इटालीको एउटा सानो गाउँबाट भारतको शक्तिशाली राजनीतिक परिवारको केन्द्रसम्म पुगेकी सोनिया गान्धीले आफ्नो जीवनका प्रेम, पारिवारिक सम्बन्ध, राजनीतिक जिम्मेवारी र व्यक्तिगत क्षतिका अनुभव सार्वजनिक गर्ने भएकी छन्। भारतको प्रमुख राजनीतिक दल भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्षसमेत रहेकी ७९ वर्षीया सोनियाको संस्मरणात्मक पुस्तक ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ मंगलबार सार्वजनिक हुँदैछ।
लामो समयदेखि आफ्नो निजी जीवनबारे कमै बोल्ने सोनियाले पुस्तकमार्फत आफ्नो जीवनको यात्रासँगै भारतको राजनीतिक इतिहासका महत्त्वपूर्ण घटनालाई पनि उजागर गरेकी छन्। उनले आफ्नो जीवनलाई ‘प्रेम, कर्तव्य, वियोग र अपनत्वको खोजी’ का रूपमा व्याख्या गरेकी छन्।
पुस्तक सार्वजनिक हुन लागेको समय भारतीय राजनीतिका दृष्टिले पनि अर्थपूर्ण छ। कुनै समय सोनियाकै नेतृत्वमा रहेको कांग्रेस अहिले नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को राजनीतिक वर्चस्व चुनौती दिने प्रयासमा छ। पछिल्लो समय युवाको नेतृत्वमा भइरहेका प्रदर्शनले कांग्रेसलाई पुनः राजनीतिक बहसको केन्द्रमा ल्याउन सहयोग गरेको छ। उनका छोरा राहुल गान्धी पनि ती आन्दोलनमा सक्रिय देखिएका छन्।
सन् १९४६ मा क्याथोलिक परिवारमा जन्मिएकी सोनियाको बाल्यकाल उत्तरी इटालीको टुरिननजिकै बितेको थियो। सन् १९६५ मा अंग्रेजी भाषा अध्ययनका क्रममा बेलायतको क्याम्ब्रिजमा उनको भेट राजीव गान्धीसँग भयो। एउटा ग्रीक रेस्टुरेन्टमा भएको पहिलो भेटलाई उनले आफ्नो प्रेमयात्राको सुरुआत भनेकी छन्।
राजीव भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूका नाति र तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा थिए। सन् १९६८ मा उनीहरूको विवाह भयो। त्यसपछि सोनिया गान्धी परिवारको सदस्य बन्दै भारतीय राजनीतिको भित्री परिवेशसँग परिचित भइन्।
सोनियाले पुस्तक सार्वजनिक हुनुअघि दिएको अन्तर्वार्तामा राजीवको परिवार र भारतप्रतिको आफ्नो आत्मीयता कसरी बढ्दै गयो भन्ने अनुभव पनि साझा गरेकी छन्। उनको जीवनमा प्रेमसँगै गहिरो पारिवारिक वियोग पनि जोडिएको छ।
सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको आफ्नै सुरक्षाकर्मीबाट हत्या हुँदा सोनिया उनको अन्तिम क्षणमा साथमै थिइन्। त्यसको सात वर्षपछि सन् १९९१ मा श्रीलंकाको गृहयुद्धमा भारतीय हस्तक्षेपको विरोधमा भएको आत्मघाती आक्रमणमा राजीव गान्धीको पनि हत्या भयो। त्यसपछि उनी केही समय सार्वजनिक जीवनबाट टाढा रहिन् र छोराछोरी राहुल तथा प्रियंकाको हेरचाहमा केन्द्रित भइन्।
तर कांग्रेस कमजोर हुँदै गएपछि पार्टी नेताहरूको आग्रहमा सन् १९९८ मा उनले नेतृत्व सम्हालिन्। हिन्दी भाषामा भाषण दिँदै जनसभामा पुग्ने सोनियाले आफूलाई भारतसँग जोड्दै आफ्नो मुटु यही देशको माटोमा गाडिएको बताएकी थिइन्।
सन् २००४ को आमनिर्वाचनमा कांग्रेसले अप्रत्याशित सफलता हासिल गरेपछि उनलाई प्रधानमन्त्री बन्ने अवसर थियो। तर उनले उक्त पद अस्वीकार गर्दै अर्थशास्त्री मनमोहन सिंहलाई प्रधानमन्त्री बनाउने निर्णय गरिन्। सिंहको नेतृत्वमा कांग्रेस गठबन्धन सरकारले एक दशक सत्ता चलाएको थियो।
सोनियाको नेतृत्वमा कांग्रेसले लामो समय सत्ता सम्हाले पनि भ्रष्टाचारका आरोप र जनअसन्तुष्टिका कारण सन् २०१४ मा भाजपाले ठूलो विजय हासिल गर्यो। त्यसपछि नरेन्द्र मोदीको नेतृत्वमा भाजपाको राजनीतिक प्रभाव विस्तार हुँदै गएको छ। राहुल गान्धीले कांग्रेसलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि पार्टीले अपेक्षित सफलता पाउन सकेको छैन।
पछिल्लो समय युवाको नेतृत्वमा भइरहेका प्रदर्शनले भने कांग्रेसलाई नयाँ राजनीतिक ऊर्जा दिएको छ। निर्वाचन प्रक्रियामा अनियमितता भएको भन्दै राहुलले निर्वाचन आयोगको आलोचना गरिरहेका छन्। आयोगले भने मतदाता सूचीमा हेरफेर गरी भाजपालाई फाइदा पुर्याएको आरोप अस्वीकार गर्दै आएको छ।
द हिन्दूसँगको अन्तर्वार्तामा सोनियाले मोदी सरकारको पछिल्लो १२ वर्षको शासनमा भारतको लोकतन्त्र, संस्थागत संरचना र सामाजिक एकतामा ठूलो क्षति पुगेको टिप्पणी गरेकी छन्। यद्यपि उनले भारतमा सुशासन पुनःस्थापित हुने विश्वास व्यक्त गरेकी छन्। उनको संस्मरणले व्यक्तिगत जीवनका घटनासँगै भारतीय राजनीतिका पछिल्ला ६ दशकलाई पनि नजिकबाट बुझ्ने अवसर दिने अपेक्षा गरिएको छ।