काठमाडौं। गोरखाको धार्चे गाउँपालिका-१ को ठाडो भर्याङ भन्ने स्थानमा पहिरो खसेको छ। शनिबार बिहान साढे ८ बजेतिर ठूलो सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ।
पहिरोका कारण कुनै पनि क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनिलकुमार खड्काले बताए। ‘मानवीय, चौपाया केही पनि क्षति भएको छैन। अहिले पहिरो रोकिएको छ,’ उनले भने।
त्यस्तै पहिरोले बुढीगण्डकी नदीको बहाव थुन्न सक्ने त्रास बढाएको थियो। तर अहिले पहिरो रोकिएकाले खोलासम्म नपुगेको हुँदा त्रास मुक्त भएको स्थानीयले जानकारी दिए।
माटो, बालुवा र ढुंगासहितको पहिरो खसेको थियो। नेपाल प्रहरी र सशस्त्रको टोली प्रभावित क्षेत्रमा पुगिसकेका छन्।