कालो रंगको छालाको ज्याकेट उनको ट्रेडमार्क हो। जब उनी कुनै कार्यक्रममा पुग्छन् वा स्टेजमा हुन्छन् उनी कुनै सुपरस्टारभन्दा कम देखिन्नन्। त्यसैले त प्रविधि क्षेत्रमा जेनसेन हुआङलाई ’सिलिकन भ्यालीको टेलर स्विफ्ट’ भनेर चिनिन्छ।
यो नाम यसै जुरेको पनि होइन। हुआङको उदय देखेका र प्रभावित बनेका मेटाका मार्क जुकरबर्गले दिएको नाम हो यो।
जसरी टेलर स्विफ्टको ‘सुपरस्टार’ छविले विश्वलाई नै आकर्षित गरेको छ। हुआङको आकर्षण त्योभन्दा कम छैन। फरक यति हो टेलर स्विफ्टले गीत गाउँदै करोडौंको मन जितिन्। हुआङले प्रविधिलाई सहज बनाएर।
तर, हुआङको यो यात्रा त्यति सहज थिएन। उनी सुरुदेखि नै कालो ज्याकेटमा सजिएर प्रविधि क्षेत्रमा होमिएका होइनन्।
ताइवानमा जन्मिएका हुआङ अहिले ६३ वर्षका भए। उनी १० वर्षको हुँदा अमेरिका पुगेका थिए। हुआङको जीवनको अधिकांश समय ताइवानबाहिर बित्यो। उनी ताइवान र अमेरिका दुवै देशका नागरिक हुन्। उनले आफूलाई ‘आप्रवासी’का रूपमा चिनाउने गर्छन्।
हुआङले किशोरावस्थामा अमेरिकामा पहिलो जागिर डेनिज रेस्टुरेन्टमा गरेका थिए। रेस्टुरेन्टमा ग्राहकलाई खाना पस्कने र भाँडा माझ्ने काम गर्थे उनले।
सन् २०२३ मा डेनिजमा काम गर्दाको अनुभव सम्झँदै उनले त्यहाँबाट आफूले विनम्रता, परिश्रम र अतिथि सत्कारको महत्त्व बुझेको बताएका थिए। अहिले भने उनै हुआङको ‘डाउनफल’ विश्वको लागि ‘कन्टेन्ट’ बनिरहेको छ।
३ दशकअघि जब पर्सनल कम्पयुटरको जमाना सुरु भयो त्यस पछाडिको जिनियस माइन्ड थियो ‘एनभिडिया’। सो कम्पनीले बनाएको चिपको सहाराले गेमरबीच ‘एनभिडिया’ नाम चर्चित बनेको थियो। एनभिडियाले सुरुमा व्यक्तिगत कम्प्युटरका लागि ग्राफिक्स चिप उत्पादन गर्थ्यो। सन् १९९९ मा कम्पनीले विश्वकै पहिलो जीपीयू मानिने जिफोर्स २५६ सार्वजनिक गरेको थियो। समयसँगै यो प्रविधि झन् शक्तिशाली हुँदै गयो।
प्राविधिक भाषामा एनभिडियाका एआई चिपलाई ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) भनिन्छ। सुरुमा यस्ता चिप भिडियो गेमका ग्राफिक्स सञ्चालन गर्न बनाइएका थिए। तर, जीपीयूले एकै पटक ठूलो संख्यामा जटिल गणना तीव्र गतिमा गर्न सक्ने क्षमता राख्छ भन्ने पत्ता लाग्यो। एआई प्रणालीको विकास र सञ्चालनका लागि ठूलो मात्रामा तथ्यांक प्रशोधन गर्नुपर्ने भएकाले यो क्षमता निकै उपयोगी साबित भयो।
