BIZMANDU
www.bizmandu.com

फाइनल पुग्न भिड्दै सुदूरपश्चिम र लुम्बिनी, के छन् यी दुईका बलिया र कमजोर पक्ष?

२०८३ मंसिर १

फाइनल पुग्न भिड्दै सुदूरपश्चिम र लुम्बिनी, के छन् यी दुईका बलिया र कमजोर पक्ष?
फाइनल पुग्न भिड्दै सुदूरपश्चिम र लुम्बिनी, के छन् यी दुईका बलिया र कमजोर पक्ष?

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज फाइनल पुग्ने पहिलो टोलीको टुंगो लाग्दैछ। एनपीएलको पहिलो क्वालिफायरमा आज अघिल्लो संस्करणमा फाइनल खेलेका दुई टोली सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स पहिलो क्वालिफायरमा भिड्दैछन्।

GBIME
Tata

आज जित्ने टोलीमा सोझै फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ। इलिमिनेटरमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। यसको विजेता टोलीले दोस्रो क्वालिफायरमा आज पराजित हुने टोलीसँग फाइनलका लागि प्रतिस्पर्धा हुनेछ।

फ्यानबेसका हिसाबले निक्कै बलियो सुदूरपश्चिम लगातार तेस्रो पटक पनि फाइनल पुग्ने होडमा छ। लुम्बिनीलाई साविक विजेताको पगरी जोगाउनु छ। यी दुई टोलीमा समानता पनि छन्। सबैभन्दा ठूलो समानता हो- सन्तुलन। यी दुबै टोलीमा मुख्य विदेशी खेलाडी र नेपाली खेलाडी अघिल्ला संस्करणबाटै सँगै खेल्दै आएका छन्।

स्कट कुगेलेइन, सैफ जैबजस्ता खेलाडी सुदूरपश्चिममा र रुबेन ट्रम्पलमेन, निरोश डिक्वेलाजस्ता खेलाडी लुम्बिनीमा प्रभावशाली भूमिकामा छन्।

नेपाली खेलाडी पनि दुबै टोलीमा राम्रा छन्। रोहित पौडेल, सन्दीप जोरा, शेर मल्लजस्ता प्रभावशाली खेलाडी लुम्बिनीमा रहँदा ब्याटिङ बलिङमा राम्रो सन्तुलन बन्छ। सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी जस्ता खेलाडी प्रभावशाली छन्।

सुदूरपश्चिमको अर्को सबल पक्ष पनि छ – फिल्डिङ। चुस्त फिल्डिङ गरेर रन रोक्नु तथा ब्याटरलाई दवाबमा राख्नु सुदूरपश्चिमको पहिचान नै हो। तर, शीर्षक्रमका ब्याटर विनोद भण्डारी, आरिफ शेख र इशान पाण्डेले खासै कन्सिस्टेन्सी नदेखाउँदा सुदूरपश्चिमको ब्याटिङ त्यतिधेरै अब्बल देखिएको छैन। अर्कोतर्फ सबै विभागमा राम्रो देखिएको लुम्बिनीसँग ‘आटस्ट्याण्डिङ’ भन्ने किसिमको प्रदर्शन भने देखिँदैन। उसले गल्ती कम गर्ने र आफ्नो स्पीरिट नछाड्ने रणनीतिबाटै सफलता पाइरहेको छ।

आज सुदूरपश्चिमको ब्याटिङले धेरै कुरा निर्धारण गर्न सक्छ। शेर मल्ल, रुबेन ट्रम्पलमेन, किशोर महतोजस्ता खेलाडी सुदूरपश्चिमलाई अफ्ठेरो पार्न सक्छन्। अर्कोतर्फ ब्याटिङमा निकै डेप्थ भएको लुम्बिनी सुदूरपश्चिमको कडा बलिङ र फिल्डिङसामू संघर्ष गर्न सक्छ।

खेल साँझ ५ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।