BIZMANDU
www.bizmandu.com

भन्सारबाट छुटाइएका २ हजार गाडी हिउँले कोरलामै अड्किए, तातोपानी नाका खुलाउन पुगेन पहल

२०८३ कात्तिक २२

भन्सारबाट छुटाइएका २ हजार गाडी हिउँले कोरलामै अड्किए, तातोपानी नाका खुलाउन पुगेन पहल
भन्सारबाट छुटाइएका २ हजार गाडी हिउँले कोरलामै अड्किए, तातोपानी नाका खुलाउन पुगेन पहल


काठमाडौं। अटो व्यवसायीले दसैं र तिहारमा ग्राहकलाई डेलिभरी दिन चीनबाट ल्याएका २ हजारभन्दा धेरै गाडी कोरलामा हिउँ पर्दा अलपत्र परेका छन्।

GBIME
Tata

चिनियाँ मुद्रा आरएमबीको भाउ बढ्न थालेपछि व्यवसायीले हतारहतार गाडी भन्सार पास गरेकामा कोरलामा एक सातादेखि हिउँ परेका कारण ल्याउन पाएका छैनन्।

सबै व्यवसायीले एकैपटक भन्सार पास गर्दा ट्राफिक जाम हुनुका साथै तल ल्याउन चालक नपाएकामा त्यसपछि हिउँ परेका कारण गाडी माथि नै अड्किएका हुन्।

भदौ १० गतेको रसुवा बाढीपछि चीनबाट गाडी ल्याउन व्यवसायीलाई कोरला नाकाको विकल्प छैन। कोरला नाकाबाट हुने आयात पनि असोज ८-११ को वर्षाले कालीगण्डकी करिडोर बिग्रिंदा करिब दुई साता प्रभावित भएको थियो। व्यवसायीले दसैं सुरु भएपछि मात्र गाडी ल्याउन पाएका थिए।

दसैंअघि छुटाएका केही गाडी भने हिउँ परेका कारण माथि नै थिए। दसैंपछि छुटाएका २ हजारभन्दा धेरै गाडी अहिले कोरोलामा नै अड्किएको व्यवसायीहरुले बताएका छन्। भन्सार तिरिसकेका गाडी बाटोका कारण ल्याउन नपाउँदा व्यवसायीको लागत बढेको छ।

‘अहिले माथिबाट गाडी ल्याउन मिलेको छैन। हिउँका कारण बाटो बन्द छ। गाडी भन्सार पास भइसकेका कारण हामी व्यर्थमा ब्याज तिर्नुपर्ने बाध्यतामा छौं,’ अटो व्यवसायी गौरव शारडाले भने।

उच्च भेगमा पर्ने भएकाले कोरला नाकामा जाडो याममा हिउँ पर्छ। तिहारपछि झन् चिसो बढेर हिउँ पर्ने क्रम बढ्ने भएका कारण व्यवसायीहरु गाडी कसरी तल झार्ने भन्ने तनावमा छन्। शारडाले कोरलाबाट व्यापार गर्न सहज नदेखिएको बताउँछन्। ‘वर्षामा बाटो बिग्रिएर नाका बन्द। चिसोयाम सुरु हुनेबित्तिकै हिउँ परेर बाटो बन्द। यस्तो अवस्थामा हामीले कसरी व्यापार गर्ने?,’ उनले भने।

कोरला नाका जाने बाटो

भोटेकोशी बाढीले मुख्य नाका तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन। अर्को नाका तातोपानी चीनले भदौ १४ गते अकस्मात बन्द गरेकामा अझै खोलेको छैन।

सरकारले तातोपानी नाका खोल्न आग्रह गरे पनि चीनले बेवास्ता गरेको छ। नाका खोल्ने पहलस्वरुप पूर्वाधार विकास मन्त्रालयका अधिकारीले दसैंअघि चिनियाँ दूतावासका प्रतिनिधिसहित तातोपानी जाने सडकको अवस्था निरीक्षण गरेका थिए।

तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र सिंह चैसिरले चिनियाँ पक्षले आयात निर्यात दुवै रोकिरहेको बताए। ‘सरकारले धेरै आग्रह गरेपछि उनीहरुले कात्तिक १, २ र ३ गते नाका खोलेर ५८ वटा गाडी आउन दिए। १३/१४ गतेतिर अनुदानका स्काभेटर र एम्बुलेन्स आए। त्यसपछि नाका बन्द नै छ,’ उनले भने, ‘उनीहरुले नाका खोल्नका लागि बेइजिङबाट नै निर्णय हुनुपर्छ भनिरहेका छन्।’

तातोपानी नाका खोल्नका लागि सरकारले दबाब दिनै नसकेको व्यवसायीहरुको बुझाइ छ। ‘चीन सरकारका प्रतिनिधिसँग गाडी उत्पादक कम्पनीले कुरा गर्दा नेपालले माथिल्लोस्तरमा लबिङ गर्न नसकेको कुरा छ,’ एक व्यवसायीले भने।

परराष्ट्र मन्त्रालयका अधिकारीहरुले भने तातोपानी नाका खोल्नका लागि निरन्तर पहल गरिरहेको बताएका छन्।

‘यसअघि विकल्प भएकाले चीनले तातोपानी खुलाउन मानेको थिएन,’ पराराष्ट्र स्रोतले भन्यो, ‘तर अब हामीलाई चीनसँग आयात निर्यात गर्न तातोपानीको विकल्प छैन। कोरोला नाका हिउँका कारण अब ३ महिनाजस्तो अनिश्चित नै हुन्छ। त्यसैले तातोपानी नाका खुलाउन हामीले निरन्तर पहल गरिरहेका छौं। तिहारपछि परिणाम देखिन सक्छ।’