केही समयअघिसम्म ‘मेड इन चाइना’ भन्नासाथ सस्ता टिसर्ट र प्लास्टिकका खेलौना बुझिन्थ्यो। अहिले भने विद्युतीय सवारी, कृत्रिम बौद्धिकता (एआई) का उपकरण र अत्याधुनिक औद्योगिक मेसिनरी पनि सूचीमा जोडिएका छन्।
चीनमा बन्ने र निर्यात हुने सामानको स्वरुप बदलिएको छ। कपडा, फर्निचर र सस्ता इलेक्ट्रोनिक सामानसँगै अहिले उच्च प्रविधि र गुणस्तरीय उत्पादन विश्व बजारमा पुगिरहेका छन्। कुनै समय जापान, युरोप र अमेरिकाको विशेषता मानिने उत्पादनमा चीनले आफ्नो पकड बलियो बनाउँदै लगेको छ।
यसको सबैभन्दा गतिलो उदाहरण हो- गाडी उद्योग। चीनले अहिले जर्मनी र अमेरिकाले निर्यात गर्ने कारको संयुक्त परिमाणभन्दा बढी कार विदेश पठाइरहेको छ।
जटिल मेसिनरी, उच्चस्तरीय रासायनिक पदार्थ तथा डेटा सेन्टरमा प्रयोग हुने उपकरणको निर्यात पनि तीव्र रुपमा बढिरहेको छ। अर्कोतर्फ, चीनको परम्परागत निर्यात मानिने जुत्ता, खेलौना र फर्निचरको निर्यात भने घट्नुका साथै केही हदसम्म स्थिर छ।
चीनको यो परिवर्तन एक दशकभन्दा लामो सरकारी प्रयासको परिणाम हो। सरकारले आफ्ना उद्योगलाई सामान्य उत्पादनबाट उच्च मूल्य अभिवृद्धि (हाइ भ्यालु एड) हुने उत्पादनतर्फ लैजान अनुदान, लगानी र विभिन्न नीतिमार्फत प्रोत्साहन गर्दै आएको छ।
चीनको कारखाना उद्योग अहिले तीव्र गतिमा विस्तार भइरहेको छ। घरजग्गा कारोबारको लामो संकट र उपभोक्ताको कमजोर खर्चलाई सम्बोधन गर्ने प्रयास भइरहेका बेला सरकारले अर्थतन्त्र चलायमान राख्न उद्योगलाई ठूलो अनुदान दिइरहेको छ।
यसबाट विश्वभरका उपभोक्ताले सस्तो, आधुनिक र आकर्षक सामान पाउन थालेका छन्। तर, अमेरिका र जर्मनीका कारखानामा काम गर्ने कामदारका लागि भने चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नु रोजगारी गुम्ने जोखिम बनेको छ।

कृत्रिम बौद्धिकता (एआई)
एआईको विकासले अमेरिका र चीनबीच नयाँ प्रतिस्पर्धा सुरु गरेको छ। तर, यही प्रतिस्पर्धाका लागि पनि विश्वका कम्पनीले एआई प्रणाली निर्माण गर्न चिनियाँ उत्पादन र पार्टमा नै भर पर्नुपर्ने अवस्था छ।
सबैभन्दा उन्नत एआई चिप अमेरिकी कम्पनीले डिजाइन गर्छन् तर ती चिप ताइवानमा उत्पादन हुन्छन्। चिपसँगै प्रयोग हुने अन्य हार्डवेयरको ठूलो हिस्सा भने चीनले आपूर्ति गर्छ। यो सूचीमा सामान्य स्तरका चिप, मेमोरी, सर्भरका पार्टपुर्जा, ट्रान्सफर्मर, केबल र डेटा सेन्टरमा प्रयोग हुने कन्ट्रोल बोर्ड समावेश छन्।

टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जकी वरिष्ठ भूराजनीतिक सल्लाहकार रुबी ओस्मानका अनुसार एआईले चीनको व्यापारको स्वरुप बदलिरहेको छ। अत्याधुनिक चिपसँगै आवश्यक पर्ने सामान्य चिप र भौतिक उपकरणको आपूर्तिमा चीन पुनः अग्रस्थानमा देखिएको छ।
सन् २०२६ को पहिलो ६ महिनामा चीनको चिप निर्यात झन्डै दोब्बर हुँदै १७७.२८ अर्ब डलर पुगेको छ। कम्प्युटर तथा सर्भरको निर्यात पनि ४१.३ प्रतिशत बढेको छ।

रासायनिक पदार्थ
घरको भित्तामा लगाइने रङ, सोफामा प्रयोग हुने फोम, फोहोर फाल्ने प्लास्टिकको झोला र स्याम्पुसम्ममा चिनियाँ रासायनिक उद्योगको उत्पादनसँग जोडिएका छन्।
लामो समयसम्म चीनले सामान्य रासायनिक पदार्थ उत्पादन गर्थ्यो भने उच्च मूल्यका रसायन युरोप, जापान र अमेरिकाबाट आयात हुन्थ्यो। अहिले अवस्था बदलिएको छ।
चीनले कारको बम्परमा प्रयोग हुने लचिलो प्लास्टिक, घरको छतमा राखिने सौर्य प्यानल र साइकलका सामग्रीमा प्रयोग हुने कार्बन फाइबरजस्ता उच्च मूल्यका उत्पादनमा पनि आफ्नो क्षमता विस्तार गरिरहेको छ।
यसमा सरकारी अनुदानको ठूलो भूमिका छ। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को तथ्यांकअनुसार पछिल्लो एक दशकमा चिनियाँ रासायनिक कम्पनीले करिब ७५ अर्ब डलर बराबरको अनुदान पाएका छन्। सन् २०२३ मा यस्तो अनुदान करिब १५ अर्ब डलर पुगेको थियो।

चिनियाँ तथ्यांकअनुसार सन् २०१८ देखि २०२३ सम्म करिब ५ हजार नयाँ रासायनिक कम्पनी स्थापना भएका थिए। तीव्र विस्तारका कारण सामान्य रासायनिक पदार्थको अत्यधिक उत्पादन हुन थालेको छ। यसले कतिपय कारखाना बन्द गर्नुपर्ने अवस्था सिर्जना गरेको छ भने उत्पादकले मौज्दात सामान विदेशमा बेच्न थालेका छन्।
बीएएसएफ, डाउ, लियोन्डेलबासेल, सुमितोमो केमिकल, आइएनईओएस र मित्सुबिसी केमिकलजस्ता ठूला कम्पनीले चिनियाँ उत्पादकसँगको मूल्य र उत्पादन क्षमताको प्रतिस्पर्धाले आफ्नो नाफामा जोखिम बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

