BIZMANDU
www.bizmandu.com

केरुङ-काठमाडौं रेलमार्ग बनाउन पौने ५ खर्ब रुपैयाँ, चीनले भन्यो- ४० वर्षसम्म घाटा हुन्छ

२०८३ कात्तिक २९

केरुङ-काठमाडौं रेलमार्ग बनाउन पौने ५ खर्ब रुपैयाँ, चीनले भन्यो- ४० वर्षसम्म घाटा हुन्छ
केरुङ-काठमाडौं रेलमार्ग बनाउन पौने ५ खर्ब रुपैयाँ, चीनले भन्यो- ४० वर्षसम्म घाटा हुन्छ

काठमाडौं। चीनले केरुङदेखि काठमाडौं जोड्ने प्रस्तावित रेलमार्ग नेपालको भू-बनोटका कारण निर्माण गर्न जटिल रहेको र करिब ५ खर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

GBIME
Tata

चीनको अध्ययनले केरुङ-काठमाडौं रेलमार्ग बनाउन २०.९६७ अर्ब आरएमबी अर्थात ४ खर्ब ८२ अर्ब रुपैयाँ खर्च हुने देखाएको हो। यसमध्ये स्थिर लगानी १९ अर्ब ३५ करोड ७० लाख युआन अर्थात् ४ खर्ब ४५ अर्ब रुपैयाँ हुने अनुमान छ। कुल लगानीको ५० प्रतिशत पुँजी कोषबाट र बाँकी ५० प्रतिशत बैंक ऋणबाट जुटाउने प्रस्ताव गरिएको छ।

चीनले पूर्वाधार विकास मन्त्रालयका अधिकारीहरुलाई बोलाएर आफ्नो अध्ययनबारे ब्रिफिङ गरेको छ। चिनियाँ अधिकारीहरुले निर्माण अवधिसहित ४० वर्षसम्म रेलमार्गले आर्थिक प्रतिफल दिन नसक्ने ब्रिफिङ गरेको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

रेलमार्ग सञ्चालनमा आएपछि पनि निरन्तर घाटा हुने अनुमान छ। अध्ययनले ४० वर्षको गणना अवधिमा कुल १९ अर्ब ७८ करोड १० लाख चिनियाँ युआन सञ्चित घाटा हुने र औसत वार्षिक घाटा ६१ करोड ८० लाख युआन पुग्ने प्रक्षेपण गरेको छ।

रेलमार्गको अध्ययनबारे चिनियाँ अधिकारीको ब्रिफिङ सुन्न मन्त्रालयका सचिव पद्मकुमार मैनालीसहितको टोली बेइजिङ गएको थियो।

रेलमार्ग ७८ किलोमिटर, निर्माण अवधि ८ वर्ष

नेपालको जटिल भौगोलिक बनावटका कारण रेलमार्ग निर्माण कठिन रहेको चिनियाँ अध्ययनले देखाएको छ। रेलमार्गको ९६.७३ प्रतिशत हिस्सा पुल र सुरुङले ओगट्नेछ।

प्रस्तावित रेलमार्गको कुल लम्बाइ ७८.१४६ किलोमिटर हुनेछ। यसमा १० वटा पुलको कुल लम्बाइ ३.७८४ किलोमिटर र ८ वटा सुरुङको कुल लम्बाइ ७१.८०६ किलोमिटर रहनेछ।

सबैभन्दा लामो सुरुङ धुन्चे नम्बर १ हुनेछ। यसको लम्बाइ १३.२१ किलोमिटर र अधिकतम ओभरबर्डन गहिराइ १ हजार ८७७ मिटर हुनेछ। त्यस्तै, धुन्चे नम्बर २ सुरुङ १२.०५२ किलोमिटर लामो हुनेछ।

लाङटाङ खोला पुल सबैभन्दा अग्लो पुल हुनेछ। यसको उचाइ ३०२ मिटर रहने अध्ययनमा उल्लेख छ।

