काठमाडौं। जयन्ती मेमोरियल ट्रस्टले नेपालमा मुटुरोग उपचार सेवाको पहुँच विस्तारमा योगदान पुर्याउँदै २५ वर्ष पूरा गरेको छ। सन् २००१ अगस्टमा स्थापना भएको ट्रस्टले हालसम्म १० हजारभन्दा बढी मुटुको शल्यक्रियाका लागि आर्थिक तथा उपचार सहयोग गरेको जनाएको छ।
राजकुमारी जयन्ती शाहको स्मृतिमा स्वर्गीय राजकुमारी हेलेन शाहले स्थापना गरेको ट्रस्टले आर्थिक अवस्था कमजोर भएका र भौगोलिक कठिनाइका कारण उपचारबाट वञ्चित बिरामीलाई लक्षित गरी काम गर्दै आएको छ। पोखरास्थित फिस्टेल लजको खुद नाफा ट्रस्टका स्वास्थ्य कार्यक्रमका लागि उपयोगको व्यवस्था गरिएको छ।
ट्रस्टका अनुसार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरसँगको सहकार्यमा मुटुको शल्यक्रियाका लागि सहयोग गरिएको हो। त्यस्तै, हृदयाघातका बिरामीको उपचारमा प्रयोग हुने स्ट्रेप्टोकिनेजका ६१२ भाइल उपलब्ध गराइएको छ।
सन् २००७ देखि दुर्गम क्षेत्रमा मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको ट्रस्टले सन् २००७ देखि २०१४ सम्म वार्षिक औसत चार र त्यसपछि २०२६ सम्म वार्षिक औसत आठवटा शिविर सञ्चालन गरेको जनाएको छ।
विद्यालयस्तरमा मुटुस्वास्थ्य सचेतना कार्यक्रममार्फत ६ हजारभन्दा बढी विद्यार्थीलाई समेटेको ट्रस्टले सन् २०२५ देखि स्थानीय स्वास्थ्यकर्मी र समुदायका सदस्यलाई नौवटा सीपीआर तथा आधारभूत जीवनरक्षा तालिमसमेत दिएको छ। आगामी दिनमा रोकथाम, समुदायस्तरको स्वास्थ्य परीक्षण र अस्पतालसँगको सहकार्य विस्तार गर्ने ट्रस्टको योजना छ।