कारखाना बनाउने कारखाना
चीनबाट धेरै सामान आयात गर्ने कुनै देशमा व्यापार घाटा बढिरहेको छ, स्थानीय कारखाना बन्द भइरहेका छन् र कामदारले रोजगारी गुमाइरहेका छन् भने समाधानका रुपमा चिनियाँ सामानमा भन्सार बढाउने र स्वदेशमै उद्योग स्थापना गर्ने प्रस्ताव आउन सक्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस्तो नीतिलाई प्राथमिकता दिँदै आएका छन्। तर, यसमा एउटा समस्या छ- कारखाना बनाउन आवश्यक मेसिनरीसमेत चीनले ठूलो मात्रामा उत्पादन र निर्यात गर्छ।
सन् २०१५ यता चीनको औद्योगिक रोबोट निर्यात ३०० प्रतिशतभन्दा बढी वृद्धि भएको छ। यसले अमेरिकी, जर्मन र इटालियन उत्पादकको बजार हिस्सा खोसिरहेको छ। चीनले मेसिन टुल निर्यातमा पनि जर्मनीलाई उछिनेको छ।
औद्योगिक उपकरण उत्पादनमा युरोप अझै बलियो भए पनि उसको प्रभाव घट्दै गएको छ। गोल्डम्यान स्याक्सको अनुमानअनुसार विश्वव्यापी पुँजीगत उपकरणको मागमा युरोपको हिस्सा सन् २००५ को ५४ प्रतिशतबाट घटेर ४३ प्रतिशतमा झरेको छ। चीनको हिस्सा भने ७ प्रतिशतबाट बढेर २४ प्रतिशत पुगेको छ।
जर्मनीको अप्टिकल प्रविधि र नेदरल्यान्ड्सको चिप उत्पादन गर्ने मेसिनजस्ता क्षेत्रमा युरोपको पकड अझै बलियो छ। तर, सामान्य देखिए पनि कारखाना संचालनका लागि अत्यावश्यक मेसिनरी उत्पादनमा चीन तीव्र गतिमा अघि बढिरहेको छ।
एचएसबीसीका प्रमुख एसिया अर्थशास्त्री फ्रेड न्युम्यानका अनुसार कारखाना बनाउन चिनियाँ मेसिनरी आवश्यक पर्न सक्छ। त्योभन्दा ठूलो कुरा, कारखानाभित्रको उत्पादन प्रक्रिया पनि चिनियाँ पार्टपुर्जामा निर्भर रहने सम्भावना हुन्छ।


गाडी उद्योग
बेलायती सवारीसाधन समीक्षक जेरेमी क्लार्कसनले चिनियाँ गाडीको आलोचना गर्दै आएका छन्। तर, युरोपेली उपभोक्ताको रोजाइमा चिनियाँ ब्रान्डको लोकप्रियता बढिरहेको छ। नेपालमा पनि चिनियाँ गाडीहरूको वर्चस्व पछिल्लो समय बढ्दै गइरहेका छन्।
युरोपेली अटोमोबाइल उत्पादक संघको तथ्यांकअनुसार सन् २०२६ को पहिलो ६ महिनामा युरोपमा लिपमोटरका गाडीको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५५८ प्रतिशत बढेको छ। बीवाईडीका गाडीको बिक्री पनि १४६ प्रतिशत बढेको छ।
सस्ता चिनियाँ गाडी अहिले चीनको निर्यात वृद्धिको सबैभन्दा चर्चित उदाहरण बनेका छन्। तिनले अमेरिकी र युरोपेली गाडी उत्पादकलाई कडा प्रतिस्पर्धामा धकेलेका छन्। त्यसैले अमेरिका र युरोपले चिनियाँ गाडीको आयातमा विभिन्न व्यापारिक अवरोध लगाएका छन्।
चिनियाँ गाडी सस्तो हुनुको एउटा कारण उत्पादन क्षमताको अत्यधिक विस्तार पनि हो। चीनका कारखानाले ठूलो परिमाणमा गाडी उत्पादन गरिरहेका छन्, तर घरेलु बजारमा सबै गाडी बिक्री हुन नसकेपछि कम्पनीहरू विदेशमा नयाँ ग्राहक खोज्न बाध्य छन्।
सन् २०१५ यता चीनबाट निर्यात हुने कारको मूल्य १ हजार ८७१ प्रतिशत बढेको छ। सन् २०२० पछि यो वृद्धि झन् तीव्र बनेको हो।
सन् १९८० को दशकमा जापानी गाडीको तीव्र विस्तारले अमेरिका र युरोपका उत्पादकलाई दिएको दबाबलाई अहिले चीनको सवारीसाधन उद्योगसँग तुलना गर्न थालिएको छ।

