BIZMANDU
www.bizmandu.com

हरियो तरकारीको भाउ एक सातामा ४५ प्रतिशतसम्म घट्यो, यस्तो छ सस्तिनुको कारण

२०८३ कात्तिक ३०

हरियो तरकारीको भाउ एक सातामा ४५ प्रतिशतसम्म घट्यो, यस्तो छ सस्तिनुको कारण
हरियो तरकारीको भाउ एक सातामा ४५ प्रतिशतसम्म घट्यो, यस्तो छ सस्तिनुको कारण

काठमाडौं। बजारमा हरियो तरकारी सस्तो भएको छ। थोक बजारमा तरकारीको भाउ एक सातायता ४५ प्रतिशतसम्म घटेको छ।

GBIME
Tata

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडा, आलु, काउली, बन्दा मटरकोशा, भन्टा, भिण्डी, काँक्रो लगायतको भाउ घटेको हो।

हिउँदे तरकारी बजारमा आउन थालेका बेला चाडपर्वका कारण खपत घटेका कारण मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

‘तिहार र छठले गर्दा तरकारीको खपत कम भयो। त्यसैले तरकारीको भाउ सस्तो भएको हो,’ समितिका सूचना अधिकारी विदुरप्रसाद आचार्यले भने, ‘हिउँदे तरकारी बजारमा आउन थालेकाले पनि भाउ सस्तो हुन थालेको हो। अहिले किसानको खेतबारीमै भाउ घटेको छ। जसले गर्दा उपभोक्ताले सस्तोमा पाउन थालेका हुन्।’

खपत कम भएका कारण अहिले कालीमाटी बजारमा भित्रिने तरकारीको परिमाण घटेको छ। सामान्य अवस्थामा दैनिक ५ लाख केजीभन्दा बढी तरकारी भित्रिने कालीमाटीमा एक सातादेखि दैनिक साढे ४ लाख केजीभन्दा आएको छैन।

कालीमाटी बजारमा काठमाडौं उपत्यकाका साथै धादिङ, काभ्रे, मकवानपुर, चितवन, सर्लाही लगायत जिल्लामा उत्पादित हरिया तरकारी आइरहेको छ।

अफसिजनका केही तरकारीको भाउ भने बढेको छ। तने बोडी, घिउ सिमी, तितो करेला, परवर लगायत केही तरकारीको भाउ भने बढेको हो।

कुन तरकारीको भाउ कति?

कालीमाटी बजारमा ठूलो नेपाली गोलभेडाको भाउ प्रति केजी ६० देखि ७० रुपैयाँसम्म छ। सानो गोलभेडाको मूल्य प्रति केजी १२ देखि २० रुपैयाँमा झरेको छ। एक साताअघि गोलभेडाको भाउ १०० रुपैयाँभन्दा बढी थियो।

समितिका अनुसार आलु लाम्चो प्रति केजी ५५ देखि ६० रुपैयाँ, सेतो आलु प्रति केजी २८ देखि ३२ रुपैयाँ, रातो आलु (भारतीय) प्रति केजी ३० देखि ३५ रुपैयाँ, सुकेको प्याज प्रति केजी ८८ देखि ९२ रुपैयाँ, गाँजर प्रति केजी ८० देखि ९० रुपैयाँ, बन्दा प्रति केजी २५ देखि ३५ रुपैयाँ, स्थानीय काउली प्रति केजी २० देखि ३० रुपैयाँ, मुला प्रति केजी ३०, बोडी प्रति केजी ७० देखि ९० रुपैयाँ, मटरकोशा १००  देखि १३० रुपैयाँ छ।

त्यस्तै, भिण्डी प्रति केजी ७० देखि ८० रुपैयाँ, तिते करेला प्रति केजी ८० देखि १०० रुपैयाँ, बरेला प्रति केजी ३० देखि ४० रुपैयाँ, रायो साग प्रति केजी ४० देखि ५० रुपैयाँ छ।