काठमाडौं। नेपाली अनुसन्धानकर्ता डा. रोजी प्रधान श्रेष्ठले बेलायतको प्रतिष्ठित ब्रिटिश एकेडेमी अन्तर्राष्ट्रिय फेलोसिप २०२६ प्राप्त गरेकी छन्। यो फेलोसिप प्राप्त गर्ने उनी पहिलो नेपाली अनुसन्धानकर्ता बनेकी छन्।
फेलोसिपअन्तर्गत उनले बेलायतको लफबरो विश्वविद्यालयमा दुई वर्षे अनुसन्धान परियोजनाको नेतृत्व गर्नेछिन्। आगामी डिसेम्बरदेखि २०२८ नोभेम्बरसम्म सञ्चालन हुने उक्त अनुसन्धानका लागि २ लाख ५५ हजार ८८४.७३ पाउन्ड स्टर्लिङ (करिब ५ करोड २५ लाख रुपैयाँ) अनुदान स्वीकृत भएको छ।
‘इनर्जी प्रिक्यारिटी एट द मार्जिन्स : इन्टरसेक्सनल पर्सपेक्टिभ्स अन एज, जेन्डर एन्ड माइग्रेसन इन द यूकेको नेट जिरो ट्रान्जिसन’ शीर्षकको अनुसन्धानले बेलायतको शून्य कार्बन उत्सर्जनतर्फको ऊर्जा रूपान्तरणले सीमान्तकृत समुदायमा पार्ने प्रभाव अध्ययन गर्नेछ। विशेषगरी ऊर्जा असुरक्षा, लैङ्गिकता, उमेर र आप्रवासनका सवाललाई अनुसन्धानमा समेटिनेछ। यसले समावेशी र न्यायपूर्ण ऊर्जा नीतिका लागि नीतिगत बहसमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
डा. प्रधान श्रेष्ठले यसअघि सन् २०२५ मा युरोपेली आयोगको मारी स्कोलोदोव्स्का-क्युरी एक्सन्स पोस्टडक्टोरल फेलोसिप ‘सिल अफ एक्सिलेन्स’ समेत प्राप्त गरेकी थिइन्। उनले सन् २०२३ मा थाइल्यान्डको प्रिन्स अफ सोङ्खला विश्वविद्यालयबाट दिगो ऊर्जा व्यवस्थापनमा विद्यावारिधि गरेकी हुन्।
उनका अनुसन्धान ऊर्जा गरिबी, लैङ्गिक समानता, सामाजिक समावेशिता र दिगो विकासमा केन्द्रित छन्। उनका अनुसन्धान लेख अन्तर्राष्ट्रिय शैक्षिक जर्नलमा प्रकाशित छन्। उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, एसियाली विकास बैंकलगायत संस्थासँग पनि अनुसन्धान तथा परामर्शका क्षेत्रमा काम गरेकी छन्।
ब्रिटिश एकेडेमी बेलायतको मानविकी तथा सामाजिक विज्ञान क्षेत्रको राष्ट्रिय एकेडेमी हो। फेलोसिपसँगै डा. प्रधान श्रेष्ठले बेलायतको ग्लोबल ट्यालेन्ट भिसासमेत प्राप्त गरेकी छन्। यस उपलब्धिले नेपाल र बेलायतबीच अनुसन्धान तथा शैक्षिक सहकार्य विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।