स्मार्ट घरेलु उपकरण
चीनमा घाँसे मैदान भएका घरको संख्या तुलनात्मक रुपमा कम भए पनि त्यहाँ रोबोटिक घाँस काट्ने मेसिन उत्पादन गर्ने कम्पनीको संख्या ठूलो छ। घरेलु बजार सीमित भएकाले यस्ता कम्पनीले आफ्ना उत्पादन विदेशमा बेच्नुपर्ने हुन्छ। यसले विदेशी प्रतिस्पर्धीमाथि दबाब बढाएको छ।
चीन लामो समयदेखि सस्ता इलेक्ट्रोनिक सामानको प्रमुख उत्पादक रहँदै आएको छ। अहिले भने चिनियाँ कम्पनी उच्चस्तरीय स्मार्ट घरेलु उपकरणमा पनि प्रवेश गरिरहेका छन्।
विद्युतीय गाडी उद्योगका लागि विकास गरिएका एआई, ठूलो परिमाणको तथ्यांक विश्लेषण र स्याटेलाइट पोजिसनिङ प्रविधि अहिले अन्य उत्पादनमा पनि प्रयोग हुन थालेका छन्। उदाहरणका लागि, रोबोटिक घाँस काट्ने मेसिनले पनि इभीको सहायक ड्राइभिङ प्रणालीमा जस्तै स्याटेलाइट पोजिसनिङ प्रयोग गरेर घाँस काट्ने क्षेत्र पहिचान गर्न र तोकिएको सीमाभित्र रहन सक्छ।
यसले पश्चिमा प्रतिस्पर्धीलाई ठूलो दबाब दिएको छ। रोबोटिक भ्याकुम क्लिनर बनाउने अमेरिकी कम्पनी आईरोबटले सन् २०२५ डिसेम्बरमा टाट पल्टिने प्रक्रिया सुरु गरेको थियो। कुनै समय आईरोबटका लागि उत्पादन गर्ने चिनियाँ कम्पनी पिसियापछि त्यसको स्वामित्व लिने अवस्थामा पुगेको थियो।
रोबोटिक घाँस काट्ने मेसिनका लागि युरोप चिनियाँ कम्पनीको ठूलो बजार बनेको छ। स्थानीय उत्पादकको उजुरीपछि युरोपेली आयोगले सन् २०२५ नोभेम्बरमा चिनियाँ प्रतिस्पर्धीले करिब ४० प्रतिशत कम मूल्यमा सामान बेचिरहेको आरोपबारे एन्टी-डम्पिङ अनुसन्धान सुरु गरेको थियो।
अमेरिकामा भने मोटरयुक्त घाँस काट्ने मेसिनको व्यापारमा चीनको विस्तारले ठूलो प्रभाव पारेको छ। अमेरिकाको यस्तो मेसिनको निर्यात सन् २०२३ को १ अर्ब डलरबाट घटेर सन् २०२५ मा ७४ करोड ६० लाख डलरमा झरेको थियो। यही अवधिमा चीनको निर्यात १ अर्ब ३० करोड डलरबाट बढेर २ अर्ब ८० करोड डलर पुगेको थियो।

बदलिँदै ‘मेड इन चाइना’को अर्थ
चीनको औद्योगिक विस्तारले विश्वका उपभोक्तालाई सस्तो मूल्यमा आधुनिक र गुणस्तरीय सामान उपलब्ध गराइरहेको छ। अर्कोतर्फ चीनसँग प्रतिस्पर्धा गर्न नसक्ने देशका उद्योग र कामदारमाथि दबाब बढिरहेको छ।
अमेरिका र युरोपले चिनियाँ सामानमाथि भन्सार बढाएर आफ्ना उद्योग जोगाउन खोजिरहेका छन्। तर, आफ्नै कारखाना निर्माण गर्न आवश्यक मेसिनरी र पार्ट्ससमेत चीनबाट आयात गर्नुपर्ने अवस्थाले यस्तो रणनीतिलाई जटिल बनाएको छ।
‘मेड इन चाइना’ अब सस्ता कपडा, खेलौना र इलेक्ट्रोनिक सामानमा मात्रै सीमित छैन। यो विद्युतीय गाडी, एआई पूर्वाधार, औद्योगिक रोबोट, उच्चस्तरीय रासायनिक पदार्थ र स्मार्ट उपकरण उत्पादन गर्ने चीनको नयाँ औद्योगिक शक्तिको पहिचान बन्दै गएको छ।