BIZMANDU
www.bizmandu.com

मर्दीको प्राकृतिक सौन्दर्यले तान्यो पर्यटक, बढ्दो चापले बास व्यवस्थापनमा थपियो चुनौती

२०८३ कात्तिक २२

मर्दीको प्राकृतिक सौन्दर्यले तान्यो पर्यटक, बढ्दो चापले बास व्यवस्थापनमा थपियो चुनौती
मर्दीको प्राकृतिक सौन्दर्यले तान्यो पर्यटक, बढ्दो चापले बास व्यवस्थापनमा थपियो चुनौती


कास्की। छोटो समयमै हिमालको फेदीसम्म पुग्न सकिने, गुराँसे वन र शान्त वातावरणमा पदयात्रा गर्न पाइने तथा एउटै पदमार्गबाट १३ वटा हिमचुचुराको दृश्यावलोकन गर्न सकिने विशेषताले कास्कीको मर्दी हिमाल पदमार्ग पर्यटकको रोजाइमा पर्दै गएको छ। पोखराबाट नजिकै रहेको यो गन्तव्यमा पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको चाप उल्लेख्य बढेको छ।

GBIME
Tata

अन्य कतिपय पदयात्रा मार्गको तुलनामा कम जोखिमयुक्त मानिने मर्दीमा छोटो बिदामै हिमाली सौन्दर्यको अनुभव लिन सकिन्छ। दसैँ–तिहारको बिदा र अनुकूल मौसमका कारण अहिले यहाँ दैनिक ६०० देखि ७०० जनासम्म पर्यटक पदयात्रामा जाने गरेका छन्। पर्यटकको बढ्दो आगमनले स्थानीय पर्यटन व्यवसायमा चहलपहल बढाए पनि आवास व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको छ।

मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन उल्लेख्य बढेको छ। असोजदेखि नै पर्यटकको चाप बढेपछि होटलमा कोठा व्यवस्थापन गर्न कठिनाइ हुन थालेको उनले बताए। होटलको क्षमताभन्दा बढी पर्यटक पुग्दा कतिपयलाई टेन्ट र डाइनिङ हलमा समेत राख्नुपर्ने अवस्था आएको छ।

मर्दीको हाइक्याम्पमा अहिले १४ वटा होटल सञ्चालनमा छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले होटल तथा शय्या सङ्ख्या निश्चित गरेकाले पर्यटकीय याममा मागअनुसार आवास सुविधा थप्न सकिएको छैन। प्रत्येक होटलमा २५ भन्दा बढी शय्या राख्न नपाइने व्यवस्था छ।

‘मर्दीमा अघिल्लो वर्षभन्दा यस पटक धेरै टुरिस्ट आएका छन्। फरेष्ट क्याम्पमाथिका सबै होटल भरिभराउ हुँदा थप टुरिस्ट राख्न सक्ने अवस्था छैन। पर्यटकले असुविधा भोग्नुपर्दा मर्दीका बारेमा नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता छ,’ तामाङले भने। पर्यटकको आकर्षणलाई कायम राख्न उनीहरूलाई सहज सेवा उपलब्ध गराउनेतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उनको भनाइ छ।

माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्ग पोखराबाट नजिकै रहेकाले छोटो समयमै हिमाली क्षेत्रको अनुभव लिन चाहनेका लागि उपयुक्त गन्तव्य बनेको छ। माछापुच्छ्रे गाउँपालिकाका घलेल, कालीमाटी र सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट तीनदेखि चार दिनमा पदयात्रा पूरा गर्न सकिन्छ। गुराँसे वन, अग्ला पहाड र खुला डाँडाकाँडा हुँदै अघि बढ्दा मर्दी हिमालसँगै माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम र गङ्गापूर्णलगायत हिमाल देख्न सकिन्छ।

समुद्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा रहेको मर्दी हिमाल आधार शिविर पदयात्राको मुख्य आकर्षण हो। फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प हुँदै आधार शिविर पुग्ने पर्यटकले यात्राभरि हिमाली दृश्यको आनन्द लिन पाउँछन्। विशेषगरी सूर्योदयका बेला हिमालमा देखिने सुनौलो दृश्य पदयात्रीका लागि अविस्मरणीय बन्ने गरेको छ।

आन्तरिक पर्यटक नारायण कँडेलका अनुसार छोटो समयमै हिमालको नजिक पुगेर प्राकृतिक सौन्दर्यको आनन्द लिन पाउनु मर्दी पदमार्गको विशेषता हो। ‘यहाँको शान्त वातावरण र मनोरम दृश्यले पदयात्रालाई निकै रमाइलो बनाउँछ। छोटो समयमै हिमाली क्षेत्रको अनुभव लिन पाउनु यसको विशेषता हो,’ उनले भने। मर्दी भ्रमणमा रहेकी निकिता कार्कीले पनि यहाँको प्राकृतिक सुन्दरता र पदयात्राका क्रममा देखिने हिमाली दृश्यले थकान बिर्साउने बताइन्। इटलीबाट आएका पर्यटक इन्ट्राले समेत यहाँको शान्त वातावरण र हिमाली दृश्यलाई विशेष अनुभवका रूपमा लिएको बताए।

पर्यटकको बढ्दो आगमनले पदमार्ग आसपासका बस्तीमा आर्थिक गतिविधि विस्तार हुँदै गएको छ। होटल, रेस्टुरेन्ट, चियापसललगायत पर्यटन व्यवसायमा चहलपहल बढ्दा स्थानीयवासीले रोजगारी र आम्दानीका अवसर पाएका छन्। हाइक्याम्पस्थित होटल व्यवसायी कविता अर्याल गौतमका अनुसार पर्यटकको आगमन बढ्दा होटल व्यवसायसँगै स्थानीयको आम्दानी र रोजगारीका अवसरसमेत विस्तार भएका छन्।

पर्यटकको आकर्षणसँगै मर्दीमा पूर्वाधार, सरसफाइ र व्यवस्थापनको चुनौती पनि बढेको छ। पदमार्गको स्तरोन्नति, फोहोर व्यवस्थापन, पर्यटक सूचना प्रणाली र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने व्यवसायीको भनाइ छ। बढ्दो पर्यटकीय चापलाई व्यवस्थित गर्न नसके प्राकृतिक सौन्दर्य र सहज पदयात्राका कारण बनेको मर्दीको लोकप्रियतामै असर पर्न सक्ने उनीहरूको चिन्ता छ। रासस