काठमाडौं। स्कटल्याण्डमा उत्पादन हुने स्कच ह्विस्कीको नाम र पहिचान अब नेपालमा पनि कानुनी रूपमा संरक्षित हुने भएको छ। भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन–जीआई) संरक्षणका लागि छुट्टै कानुनसमेत नबनेको अवस्थामा सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय सन्धि र प्रचलित कानुनका आधारमा यस्तो संरक्षणको नजिर स्थापित गरेको हो। सर्वोच्चको यो फैसला हालै सार्वजनिक पूर्णपाठसँगै सम्बद्ध क्षेत्रमा चर्चामा छ।
यसले विदेशी उत्पादनको भौगोलिक पहिचान संरक्षण गर्ने बाटो खोल्नुका साथै इलामको चिया, मुस्ताङको स्याउ र पाल्पाली ढाकाजस्ता नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहिचान संरक्षणको बहसलाई पनि नयाँ आधार दिएको छ। स्कच ह्विस्कीको नेपालमा पनि भौगोलिक संकेत (जियोग्राफिकल इन्डिकेसन- जीआई) संरक्षित हुने फैसला सर्वोच्चको गरेको छ।
रुपन्देहीको मोहिनी हाइजिन प्रोडक्ट्सको मुद्दामा सर्वोच्चले भौगोलिक संकेतसम्बन्धी छुट्टै कानुन नेपालमा नभए पनि बौद्धिक सम्पत्तिसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, पेरिस सम्झौता र नेपाल सन्धि ऐनको व्यवस्थामा टेकेर यो फैसला गरेको हो।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले मोहिनी हाइजिनको पुनरावेदन जिकिर नपुग्ने ठहर गर्दै उद्योग विभागको २०७४ मंसिर १० गतेको निर्णय सदर गर्ने उच्च अदालत पाटनको २०७५ असार १९ को फैसलालाई सदर गरेको छ। भौगोलिक संकेतको स्थानीयकरणमा सर्वोच्चको फैसलालाई ऐतिहासिक मानिएको छ।
सर्वोच्चको फैसलामा भनिएको छ, ‘सुरु उद्योग विभागले मिति २०७४।८।१० मा गरेको फैसला नै सदर हुने गरी उच्च अदालत पाटनले मिति २०७५।३।१९ मा मोहिनी हाइजिन प्रोडक्ट्सको भिजन (एण्ड लोगो) नामक ट्रेडमार्कको दर्ता आवेदनलाई पूर्ण रूपमा खारेज नगरी, उपभोक्तामा भ्रम सिर्जना हुन नदिनका लागि लोगोबाट स्कच शब्द हटाई मात्र ट्रेडमार्क दर्ता हुन सक्ने गरी गरेको निर्णय नेपाल पक्ष भएको ट्रिप्स सम्झौता, पेरिस महासन्धि र पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को मर्म र भावना अनुकूल नै देखिन्छ।’
फैसलाले नेपाली उत्पादनको विदेशमा भौगोलिक संकेत संरक्षण र दाबीलाई समेत थप बलियो बनाएको छ। सर्वोच्चले विश्व व्यापार संगठनको सदस्य राष्ट्र नेपालले जीआई संरक्षण गर्नुपर्ने दायित्व रहेको फैसलामा उल्लेख गरेको छ।
मोहिनी हाइजिनले स्कच ह्विस्कीको पहिचानसँग मिल्ने गरी ट्रेडमार्क दर्ताको प्रक्रिया अघि बढाएको भन्दै युकेस्थित द स्कच ह्विस्की एसोसिएसनले उद्योग विभागमा निवेदन दिएको थियो। विवाद सर्वोच्च अदालतमा पुगेर २०८२ भदौ ४ गते टुंगिएकामा फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो।
स्कटल्याण्डबाहेक अन्य स्थानमा उत्पादित मदिरामा स्कच शब्द प्रयोग गर्दा आफ्नो उत्पादनको भौगोलिक पहिचान, प्रतिष्ठा र ख्यातिमा असर पर्ने र उपभोक्तामा भ्रम सिर्जना हुने भन्दै एसोसिएसनले ट्रेडमार्क दर्ता रोक्न माग गरेको थियो।
सर्वोच्चको फैसलाले विदेशी भौगोलिक संकेतको दुरुपयोग गरी स्थानीय उत्पादनमा भ्रमपूर्ण प्रयोग गर्न नपाइने नजिर कायम गरेको छ। यस्तै भौगोलिक संकेत कायम गराउन विदेशी नियामक संस्था वा एसोसिएसनलाई नेपालमा कानुनी उपचार खोज्ने हकदैया रहने नजिर पनि फैसलाले स्थापित गरेको छ।
अदालतको फैसला अनुसार अब मोहिनी हाइजिनले आफ्नो मदिराको लोगोबाट स्कच शब्द हटाएपछि मात्र ट्रेडमार्क दर्ता गर्न पाउने छ।
मुख्य विवाद र दुवै पक्षको दाबी