रेलमार्गमा चारवटा स्टेसन प्रस्ताव गरिएको छ। रसुवामा पासिङ स्टेसन, धुन्चेमा सीमा निरीक्षण स्टेसन, नुवाकोटमा मध्यवर्ती स्टेसन र काठमाडौंमा पोर्ट स्टेसन रहनेछन्।

रेलमार्ग निर्माणका लागि ८ वर्ष लाग्ने अनुमान छ। भन्सार प्रक्रिया, जग्गा प्राप्ति, घरधुरी विस्थापन लगायत प्रक्रिया पूरा गरी निर्माण पूरा गर्न ९६ महिना लाग्ने अनुमान गरिएको हो।

अध्ययनको निष्कर्ष : निर्माण गर्ने समय परिपक्व भएको छैन

चीनले अध्ययनमार्फत रेलमार्ग निर्माणका लागि समय परिपक्व भइनसकेको बताएको छ।

प्रस्तावित रेलमार्ग आसपासको पारिस्थितिक तथा वातावरणीय अवस्था संवेदनशील रहेको, यात्रु तथा मालसामानको आवागमन न्यून हुने सम्भावना रहेको र लगानीको तुलनामा आर्थिक प्रतिफल कमजोर रहेको निष्कर्षसहित चीनले निर्माणका लागि समय परिपक्व भइनसकेको बताएको हो।

रेलमार्ग निर्माण र सञ्चालनका लागि नेपालभित्र आवश्यक पूर्वाधार तथा सहयोगी संरचना पर्याप्त नरहेको चिनियाँ अध्ययनमा उल्लेख छ।

विशेषगरी उच्च हिमाली क्षेत्रमा हिमपहिरो र हिमताल विस्फोटबाट आउने बाढी तथा अन्य भौगर्भिक जोखिमले रेलमार्गको रुट, संरचना र डिजाइनमा ठूलो प्रभाव पार्न सक्ने चिनियाँ पक्षको निष्कर्ष छ।

अर्कातर्फ, रेलमार्ग जोडिने चीनतर्फको सीमापार रेल नेटवर्क र काठमाडौंमा रेल नेटवर्क तयार भएको छैन। यो रेलमार्गले चीनको केरुङ हुँदै प्रस्तावित चीन-नेपाल सीमापार रेलमार्ग र एक्सजेड रेलवेलाई जोड्नेछ। तर, ती रेलमार्ग पनि अहिले सम्भाव्यता अध्ययनकै चरणमा छन्।

नेपालतर्फ काठमाडौं-कुरिनटार र काठमाडौं-हेटौंडा रेलमार्ग योजनामै सीमित छन्। यस्तो अवस्थामा केरुङ-काठमाडौं रेलमार्ग अन्य रेल सञ्जालसँग नजोडिने ‘डेड इन्ड’ रेलमार्ग बन्ने अध्ययनले देखाएको छ। त्यसैले चीनले रेलमार्ग निर्माणका लागि समय परिपक्व नभइसकेको निष्कर्ष निकालेको हो।

वार्षिक ४० लाख टन मालसामान ओसारपसार

अध्ययनले केरुङ-काठमाडौं रेलमार्गबाट वार्षिक ४० लाख टन मालसामान ओसारपसार हुने अनुमान गरेको छ। त्यस्तै, प्रति दिन ४ जोडी यात्रुबाहक रेल सञ्चालन गर्ने परिकल्पना गरिएको छ।

रेलमार्गबाट हुने ढुवानीमा निर्यातको हिस्सा बढी रहने अनुमान छ। मुख्य निर्यात सामग्रीमा स्टिल, खनिज, निर्माण सामग्री, मेसिनरी र रासायनिक मल समावेश छन्।

त्यस्तै, चीनबाट नेपालतर्फ आउने मुख्य आयात सामग्रीमा कृषि तथा सहायक उत्पादन, खाद्यान्न र कपडा रहने अध्ययनमा उल्लेख छ। यात्रुबाहक रेलले मुख्यरुपमा चीन-नेपाल सीमापार पर्यटक तथा धुन्चे र नुवाकोटबाट काठमाडौं आवतजावत गर्ने यात्रुलाई सेवा दिनेछ।