काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहँदा नेपाली क्रिकेट टोली भने कतार प्रस्थान गरेको छ। एसीसी एसिया कप राइजिङ स्टार्स खेल्न सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली कतार प्रस्थान गरेको हो।
कतारमा नेपालले भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो पहिलो खेल भारतसँग २० नोभेम्बरमा खेल्नेछ भने २२ नोभेम्बरमा यूएई तथा २४ मा पाकिस्तानसँग खेल्नेछ।
यता एनपीएलको भर्खर लिग चरण सकिकएको छ। यता फाइनल खेल २१ नोभेम्बरमा हुनेछ।
कतार जाने टोलीमा हाल एनपीएल खेलिरहेका पाँच खेलाडी छन्। सुदूरपश्चिम रोयल्सका इशान पाण्डे, काठमाडौं गोर्खाजका राशिद खान, चितवन राइनोजका देव खनाल, लुम्बिनी लायन्सका सन्दीप जोरा र अभिशेष गौतम नेपाल क्रिकेट संघ (क्यान)को टोलीमा छन्।
तर आज कतार जाने टोलीमा भने यी खेलाडी छैनन्। अर्थात यी खेलाडीले भारतसँगको खेल छाडेरै एनपीएललाई प्राथमिकता दिएको देखिन्छ। खेलाडी बिदाइको क्रममा क्यानले जारी गरेको तस्बिरमा अध्यक्ष चतुरबहादुर चन्दसँग सीमित खेलाडीमात्र देखिन्छन्। बिदाइ कार्यक्रममा क्यानले पत्रकारलाई बोलाएको थिएन।
‘हामीले कोअर्डिनेसन गरेर ब्याकअप टिम पठाएका छौँ। एनपीएलको फाइनल पछि सबै टुंगो लाग्छ।’ क्यानका सचिव खड्काले भने। उनले इलिमिनेटरपछि कतार जाने खेलाडी थपिँदै जाने बताए।
टोलीमा दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, करण केसीजस्ता प्लेअफ पुगेका खेलाडी छैनन्। प्लेअफमा पुगेका खेलाडीले पनि एनपीएललाई नै प्राथमिकता दिन खोजेको देखिन्छ।
तर, प्रतिस्पर्धी भारत र पाकिस्तानले प्रभावशाली युवा खेलाडीलाई राखेर टिम घोषणा गरेको छ। भारतको टोलीमा आईपीएलका चर्चित वैभव सूर्यवंशी, तिलक वर्मा, रिंकु सिंह, अभिषेक शर्मा, प्रभशिमरन सिंहजस्ता खेलाडी छन्। पाकिस्तानको टोलीमा अब्दुल समद, हैदर अली, फरहान युसुफजस्ता खेलाडी छन्।
पहिला इमर्जिङ टिम्स एसिया कप भनेर चिनिने यो प्रतियोगिता एसियाका उदीयमान खेलाडीलाई राम्रो प्लाटफर्मका रुपमा हेरिँदै आएको छ। यो प्रतियोगितामा आईसीसीका फुलमेम्बर राष्ट्रहरुले ‘ए’ टोली पठाउँदा एसोसिएट टोलीहरुले सिनियर टोली पठाउँदै आएका छन्।