BIZMANDU
www.bizmandu.com

यात्रुवाहक सवारीको विद्युतीकरणमा फोर्स मोटर्सको प्रवेश, अर्को वर्ष इलेक्ट्रिक ट्राभलर आउने

२०८३ कात्तिक २१

यात्रुवाहक सवारीको विद्युतीकरणमा फोर्स मोटर्सको प्रवेश, अर्को वर्ष इलेक्ट्रिक ट्राभलर आउने
यात्रुवाहक सवारीको विद्युतीकरणमा फोर्स मोटर्सको प्रवेश, अर्को वर्ष इलेक्ट्रिक ट्राभलर आउने


भारतीय सवारी उत्पादक कम्पनी फोर्स मोटर्सले आफ्नो लोकप्रिय कमर्सियल भ्यान प्लेटफर्म ट्राभलरमा आधारित विद्युतीय गाडी (इभी) आगामी वर्षको जनवरी–मार्च अवधिमा बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले यस्तो जानकारी दिएका हुन्।

GBIME
Tata

ट्राभलर प्लेटफर्ममा विद्युतीय संस्करण ल्याउने योजनाले यात्रुवाहक तथा व्यावसायिक सवारीको विद्युतीकरणमा फोर्स मोटर्सको उपस्थिति विस्तार गर्ने अपेक्षा गरिएको छ। कम्पनीले हालै ट्राभलरको नयाँ एन सिरिज बजारमा ल्याएको छ। अब यही प्लेटफर्मलाई विद्युतीय प्रविधिमा रूपान्तरण गरेर बजार विस्तार गर्ने तयारी गरेको हो।

फोर्स मोटर्सका प्रबन्ध निर्देशक प्रसन्न फिरोदियाले यसअघि नै कम्पनीले विद्युतीय सवारीको विकासमा लगानी बढाउने र ट्राभलरका विभिन्न संस्करणलाई क्रमशः विद्युतीकरण गर्ने योजना सार्वजनिक गरेका थिए। कम्पनीले ट्राभलरपछि अर्बानिया प्लेटफर्ममा पनि विद्युतीय संस्करण ल्याउने तयारी गरिरहेको छ।

कम्पनीले सन् २०२४ मै विद्युतीकरणका लागि २०० देखि ३०० करोड भारतीय रुपैयाँ लगानी गर्ने योजना सार्वजनिक गरेको थियो। त्यतिबेला फिरोदियाले ट्राभलर इलेक्ट्रिकलाई कम्पनीको पहिलो विद्युतीय उत्पादनका रूपमा अघि सार्ने बताएका थिए। कम्पनीले ट्राभलरका विभिन्न संस्करणलाई क्रमशः विद्युतीकरण गर्ने रणनीति लिएको छ।

फोर्स मोटर्सको ट्राभलर भारतको व्यावसायिक यात्रुवाहक सवारी बजारमा स्थापित ब्रान्ड हो। कम्पनीका अनुसार ट्राभलरले भारतको सम्बन्धित व्यावसायिक सवारी खण्डमा ६५ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ। विद्यालय बस, एम्बुलेन्स, पर्यटक तथा सार्वजनिक यात्रुवाहक सवारीका रूपमा यसको प्रयोग हुँदै आएको छ।

कम्पनीले सन् २०२६ को अक्टोबरमा सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा आम्दानी २३ प्रतिशतले बढेर ५ हजार ४४५ करोड भारतीय रुपैयाँ पुगेको छ। उत्पादन क्षमता विस्तार र विद्युतीय सवारी विकाससहितका कामका लागि कम्पनीले आगामी तीन वर्षमा ३ हजार करोड रुपैयाँ लगानी गर्ने योजना पनि बनाएको छ। उत्पादन क्षमता वार्षिक ८० हजार युनिट पुर्‍याउने कम्पनीको लक्ष्य रहेको हिन्दुस्तान टाइम्सले समाचारमा उल्लेख गरेको छ।

यद्यपि आगामी इलेक्ट्रिक ट्राभलरको ब्याट्री क्षमता, एकपटक चार्ज गर्दा गुड्ने दूरी र मूल्यबारे कम्पनीले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।