एनभिडिया आफ्ना चिपहरूलाई नेटवर्कका रूपमा जोडेर काम गराउन दक्षता राख्ने संस्था हो। यसबाट एआईलाई आवश्यक पर्ने विशाल कम्प्युटिङ क्षमता प्राप्त हुने विज्ञहरू बताउँछन्। साथै कम्पनीले आफ्नै सिएयूडीए सफ्टवेयर उपलब्ध गराउने गरेको छ। यसले एनभिडियाका जीपीयूलाई एआईसम्बन्धी काममा अझ प्रभावकारी बनाउने गरेको बताइन्छ।
सन् २०२२ मा जब च्याटजिपिटीको एकाएक उदय भयो त्यसपछि यसको जग नै एनभिडियाको चिप रहेको उजागर भयो। हुआङको चर्चा त्यसपछि थप चुलियो। एनभिडियाको प्रमुख कार्यकारी अधिकृतका रूपमा हुआङले कम्पनीलाई विश्वकै सबैभन्दा महत्त्वपूर्ण कम्पनी बनाइसकेका थिए त्यस बेलासम्म। कालो छालाको ज्याकेट उनको पहिचान बनिसकेको थियो। विश्वभरका लगानीकर्ता, प्रविधि क्षेत्रका कार्यकारी र राजनीतिज्ञहरूका लागि हुआङ आकर्षणको केन्द्र बनिसकेका थिए।
सन् २००० को सुरुवातदेखि उनले लगाउँदै आएका करिब ६० वटा छालाका ज्याकेट परोपकारी संस्थाको सहयोगार्थ लिलामीमा राखिएको थियो। ती ज्याकेट ९ लाख ६० हजार अमेरिकी डलरमा बिक्री भएको थियो।
एक पटक उनी दक्षिण कोरिया पुग्दा चर्चा त्यही कालो छालाको ज्याकेटको भएको थियो। अहिले त्यही लेदर ज्याकेट हुआङको विरुद्ध पन्चलाइन बनिरहेको छ।

हुआङले सह-स्थापना गरेको कम्पनी एनभिडियाले एआई प्रणालीको विकास र सञ्चालनका लागि अत्यावश्यक कम्प्युटर चिप उत्पादन गर्छ। च्याटजिपिटी, मेटा जस्ता एआई प्रणाली सञ्चालन गर्न यिनै चिपको महत्त्वपूर्ण भूमिका हुन्छ। विश्वमा बन्ने धेरै ल्यापटपमा पनि यही कम्पनीको चिप प्रयोग हुन्छ। यही कम्पनीमा ३ दशकको मिहिनेतले हुआङ विश्वकै धनी व्यक्तिहरूमध्ये एक बने।
अहिले एआईले विश्व अर्थतन्त्र नै रूपान्तरण गरिरहेको छ। मानव सभ्यता नै खतरामा पर्न सक्ने भन्दै यसको नियमनको माग पनि भइरहेको छ। सँगसँगै यसको विकास र रफ्तार पनि बढिरहेको छ। पक्ष र विपक्षमा तर्कहरूको बीच यो क्षेत्रमा सयौं अर्ब डलर लगानी भइरहेको छ। ‘सार्वभौम एआई’ को अवधारणा देशहरूले बनाउन थालेका छन्। यससँगै एनभिडियाका उत्पादनको माग पनि तीव्र रूपमा बढिरहेको छ।
हिजोसम्म एनभिडिया र हुआङ एक अर्काका परिपूरक हुन् भन्दा फरक पर्दैन थियो। ३ दशक यो कम्पनीको नेतृत्व सम्हालेका हुआङको विवाहपछिको ‘अफेयर’सँगै राजीनामा दिएर बाहिरिएका छन्। तर, के उनको पतनका पछाडि अफेयर मात्रै कारक हुन्?
