काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणको खेल सकिएको छ। चार टोली बाहिरिँदा बाँकी चार टोलीले उपाधिका लागि प्रतिस्पर्धामा छन्।
यसपालि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन्। बाहिरिने टोलीमा विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स् छन्। लिग अघि सबै टोलीले आफूलाई उपाधि दाबेदार मानेर बलियो तयारी गरे पनि चार टोलीका लागि लिग सोचेजस्तो भएन।
बाहिरिएका चारै टोलीको साझा समस्या देखिन्छ -नेपाली र विदेशी खेलाडीबीचको तालमेल। तर, यति मात्रै जवाफ गोलमटोल हुन आउँछ। किनकि हरेक टोलीसँग आफ्नै कथा छन्।

पोखराले अन्तिम खेलमा आएर आफ्नो क्षमता देखायो तर सकिब अल हसन, मेहदी हसनजस्ता चर्चित खेलाडी टिममा रहँदासम्म त्यो देखिएन। तालमेल नै नमिलेपछि कप्तान परिवर्तन गरियो, त्यसले पनि काम गरेन। कप्तान फेरेर पनि काम नगरेको अर्को टोली हो कर्णाली याक्स। सुरुका दुई खेलमा जित निकालेर सनसनी मच्चाएको कर्णालीले त्यसपछि हार बेहोर्यो। सोमपाल कामीलाई हटाएर डेभिड मिलरलाई कप्तान बनाए पनि टोली प्लेअफमा पुग्न सकेन। जबकि सबैभन्दा धेरै संख्यामा प्रभावशाली नेपाली खेलाडी कर्णालीमै थिए।
कर्णालीसँग सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, पवन सर्राफजस्ता खेलाडी थिए। विदेशीमा पनि डेभिड मिलरदेखि सानदार लय देखाएका अरिफुल इस्लामसम्म थिए।

कर्णालीका गुल्सन झाले तेस्रो म्याचमा हार ब्यहोर्दासम्म एक अर्कालाई ‘ब्याक’ गरे पनि स-साना गल्ती दोहोरिइरहँदा नतिजा खराब आएको बताए। पोखरा र कर्णालीमा टिमभित्र आन्तरिक रूपमा पनि सबै कुरा सुमधुर नरहेको पनि बुझिएको छ। कप्तान परिवर्तन र खराब नतिजाको शृङ्खला यसैको एउटा उपज हुन सक्छ।
‘तयारी अनुसार भएन। लक पनि थिएन केही खेलमा। सायद अर्को सिजनमा कमब्याक गर्न सक्नेछौँ,’ पोखराका ब्याटर दिनेश खरेलले भने।
पोखराले लिगबाट बाहिरिएपछि भने एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोरको कीर्तिमान बनायो, काठमाडौंलाई जित्यो।
उसो त पोखरा यसअघिका सिजनमा पनि प्लेअफ पुग्न नसकेको टोली हो। तर, तथ्यांकमा हेर्दा पोखरासँग कीर्तिमानका भने कमी छैनन्। एनपीएलको सबैभन्दा ठूलो स्कोरदेखि सबैभन्दा ठूलो साझेदारी सम्मको कीर्तिमान पोखरासँगै छ। अझ शतकमा त पोखराको छुट्टै लगाव छ।

