BIZMANDU
www.bizmandu.com

एआई प्रतिस्पर्धामा आफ्नै क्षमता र रणनीतिले अघि बढ्न नेपाललाई राष्ट्रसंघीय विज्ञको सुझाव

२०८३ कात्तिक २१

एआई प्रतिस्पर्धामा आफ्नै क्षमता र रणनीतिले अघि बढ्न नेपाललाई राष्ट्रसंघीय विज्ञको सुझाव
एआई प्रतिस्पर्धामा आफ्नै क्षमता र रणनीतिले अघि बढ्न नेपाललाई राष्ट्रसंघीय विज्ञको सुझाव


काठमाडौं। संयुक्त राष्ट्रसंघका डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्टले एआई प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा नेपालले आफ्नो स्थान बनाउन प्रविधिमा परनिर्भरता घटाउँदै स्वदेशी क्षमता विकास र डिजिटल सार्वभौमिकतामा जोड दिनुपर्ने बताएका छन्।

GBIME
Tata

ललितपुरको होटल हिमालयमा शनिबार आयोजित ‘नेसनल एआई समिट २०२६’ मा प्रमुख वक्ताका रूपमा बोल्दै हार्टले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकका लागि उपलब्ध अवसर, रणनीतिक सम्भावना र चुनौतीबारे धारणा राखे।

विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालले स्पष्ट रणनीतिक बाटो तय गर्नुका साथै डिजिटल सार्वभौमिकता र प्रविधिमा बढ्दो निर्भरता घटाउँदै जानुपर्ने उनको भनाइ थियो। नेपालले एआई क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्न स्थानीय प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहन, अन्तर्राष्ट्रिय सहकार्य तथा आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे।

एआई विकासका लागि आवश्यक कम्प्युटिङ क्षमता, डेटा सेन्टर, ऊर्जा, क्लाउड सेवा र डिजिटल पूर्वाधारमा लगानी बढाउन सुझाए। विश्वमा एआई प्रविधिको विकासले तीव्रता पाइरहेको अवस्थामा नेपालले पनि यसलाई केवल प्रविधि प्रयोग गर्ने माध्यमका रूपमा मात्र नभई आर्थिक तथा सामाजिक रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने विषयमा ध्यान दिन हार्टले आग्रह गरे।

एआईको विश्वव्यापी प्रतिस्पर्धामा ठूला अर्थतन्त्र र प्रविधिमा अग्रणी मुलुकको मात्र वर्चस्व रहने अवस्था नरहेको भन्दै उनले नेपालजस्ता देशले पनि आफ्नै आवश्यकता, क्षमता र प्राथमिकताअनुसार एआईको विकास तथा प्रयोगमा भूमिका विस्तार गर्न सक्ने सम्भावना रहेको औंल्याए।

नेपालको जलविद्युत् क्षमतालाई उच्च क्षमताका कम्प्युटिङ प्रणाली र डेटा सेन्टर विकाससँग जोड्न सकिने सम्भावनाबारे उनले चर्चा गरे। त्यसैगरी नेपाली भाषा र विविधतालाई समेट्ने एआई प्रविधिको विकास, दक्ष जनशक्ति उत्पादन, अनुसन्धान, उद्यमशीलता र स्वदेशी नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।

एआईको विस्तारसँगै डेटा सुरक्षा, नागरिकको गोपनीयता, साइबर सुरक्षा र डिजिटल विश्वास कायम राख्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। प्रविधिको प्रयोगबाट सिर्जना हुने अवसरसँगै सम्भावित जोखिम व्यवस्थापन गर्न नेपालले उपयुक्त नीतिगत तथा संस्थागत क्षमता विकास गर्नुपर्ने देखिएको हार्टले उल्लेख गरे।

एस्टन–हार्ट दुई दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय प्रविधि नीति, डिजिटल गभर्नेन्स, एआई र साइबर सुरक्षा क्षेत्रमा सक्रिय छन्। जारी सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरका एआई तथा प्रविधि विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र सञ्चारकर्मी सहभागी छन्।