काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले स्वीकृतिको सैद्धान्तिक स्वीकृति दिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा रहेको स्थितिमा राखेपले एनएफएल गर्न स्वीकृति दिएको हो।
नेपाल सुपर लिग (एनएसएल)का क्लबहरुले आँफै लिग गर्ने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सञ्चालन हुने घोषणा गरेका थिए।
एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको एनएफएलले जनाएको छ। हाल लिगमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी छन्। यसबाहेक एनएफएलले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ।
लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौंडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आह्वान गरेको थियो।
नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति १६ नोभेम्बर २०२६ अर्थात् ३० कात्तिक २०८३ तोकिएको थियो। तर, चाडपर्वको बिदालाई मध्यनजर गर्दै इच्छुक पक्षलाई आवश्यक तयारीका लागि थप समय उपलब्ध गराउन बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ४ (नोभेम्बर २०, २०२६) सम्म पुर्याइएको थियो। ‘यो समयसीमा शुक्रबार सकिँदै छ। अहिले हामी यसैको तयारीमा छौं,’ एनएफएलका अध्यक्ष कल्याण गुरुङले भने।
लिग रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ। तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ आयोजकको दाबि छ।