BIZMANDU
www.bizmandu.com

बालेन सरकारसँग अब वार कि पारको लडाइँ, ‘प्रधानमन्त्री कार्यालय कर्मचारी यातना गृह भयो’

२०८३ कात्तिक ३०

बालेन सरकारसँग अब वार कि पारको लडाइँ, ‘प्रधानमन्त्री कार्यालय कर्मचारी यातना गृह भयो’
बालेन सरकारसँग अब वार कि पारको लडाइँ, ‘प्रधानमन्त्री कार्यालय कर्मचारी यातना गृह भयो’

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन सरकारसँग अब वार कि पारको लडाइँ हुने बताएका छन्।

GBIME
Tata

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आङदेम्बेले अब सरकारलाई कुनै साथ, सहयोग र सल्लाह नदिने बताएका छन्।

सोमबार गृहजिल्ला पाँचथरमा आयोजित पाँचथर बहुमुखी क्याम्पसको साधारणसभामा आङ्देम्बेले न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमाथि सरकारको हस्तक्षेप बढेको आरोप लगाए।

प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइएको भन्दै उनले राज्यका लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेप गलत भएको बताए।

‘यो सरकारलाई यत्तिकासम्म हेर्‍यौं। तर, न्यायलयमाथि हस्तक्षेप बढायो। प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइयो, प्रहरीमाथि हस्तक्षेप बढायो। राज्यका लोकतान्त्रिक संस्थाहरुमाथि हस्तक्षेप भयो। यो गलत छ,’ उनले भने, ‘अब यो सरकारलाई कुनै साथ रहने छैन। कुनै सल्लाह पनि दिइने छैन। मनपरी गर्नेलाई सल्लाह दिनु कुनै अर्थ छैन। अब वार कि पार हुन्छ।’

आङ्देम्बेले संसद् अधिवेशन तत्काल आह्वान गर्न पनि सरकारसँग माग गरे।

यसैगरी, उनले सामुदायिक क्याम्पसहरूलाई आंगिक क्याम्पसमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। प्रदेश सरकारले पनि उच्च शिक्षाको स्वामित्व लिनुपर्ने उनको भनाइ छ।

उच्च शिक्षाका लागि पहाडी जिल्लाबाट विद्यार्थी शहरतर्फ जाने क्रम बढ्दा गाउँ रित्तिँदै गएको भन्दै उनले सामुदायिक क्याम्पसमा राज्यको लगानी बढाउनुपर्ने बताए। स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन सामुदायिक क्याम्पसलाई व्यवस्थित र सुदृढ बनाउने नीति आवश्यक रहेको उनले औँल्याए।