एनपीएलमा हालसम्म ४ शतक बनेका छन्। यीमध्ये एउटा शतक कर्णालीका मार्क वाटको हो। बाँकी तीन शतक पोखराकै आन्द्रेस गुएस, एडम रोसिङटन र युवराज साम्राको हो। बाँकी टोलीका खेलाडीले शतक बनाएका छैनन्। पोखराले तीन वटा संस्करणमा शतक बनाएर पनि प्लेअफ चाहिँ पुगेको छैन।
अर्को टोली विराटनगरसँग क्षमता थियो। तर, उसको मुख्य समस्या फिल्डिङमा रह्यो। विराटनगरका कप्तान सन्दीप लामिछानेले दुई वटा कुरा औंल्याए। एउटा थियो – चाँडो जित मानेर खेल्दा विराटनगर क्लोज गेम हार्न पुग्यो। दोस्रो चाहिँ फिल्डिङ। लिगको बीचमा लामिछानेले फिल्डिङ टाउको दुखाइ बनेको स्विकार्दै सुधारको प्रयास गरिरहेको बताए।
‘फिल्डिङमा हामी अलि पछि परिरहेका छौँ। कुनै गेममा ड्यु फ्याक्टर र कुनै गेममा वर्षाले पनि असर गरिरहेको छ। हामीसँगै सबै कुरा भइरहेको छ,’ विराटनगरको जित्नै पर्ने अन्तिम दिनको खेल अघि लामिछानेले भनेका थिए, ‘यो एक्सक्युज त हुन सक्दैन। तर, कस्तो कन्डिसनमा खेलिरहेका छौँ, त्यसले पनि फरक पार्छ। क्याच मिस हुन सक्छ, तर इमानदार प्रयास भएको छ/छैन त्यो महत्त्वपूर्ण हुन्छ।’
तर, निर्णायक खेलमा पनि विराटनगरलाई फिल्डिङले नै डुबायो।
विराटनगरका चरित असलंकाले पनि फिल्डिङमा कन्सिस्टेन्स नहुनुलाई नै हारको कारण माने।

अर्को टोली जनकपुरको समस्या अलग छ। लिग सकिएपछि जनकपुर किन सफल भएन भन्ने प्रश्नमा प्रशिक्षक शिवनारायण चन्द्रपाल स्पष्ट थिए। उनको जवाफी थियो – नेपाली खेलाडी चलेनन्। भएको पनि त्यस्तै थियो। यसपाला जनकपुरमा चल्ने नेपाली खेलाडी भनेको राहुल यादव थिए। अन्य ठूला नाम मात्रैले टिम चल्न सकेन।
‘स्थानीय खेलाडीले प्रदर्शन गर्न सकेनन्। उनीहरूको ब्याटिङ चलेन।’ उनले भने। उनले भनेजस्तै अनिलकुमार साहजस्ता मुख्य ब्याटर नै नचल्दा पहिलो संस्करणको च्याम्पियन तेस्रो संस्करणमा तालिकाको पुछारमा रह्यो।
जनकपुरको टिममा हेर्दा प्रोपर ब्याटरमा भन्दा अलराउण्डरमा बढी निर्भर भएको देखिन्छ। जनकपुरले ब्याटिङमा दुई पाकिस्तानी ब्याटरको भर गरेको थियो तर एनओसी विवादका कारण उनीहरूलाई फिर्ता पठायो। तर, त्यो ग्याप भने जनकपुरले भर्न सकेन।

अब, नजर पहिलो क्वालिफायरमा छ। पोहोर फाइनल खेलेका दुई टोली यसपाला फाइनल खेल्न भिड्दैछन्। यी दुई टोलीमा केही समानता पनि छन्। यी दुई टोलीको सफलताको पछाडि पुरानो सेटअप मुख्य हो। नेपाली खेलाडी त छँदैछन् विदेशी खेलाडी पनि टिम बुझेका छन्। सैफ जैव, स्कट कुगेलेइन जस्ता खेलाडी सुदूरपश्चिम यसपाला मात्रै पुगेका हैनन्। त्यस्तै, रुबेन ट्रम्पलमेन, निरोशन डिक्वेलाजस्ता खेलाडी पनि यसपालामात्रै लुम्बिनी पुगेका पनि हैनन्। यी खेलाडीले अघिल्ला संस्करण पनि यही टिमबाट खेल्दा तालमेल निकै राम्रो छ।

सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, विनोद भण्डारीजस्ता प्रभावशाली नेपाली खेलाडी छन् भने लुम्बिनीमा रोहित पौडेल, शेर मल्ल, सन्दीप जोरा जस्ता नेपाली खेलाडी छन्। फाइनल पुग्न यी दुई टोली मंगलबार साँझ ५ बजे भिड्नेछन्।