काठमाडौं। चोलेन्द्र शमशेर जबरा प्रकरणमा जोडिएका बिचौलिया इनम सापकोटाको मोबाइलको सञ्चार विवरण छेडखानीमा प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार(वेन) को संलग्नताको सूचना बाहिरिएपछि विवादमा तानिएका छन्। सापकोटाको मोबाइल सल्लाहकारले नियन्त्रणमा लिएर छेडखानी गरेको घटनाले प्रधानमन्त्री शाहलाई समेत विवादित बनाएको छ।
३५ वर्षसम्म मुलुकमा पुराना दलहरूले कुशासन र भ्रष्टाचार गरेको भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले सरकार सञ्चालन गरेको वर्ष दिन नपुग्दै राजकाजमा प्रश्न उठेका हुन्। सुशासनको विगतको नारालाई बिर्साउने गरी एकपछि अर्को विवादमा प्रधानमन्त्री शाह परिरहेका छन्। गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा करिब दुई तिहाइ मत पाएको रास्वपाको तर्फबाट शाह प्रधानमन्त्रीमा विराजमान छन्।
बिचौलिया सापकोटा पक्राउसँगै शाहको सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारीले इनमको मोबाइल फोन र अनुसन्धान प्रक्रियामा हस्तक्षेप गर्ने हिसाबले प्रस्तुत भएको भिडियो पनि सार्वजनिक भएको छ। अनुसन्धान प्रक्रियामा हस्तक्षेप र प्रश्न उठाउने गरी भएका यी गतिविधिले पुराना दलका गतिविधि पुनरावृत्तिको झल्को दिएको छ।
प्रमाण छेडखानी प्रकरणमा प्रहरी कार्यालय पुगेका प्रधानमन्त्री शाहका सचिवालय सदस्य अहिलेसम्म अनुसन्धानको दायरामा आएका छैनन्। ८ महिनाको अवधिमा शाह आलोचनाको निशानामा उनकै सचिवालयका कारण पनि भइरहेका छन्।
राहदानी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई दबाबमा पारेर जर्मन कम्पनीलाई मुद्दा हाल्न लगाउनेदेखि सुनकोसी मरिण डाइभर्सनमा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई नियन्त्रणमा लिएर ठेक्का रद्द गराउनेमा प्रधानमन्त्री शाहकै सचिवालय हस्तक्षेपले विवादित बनाएको थियो। यो ठेक्कामा आर्थिक विषय पनि जोडिएका थिए।
शाह आफैंले पनि उनीहरूमाथि एक्सन लिएका छैनन्। शाह हालसम्म ठूला विवादित प्रकरणमा जोडिएका छैनन् भने उनले भ्रष्टाचारीमाथि निर्मम रूपमा प्रस्तुत हुने छवि बनाएका छन्। तर, आफ्नै सल्लाहकारले गरिरहेको अस्वाभाविक र अशोभनीय काम कारबाहीमा मौन छन्।
बेनमाथि छानबिनका लागि संसद्को राज्य व्यवस्था समितिमा रहेका प्रतिपक्षी दलका सांसदले बैठकका लागि निवेदन नै दर्ता गराएका छन्। रास्वपाका सांसद हरि ढकाल सभापति रहेको राज्य व्यवस्था समितिको बैठक बोलाइएको छैन।
कूटनीतिक मर्यादा विपरीत गोप्य रूपमा भारत भ्रमण गरेको, सरकारी कर्मचारीलाई धम्काएको, ठेक्कापट्टाका लागि दबाब दिएको भन्दै वेनको काम कारबाहीप्रति रास्वपाभित्र पनि चरम असन्तुष्टि छ।

बिचौलियासँग कनेक्सन देखिएका अरू व्यक्तिमाथि निर्मम बनिरहँदा आफ्नै छविमाथि नै धक्का लाग्ने गरी सचिवालय सदस्यहरू गैरकानुनी गतिविधिमा सक्रिय रहँदा बालेन मौन छन्। रास्वपाले औपचारिक रूपमा बालेनको सचिवालयका विवादित व्यक्तिबारे कुनै निर्णय नगरे पनि सभापति रवि लामिछाने पक्षका नेताहरूले व्यञ्जनकार लगायतलाई टिमबाट हटाउनुपर्ने भन्दै दबाब दिइरहेका छन्।
प्रवक्ता जगदीश खरेलले पार्टीले निर्देशन दिँदा हस्तक्षेप हुने भएकाले शाहले सल्लाहकारबारे गर्ने निर्णयमा समर्थन रहने बताए। ‘प्रधानमन्त्रीज्यूलाई अब एक्सन लिनुपर्छ भन्ने महसुस गर्नुभयो भने उहाँले चाल्ने कदममा पार्टीको सम्पूर्ण समर्थन रहन्छ,’ उनले भने।
लामिछाने निकट नेताका अनुसार बालेनको सचिवालयका व्यक्तिहरूको भूमिकालाई लिएर लामिछाने रुष्ट भए पनि पार्टी सचिवालय बैठकबाट हटाउनका लागि निर्देशन दिन सक्ने स्थिति नरहेको बताए। ‘सचिवालयको बैठकबाट त गृहमन्त्रीलाई नै स्पष्टीकरण सोध्नुपर्छ भन्ने थियो। तर, सबै सभापतिले भनेजस्तो भएन। सरकार र पार्टीको दुरी बढ्न सक्छ भन्ने शाह निकटका व्यक्तिले भनेपछि निर्णय नभएको हो। तर, पार्टीले पत्रकार पक्राउ गरेको, कर्मचारीलाई धम्काएको लगायतका विषयमा अनुसन्धान गर्नु भनेको छ,’ उनले भने।
किन हटाउँदैनन्?
२७ सदस्यीय बालेनको सचिवालय सदस्यमध्ये वेन बालेन काठमाडौं महानगरपालिकाको मेयर रहेका बेलादेखिकै सल्लाहकारको भूमिकामा शक्तिशाली थिए।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार रहेका हरिबोल गजुरेल व्यञ्जनकार सामान्य सल्लाहकार मात्र नभएकाले बालेनले उनीबारे मौनता साँधेको बताए।
‘बेन सामान्य सल्लाहकार मात्रै होइनन्। उनलाई प्रधानमन्त्रीले किन हटाउँछन् त? सल्लाहकारको सल्लाह प्रधानमन्त्रीले सुन्नु पनि पर्छ। नभए किन राख्ने भन्ने हुन्छ। पार्टीका नेताहरूको कुरा सुन्नका लागि सल्लाहकार नै राख्नुपर्छ भन्ने पनि हुन्न। बालेनको सबै हिसाबले नजिकको मान्छे नै व्यञ्जनकार हुन् त्यसैले हटाउँदैनन्,’ उनले भने।
चुस्त सल्लाहकार टिम भए मात्रै प्रधानमन्त्री सफल हुने नभए जनआक्रोश बढ्दै जाने गजुरेलले बताए। ‘राम्रो सल्लाह दिए, राम्रो व्यक्ति भएपछि प्रधानमन्त्रीलाई नै फाइदा हुने हो,’ उनले भने।
सल्लाहकारको घेराबन्दीका कारण जनसम्पर्कसमेत टुटिरहेको छ। जस कारण निराशा बढ्ने र त्यसले भविष्यमा संकट पैदा गर्ने गजुरेलको भनाइ छ।