिएका थिए। तर, टोलीको खराब प्रदर्शनपछि उनले पुनः कप्तानी सम्हालेका थिए। सन् २०२३ को सिजनपछि भने उनले कप्तानी ऋतुराज गायकवाडलाई हस्तान्तरण गरेका थिए।

धोनीले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। भारतका लागि उनको अन्तिम खेल सन् २०१९ को एकदिवसीय विश्वकपको सेमिफाइनल थियो।