काठमाडौं। रुकुम पश्चिमको आठबिसकोट-५ नयाँडाँडामा डबलक्याब जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सोमबार मध्यान्ह थापागाउँबाट सोही वडाको नयाँडाँडातर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको हो। प्रहरीका अनुसार दुर्घटनामा जीपमा सवार आठबिसकोट-५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा १३ जना घाइते भएका छन्। गम्भीर घाइते हुनेमा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, आठ वर्षीय युवराज थापा र चार वर्षीया विरता थापा छन्। वीरबहादुर जीपका धनी हुन्।
त्यस्तै, घाइतेमा २५ वर्षीया हिरा थापा, दुई वर्षीय गौरव थापा, २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला ऐरी छन्।
घाइतेमध्ये सामान्य तथा मध्यम अवस्थाका ६ जनालाई उपचारार्थ आठबिसकोट नगर अस्पताल राडी पठाइएको थियो। अन्य घाइतेलाई पनि उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनापछि भागेका जीपका चालक आठबिसकोट-४ का २५ वर्षीय प्रदीप विकको खोजी भइरहेको प्रहरीले जनाएको छ।