BIZMANDU
www.bizmandu.com

मनपरी बिदाले वर्षमा १७२ दिन मात्रै खुल्छन् कार्यालय, कर्मचारीले पाउँछन् थप ४४ दिन बिदा

२०८३ कात्तिक ३०

मनपरी बिदाले वर्षमा १७२ दिन मात्रै खुल्छन् कार्यालय, कर्मचारीले पाउँछन् थप ४४ दिन बिदा
मनपरी बिदाले वर्षमा १७२ दिन मात्रै खुल्छन् कार्यालय, कर्मचारीले पाउँछन् थप ४४ दिन बिदा

काठमाडौं। दसैंतिहारले गर्दा कात्तिकमा १८ दिन घोषित सार्वजनिक बिदा नै थियो। तर, शुक्रबार सरकारले छठ पर्वका कारण सोमबार पनि सार्वजनिक बिदा दिने घोषणा गर्‍यो।

GBIME
Tata

३० दिनको महिनामा कात्तिकमा ११ दिन मात्र कार्यालयहरु संचालनमा आए। सरकारले कात्तिक ३० गते मात्र होइन यसअघि गत भदौ २३ गते पनि ‘जेनजी दिवस’ भन्दै अचानक सार्वजनिक बिदा दिएको थियो।

बालेन्द्र शाह प्रधानमन्त्री भएपछि शनिबारसँगै आइतबार पनि बिदा दिन थालिएको छ। वर्षको ३६५ दिनमध्ये शनिबार र आइतबार गरेर १०४ दिन नियमित सार्वजनिक बिदा हुन्छन्। २०८३ को पात्रोलाई मात्र आधार मान्दा नयाँ वर्ष, चाडपर्व, दिवस र जयन्तीका कारण अर्को ३७ दिन सार्वजनिक बिदा छन्। 

यसबाहेक सरकारले चाडपर्व मान्न समय पुगेन भनेर थप बिदा दिने गरेको छ। साथै जयन्ती, शोकलगायतका लागि पनि बिदा दिन थालेको छ। विदेशबाट अति महत्त्वपूर्ण व्यक्तिहरु आउँदासमेत बिदा दिने क्रम बढेको छ। शनिबार र आइतबारको १०४ दिनका साथै पर्व, महोत्सव, शोक लगायतलाई थपेर अर्को ४५ दिन सार्वजनिक बिदा छ।

सरकारी स्तरबाट दिइने बिदा बाहेक श्रमिक ऐन, निजामती ऐनलगायतले पनि कर्मचारीलाई बिदाहरुको व्यवस्था गरेको छ। निजामती, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, व्यावसायिक रुपमा चलेका कर्पोरेटहरुले श्रम ऐन अन्तर्गत घर बिदा, बिरामी बिदा, भैपरी आउने बिदा दिने गरेका छन्। यसबाहेक मातृत्व संरक्षण विदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, विशेष बिदा, विवाह बिदा, वार्षिक अनिवार्य बिदा, असाधारण बिदा, तालिम तथा अध्ययन बिदा दिने गरेका छन्।

घर, भैपरी, बिरामी, अनिवार्यजस्ता बिदाहरु ४४ दिनको हुने गरेको छ। कर्मचारीले शनिबार र आइतबारको १०४ दिन, पर्व, महोत्सव तथा दिवस बिदा ४५ दिन र श्रम ऐन अन्तर्गत ४४ दिन गरेर वर्षमा १९३ दिन बिदा पाउँछन्। अर्थात कर्मचारीले वर्षमा १७२ दिन मात्र काम गर्न पाउँछन्। बर्षको ४७ प्रतिशत मात्र कार्यालय खुल्दा सेवा प्रवाह प्रभावकारी हुँदैन। 

पछिल्लो समय संघीय सरकारले त बिदा थपेकै छ प्रदेश र स्थानीय तहले समेत आफ्नो क्षेत्रमा पर्ने पर्व, महोत्सव, शोकलगायतमा बिदा दिन थालेका छन। पछिल्लो समय जुन सरकार आए पनि बिदा दिने प्रवृतिलाई प्राथमिकता दिन थालेपछि सार्वजनिक स्तरबाटै यसको विरोध हुन थालेको छ।

‘बिदा अस्वाभाविक रुपमा दिँदा यसले अर्थतन्त्रको लागत बढाउँछ,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजङ्ग पाण्डेले भने, ‘सरकारी क्षेत्र बन्दा हुँदा त्यो सँग जोडिने सम्पूर्ण व्यापार व्यवसाय प्रभावित हुन्छ। बिदा दिने विषयमा सरकार अलिकति गम्भीर बन्नु पर्छ।’

उनका अनुसार, बिदाका कारण एक दिनअघि आउनु पर्ने भुक्तानी तीन दिनपछि सर्दा त्यसले भुक्तानी चक्र नै बिगार्ने हुन्छ। एक पटक चक्र बिग्रिएपछि नियमित हुन कठिन हुन्छ। ‘त्यसमाथि अर्थतन्त्र सुस्त छ यस्तो बेलामा काम गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘अनावश्यक बिदाले काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्छ।’

सार्वजनिक बिदा असीमित र बेहिसाब हुँदा स्वेच्छाचारिता बढ्छ। बिदा धेरै हुँदा कर्मचारीको वृत्तिविकासमा सुधार पनि भएको छैन। कुनै अध्ययन अनुसन्धानविना बेहिसाब बिदाले कर्मचारीको उत्पादकत्व त बढाएको छैन नै सेवा प्रवाह नहुँदा आम नागरिकले दुःख पाउनु परेको छ।