रुपन्देहीको देवदहस्थित मोहिनी हाइजिनले उद्योग विभागमा अन्तर्राष्ट्रिय वर्गमा पर्ने गरी मदिराजन्य पेय पदार्थ अन्तर्गत भिजन (एण्ड लोगो) नामको ट्रेडमार्क दर्ताको आवेदन दिएपछि विवाद सुरु भएको थियो। मोहिनीको ट्रेडमार्कको लोगोभित्र फिनेस्ट रेअर स्कच ह्विस्की भन्ने वाक्यांश समावेश थियो।
त्यो वाक्यांशमा एसोसिएसनले आपत्ति प्रकट गरेको थियो।
स्कटल्याण्ड बाहेक अन्य स्थानमा उत्पादित मदिरामा स्कच शब्द प्रयोग गर्दा आफ्नो उत्पादनको भौगोलिक पहिचान, प्रतिष्ठा र ख्यातिमा असर पुग्ने दाबी गर्दै दर्ता रोक्न एसोसिएसनले विभागमा उजुरी दिएको थियो। ट्रेडमार्क दर्ता भए उपभोक्ता भ्रमित हुने जिकिर एसोसिएसनको थियो।
एसोसिएसनले आफ्नो उत्पादन स्कटल्याण्डको विशिष्ट वातावरण, परम्परा र गुणस्तरसँग जोडिएकाले भौगोलिक संकेत मान्य हुनुपर्ने जिकिर गरेको थियो।
नेपाल बौद्धिक संरक्षण सम्बन्धी महासन्धि, पेरिस महासन्धि र विश्व व्यापार संगठनको ट्रिप्स सम्झौताबाट बाँधिएकाले स्कचको भौगोलिक संकेत दुरुपयोग रोक्नु कानुनी दायित्व हुने जिकिर एसोसिएसनको थियो।
यस्तै नेपालको आन्तरिक कानुनका रूपमा रहेको पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८(१) को प्रतिबन्धात्मक वाक्यांश अनुसार अरू कसैको ख्यातिमा धक्का पुग्ने वा सर्वसाधारणलाई भ्रम पर्ने ट्रेडमार्क दर्ता गर्न नमिल्ने व्यवस्था कार्यान्वयनको माग पनि एसोसिएसनको थियो।
मोहिनी हाइजिनले भने स्कच मदिराको प्रकार तथा शैली बुझाउने साधारण शब्द मात्र भएकाले आफ्नो उत्पादनको नाम समेत भिजन रहेकाले ट्रेडमार्क दर्ता हुनुपर्ने जिकिर गरेको थियो। मोहिनीले उजुरीकर्ता संस्थाको कानुनी हकदैयामा पनि प्रश्न उठाएको थियो। नेपालमा दर्ता नभएको र नेपालमा कुनै ट्रेडमार्क हक प्राप्त नगरेको विदेशी संस्थाले नेपालको अदालत तथा निकायमा उजुरी दिने कानुनी हकदैया नहुने जिकिर कम्पनीको थियो।
नेपालमा भौगोलिक संकेत (जीआई) संरक्षण कानुन अभाव रहेकाले प्रचलित ट्रेडमार्क ऐनको अस्वाभाविक व्याख्या गरी स्वदेशी उद्योगको व्यापारिक अधिकार संकुचित बनाउन नपाइने जिकिर पनि मोहिनी हाइजिनले गरेको थियो।
नेपाली उत्पादनको चर्चा
विदेशी मदिराको ट्रेडमार्क विवाद मुद्दामा सर्वोच्चले नेपाली उत्पादनको पनि चर्चा गरेको छ। नेपालले विदेशी भौगोलिक संकेतलाई मान्यता नदिए नेपालको इलामको चिया, मुस्ताङको स्याउ, पाल्पाली ढाकालगायत भौगोलिक र मौलिक विशिष्टता झल्काउने वस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा पहिचानको संरक्षण पाउने अपेक्षा राख्न नसकिने फैसलामा उल्लेख छ।
फैसलामा भनिएको छ, ‘नेपालले विदेशी भौगोलिक संकेतलाई मान्यता र संरक्षण नदिने हो भने आफ्नै देशमा उत्पादित इलामको चिया, मुस्ताङको स्याउ, पाल्पाली ढाकालगायत भौगोलिक र मौलिक विशिष्टता झल्काउने वस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा उस्तै किसिमको संरक्षण पाउने अपेक्षा राख सक्ने अवस्था रहँदैन। यसरी विदेशी जीआईको संरक्षणलाई अस्वीकार गर्ने प्रवृत्तिले नेपाली उत्पादनकै दीर्घकालीन हितमा प्रतिकूल असर पार्ने देखिन्छ।’
विशिष्ट भौगोलिक क्षेत्रसँग सम्बद्ध नाम दुरुपयोग गरी सोही गुण, विशेषता वा उत्पत्तिस्थल नभएको वस्तुलाई नक्कली रूपमा बजारमा प्रस्तुत गर्नु उपभोक्तामाथि अन्याय हुने अदालतको ठहर छ। अदालतले वस्तुको वास्तविक स्रोत, गुणस्तर र उत्पत्तिबारे उपभोक्तामा भ्रम पर्न नदिनु राज्यको दायित्व भएको पनि फैसलामा उल्लेख गरेको छ।