BIZMANDU
www.bizmandu.com

हिउँदमा दैनिक ९०० मेगावाटसम्म विद्युत अपुग हुने, ३५० मेगावाट ल्याउन भारतको अनुमति

२०८३ मंसिर १

हिउँदमा दैनिक ९०० मेगावाटसम्म विद्युत अपुग हुने, ३५० मेगावाट ल्याउन भारतको अनुमति
हिउँदमा दैनिक ९०० मेगावाटसम्म विद्युत अपुग हुने, ३५० मेगावाट ल्याउन भारतको अनुमति

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले यस वर्ष हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ।

GBIME
Tata

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार आइएक्सको डे-अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो।

प्राधिकरणले मंसिर १ देखि आगामी साउन १५ सम्म विद्युत् आयात गर्न पाउनेछ। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आइएक्सबाट विद्युत आयात गर्न सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कटैया-कुशाहा, रामनगर-सुरजपुरा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया-मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट विद्युत् आयात गर्न सक्नेछ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएसँगै हिउँदयाममा विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताए।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट विच्छेद भएका कारण हिउँदयाममा लोड व्यवस्थापन गर्न चुनौती हुने देखिएकामा प्राधिकरणले ३५० मेगावाट आयात गर्न अनुमति पाएको हो।

प्राधिकरणका अनुसार गत वर्षको माग र उत्पादनका आधारमा यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा बढी बिजुली माग हुने अनुमान छ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत आयात गर्नुपर्ने प्राधिकरणको अनुमान छ।

प्राधिकरणले उच्च माग हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने प्रक्षेपण गरेको छ।

५६ मेगावाट निर्यातको अनुमति

प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट आइएक्समा बिक्री गर्न पनि अनुमति पाएको छ। प्राधिकरणले मंसिर १ देखि आगामी साउन १५ सम्म तीन आयोजनाको विद्युत् निर्यात गर्न अनुमति पाएको हो।