काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई हराएको छ। लिग चरणको अन्तिम खेलमा पोखराले काठमाडौंमाथि ५५ रनको जित निकालेको हो। नतिजासँगै प्लेअफको समीकरण पनि टुंगिएको छ।
अंक तालिकाको शीर्ष दुईमा रहेका लुम्बिनी र सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्नेछन्। पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछन्। यसमा पराजित हुने टोलीलाई पनि ‘कमब्याक’का लागि दोस्रो क्वालिफायरको विकल्प हुनेछ।
त्यस्तै, तेस्रो र चौथो स्थानका काठमाडौं गोर्खाज र चितवन राइनोजले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। यसमा पराजित हुने टोली बाहिरिनेछ भने विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउने छ। पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरको विजेताबिचको दोस्रो क्वालिफायरमा विजेता टोली फाइनल पुग्ने दोस्रो टोली हुनेछ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले प्रभावशाली ब्याटिङ गर्दै २२५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं १९.५ ओभरमा १६९ रनमा समेटियो।
काठमाडौंका लागि साहिल पटेलले सर्वाधिक ३४ रन बनाउँदा विल बोसिस्टोले २६ तथा जहानदाद खानले २४ रन बनाए।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पोखराले काठमाडौँसामु एनपीएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य दिएको थियो।
यस क्रममा पोखराले विराटनगरले पोखराविरुद्ध नै बनाएको २२० रनको कीर्तिमानलाई पोखराले तोड्यो। पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो।
विस्फोटक ब्याटिङ गर्ने क्रममा पोखराका कुशल भुर्तेल शतक बनाउनबाट एक रनले चुके। उनी ९९ रन बनाएर आउट भए। त्यस्तै, युवराज साम्राले ८९ रन बनाउँदा चमिका करुणारत्ने १९ रनमा नटआउट रहे। साम्रा र भुर्तेलबिचको १८६ रनको साझेदारी एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी हो।
बलिङमा काठमाडौंका करण केसीले २ तथा जहानदाद खानले १ विकेट लिए।
अंक तालिकामा ११ अंक बनाएर शीर्षस्थानमा लुम्बिनी लायन्स रहँदा १० अंक बनाएको सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो। त्यस्तै, तेस्रो स्थानमा ८ अंक बनाएको काठमाडौं तथा चौथो स्थानमा ७ अंकसहित चितवन रह्यो। विराटनगर किंग्स, कर्णाली याक्स, विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने प्रतियोगिताबाट बाहिरिएका छन्।
एनपीएलमा सोमबार कुनै खेल छैन। मंगलबार पहिलो क्वालिफायरको खेल हुनेछ।