सिलिकन भ्यालीमा ‘अफेयर’को चर्चा नौलो होइन। यसअघि पनि अमेजनदेखि याहुलगायतका प्रविधि कम्पनीहरूका नेतृत्वकर्ताहरूमाथि पनि यस्तै प्रश्न उठेका थिए। केहीले राजीनामा दिए केही सामसुम भए।
एनभिडिया र हुआङको कथा भने अपवाद भयो। न्यूयोर्क टाइम्सले जब हुआङको अफयेरको समाचार ब्रेक गर्यो त्यसलाई ‘अफेयर’ भन्दा अमेरिकाको राष्ट्रिय सुरक्षासँग जोडियो। अमेरिकी सुरक्षा निकायले चिनियाँ गुप्तचरको ‘ट्याग’ लगाएको महिलासँग हुआङको सम्बन्धलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पले नै बोल्न पर्यो।
ट्रम्पले हुआङलाई ती महिला अमेरिकी गुप्तचर रहेकोबारे थाहै नभएको भने। मिडिया आउटलेटहरुमा पनि चर्चा अमेरिकाको राष्ट्रिय सुरक्षामै केन्द्रित रह्यो।
त्यसपछि अर्को समाचार ब्रेक गरियो। हुआङ र एनभिडियाकै अर्का कर्मचारीबीचको सम्बन्ध। यसबाट भने हुआङमाथि नैतिक प्रश्न खडा भयो। आफ्नै कम्पनीको कर्मचारीसँगको सम्बन्ध बाहिरिएपछि एनभिडियामाथि नै दबाब बढ्यो। बजारमा ५०० बिलियन डलरको घाटा कम्पनीले ब्यहोरिसकेको थियो। अन्ततः कम्पनीले हुआङमाथि निर्णय गर्नुअघि उनी आफैंले राजीनामा दिए।
अझै पनि अमेरिकी मिडियाको न्यारेटिभमा हुआङको अफेयर राष्ट्रिय सुरक्षाको विषयमा केन्द्रित छ। चिनियाँ जासुस भनिएको युवतीसँग ‘हनी ट्रयापिङ’को सम्बन्धलाई जोडेर समाचार प्रकाशन जारी छ।
भनिन्छ -हुआङको प्राविधिक ज्ञानले नै उनलाई ग्राहक र लगानीकर्ता माझ छुट्टै पहिचान बनाउन सहयोग गरेको थियो। एनभिडिया र हुआङबारे लेखिएका पुस्तकहरूमा यसबारे चर्चा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ।
हुआङको ट्रम्पसँगको राजनीतिक कनेक्सनकै कारण उनी तारो बन्न सुरु भइसकेका थिए। त्यसमाथि एआईको नियमनलाई लिएर ट्रम्प र उनको धारणा करिब एउटै देखियो।
केही समयअघि एआई नियमन र विकासमा ‘पज’ को माग भइरहँदा हुआङ त्यसको विपक्षमा देखिएका थिए। ट्रम्पले पनि उनको भनाइको समर्थन गरेका थिए। त्यसपछि एआई नियमनमा अवसर खोजिरहेकाहरूले हुआङको ‘पर्सनल लाइफ’ मा प्रवेश गर्न सुरु गरेको भन्ने पनि छन्।
एआईको विकासलाई लिएर हुआङको धारणा सधैँ एउटै थियो। दि गार्जियनमा प्रकाशित लेखमा पत्रकार स्टेफन विटले ‘दि थिनकिङ्ग्स गेम’ लेख्ने क्रममा हुआङसँग अन्तर्वार्ता गरेको प्रसंग प्रकाशित छ। विटका अनुसार सन् २०२४ मा भएको कुराकानीका क्रममा हुआङलाई एआईको भविष्य र रोजगारीबारे प्रश्न गरिएको थियो। एआईले रोजगारी खोस्ने चिन्ता व्यक्त गर्नेहरूप्रति असहमति जनाउँदै हुआङले त्यसबेला नै भनेका थिए, ‘हामी पुस्तौँदेखि हरेक पुस्तामा वस्तु तथा सेवाको सीमान्त लागत शून्य बनाउँदै आएका छौं। र हरेक पटक यही कुराकानी दोहोरिन्छ!’
