बाँके। कृषिमा स्नातक तह पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन्। बिक्रीबाट चार लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको कृषि विषयमा स्नातक पढ्दै गरेका नेपालगन्ज–१९ का वेदराज आचार्य, चेतन केसी र कोहलपुर–११ का असिम सिग्देलले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेका हुन्। उनीहरूले उत्पादन गरेको सबै फूल बिक्री भइसकेको छ।
नेपालगन्ज–१९ स्थित फुटाहा गाउँमा फिट फार्मअन्तर्गत १० कट्ठा जग्गामा लगाइएको फूल ११ क्विन्टल भएको र त्यसबाट चार लाख रुपैयाँभन्दा बढी आम्दानी भएको सिग्देलले बताए। सबै फूल सकिएपछि पनि माग अझै भएकाले पहिलेदेखि बुकिङ गरेकाहरूलाई मात्र उपलब्ध गराउन दाङबाट थप दुई क्विन्टल फूल झिकाएर बिक्री गरेको जानकारी उनले दिए।
फूलखेतीबाट तिहारको खर्च जुटेको बताउँदै व्यावसायी सिग्देलले यसपटकको अनुभवबाट आगामी वर्ष फूलखेती बढाएर दोब्बर गर्ने योजना पनि सुनाए। यसपटक आफूहरूलगायत अन्य युवाले विभिन्न ठाउँमा गरेको खेतीबाट आयातित फूललाई विस्थापित गर्न सफल भएको उनले बताए।
केसीले भाइटीकाअघि नै सबै फूल बिक्री भइसकेको बताउँदै स्थानीयले फूलका लागि थप माग गरेपछि अग्रिम बुकिङ गर्नेलाई निराश नपारेको उल्लेख गरे। उनले यसपटक बुटवल, दाङ, काठमाडौँ र सुर्खेतलगायत जिल्लाबाट समेत फूलको माग आएकाले त्यता पनि पठाइएको बताए।
अर्का व्यवसायी वेदराज आचार्यले थोरै मिहेनत र लगानीबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने फूलखेतीले प्रमाणित गरेको बताउनुभयो। ४०० रुपैयाँ किलो फूल बिक्री गरेको जनाउँदै उनले अझै पनि माग भइरहेको सुनाए।
बाँकेमा यस वर्ष करिब १३ बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको फ्लोरी कल्चर एसोसिएसन नेपाल बाँकेले जनाएको छ। जिल्लाको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा किसानले व्यावसायिक रूपमा फूलखेती गरेको एसोसिएसनकी केन्द्रीय सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु घर्तीमगरले बताइन। उनका अनुसार जिल्लामा यस वर्ष सयपत्री, कलकत्ते र आगा ३५५ जातका फूलको खेती गरिएको छ।
पहिलोपटक यस वर्ष चाडबाडमा बजारले आयातित फूलको भर पर्नु परेन। फूलखेती गरेका किसानले नेपालगन्जको त्रिभुवनचोक, धम्बोझीचोक र कोहलपुरका विभिन्न स्थानमा फुटकर बिक्री केन्द्र खोलेर फूल बिक्री गरेका थिए। रासस