अमेरिकी टेक जायन्ट एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि कम्पनीले आन्तरिक छानबिन सुरु गरेको छ।
चिनियाँ जासूस भनिएकी महिलासँग हुआङको सम्बन्धमा रहेको खुलासा भएपछि कम्पनीले स्वतन्त्र छानबिन सुरु गरेको जनाएको हो।
अमेरिकी अधिकारीहरुले बेइजिङका लागि जासुसी गरेको आशंका गरेका चिनियाँ व्यवसायी एलिस हुआङसँग सीईओ जेन्सेनको सम्बन्ध रहेको खबर सार्वजनिक भएको हो।
हालसम्म कम्पनीको गोप्य तथ्य वा अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै सम्झौता भएको प्रमाण भेटिएको छैन। यद्यपि, कम्पनीको संचालक समितिले वैदेशिक जासुसी प्रयासका सबै विवरणको सूक्ष्म अध्ययन गरिने जनाएको हो।
जेन्सेन हुआङले ’एक्सट्रा म्यारिटियल अफेर’ स्वीकार गरेका छन्। उनले आफ्ना कर्मचारी र परिवारसँग माफी मागेका छन्। तीन दशकभन्दा लामो वैवाहिक सम्बन्धमा आफू ’अविश्वासी’ बनेको उनले स्वीकार गरेको बीबीसीमा उल्लेख छ।
हुआङले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउने बताएका छन्। अनुसन्धानबीच कम्पनीको नेतृत्व भने उनैले गरिरहने बताइएको छ। उनले ४.५ ट्रिलियन डलर मूल्यको चिप निर्माता कम्पनीको नेतृत्व सम्हालिरहेका छन्।
ओपनएआई र मेटा जस्ता ठूला प्रविधि कम्पनीहरुलाई आधुनिक एआई हार्डवेयर उपलब्ध गराउने मुख्य कम्पनी भएकाले एनभिडिया अमेरिका र चीनबीचको प्राविधिक प्रतिस्पर्धाको केन्द्रमा छ। वासिङ्टनले सैन्य प्रयोगको जोखिम देखाउँदै चीनतर्फ एनभिडियाका उच्च प्रविधिका चिप्स निर्यातमा कडा प्रतिबन्ध लगाउँदै आएको छ।
चीनको परराष्ट्र मन्त्रालयले भने जासुसीको आरोपलाई ’निराधार’ भन्दै अस्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने हुआङको बचाउ गरेका छन्। ट्रम्पले उनलाई अमेरिकाका लागि ’उत्कृष्ट काम’ गरेका ’सम्मानित व्यक्ति’ भनेका छन्।