हुआङको प्रतिक्रियाबाट स्तब्ध भएका विटले आफ्नो पुस्तकमा लेखेका छन्, ‘उनको रिस नियन्त्रणबाहिर, सबै दिशातर्फ फैलिएको र परिस्थितिका हिसाबले अत्यन्तै अनुचित देखिन्थ्यो।’

यद्यपि विटले आफ्नो पुस्तकमा हुआङको व्यक्तित्वको अर्को पक्ष पनि उल्लेख गरेको दि गार्जियनमा उल्लेख छ। विटले लेखेका छन्, ‘हुआङमा चुम्बकीय आकर्षण थियो। उनी निकै रमाइलो गर्न सक्थे र जब उनी रिसाएका हुँदैनथे। तब न्यानो व्यवहार र गहिरो सहानुभूति देखाउन पनि सक्षम थिए।’
विटका अनुसार कुराकानीमा देखिएको रिस केही समयपछि शान्त भएको थियो। त्यसपछि हुआङले भनेका थिए, ‘म एकदम सामान्य मान्छे हुँ।’
त्यससँगै अमेरिकामा भएको मध्यावधि निर्वाचनको परिणाम र डेमोक्रेटहरुले कंग्रेस नियन्त्रणमा राखेपछिको परिस्थिति पनि उनको लागि अनुकूल थिएन।
यस्तै, पक्ष र विपक्षका तर्क बीच अहिले हुआङको पतनको कारण भने उनको व्यक्तिगत जीवनसँग जोडिएको एउटा मानवीय कमजोरी बनेको छ – विवाहइतर सम्बन्ध।
सन् १९८४ मा ओरेगन स्टेट युनिभर्सिटीबाट इलेकट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हुआङको भेट त्यहीँ लोरी मिल्ससँग भएको थियो। पछि उनीहरूको विवाह भयो। उनीहरूका एक छोरा र एक छोरी छन्।
त्यसपछि हुआङले सिलिकन भ्यालीको केन्द्र मानिने स्ट्यानफोर्ड विश्वविद्यालयबाट सन् १९९२ मा इलेकट्रिकल इन्जिनियरिङमै स्नातकोत्तर गरेका थिए। त्यसको एक वर्षपछि सन् १९९३ मा उनले आफ्ना सहकर्मी इन्जिनियर क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग मिलेर एनभिडिया स्थापना गरेका थिए।
अहिले कम्पनी स्थापना गर्ने योजना उनीहरूले डेनिज रेस्टुरेन्टको एउटा बुथमा बसेर बनाएका थिए। एनभिडियामा हुआङको ३.६ प्रतिशत स्वामित्व छ। यही हिस्सेदारीले उनलाई ठूलो सम्पत्ति दिलाएको हो। ब्लुमबर्गका अनुसार उनको कुल सम्पत्ति १४५ अर्ब डलर छ। विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा उनी १३औं स्थानमा छन्।
सन् २०२५ अक्टोबर २९ मा एनभिडियाको बजार मूल्य ५ ट्रिलियन डलर पुगेको थियो। पाँच ट्रिलियन डलर बजार मूल्य हासिल गर्ने यो विश्वकै पहिलो कम्पनी बनेको थियो।
तर, हुआङमाथि चिनियाँ जासुस र एनभिडियाकै एक कार्यकारीसँग सम्बन्ध राखेको आरोपको खबरले अहिले सिलिकन भ्याली नै हल्लिएको छ। जसकारण उनले आफैंले खोलेको कम्पनीबाट राजीनामा दिएका छन्। एनभिडियाको कम्पनीको बजार मूल्य घटेर करिब ४ ट्रिलियन डलरमा झरेको छ।
किशोरावस्थामा रेस्टुरेन्टमा भाँडा माझ्ने कामबाट सुरु भएको हुआङको कथा ‘सुपरस्टार’मै टुंगिएको छैन। विश्वकै सबैभन्दा मूल्यवान् प्रविधि कम्पनीमध्ये एकको नेतृत्वसम्म पुग्दा उनको फेयरवेल यसरी हुने कल्पना सायदै भएको होला।