काठमाडौं। प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले चाडपर्वलक्षित सुरक्षा योजना प्रभावकारीरूपमा कार्यान्वयन गरी कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिएका छन्।
उनले आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरूलाई
नेपाल पुलिस क्लबमा बोलाएर चाडपर्वको समयमा हुन सक्ने लुटपाट, चोरीलगायत आपराधिक क्रियाकलापतर्फ चनाखो रहन भनेका हुन्।
उनले आआफ्नो जिम्मेवारी रहेका क्षेत्रमा सुरक्षा व्यवस्थापनका निम्ति योजना अनुसार काम गर्न र सरोकारवाला सबै पक्षसँग समन्वय गर्न आग्रह गरे।
प्रहरी महानिरीक्षक केसीले पटका लगायत विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत हुन भनेका छन्।