BIZMANDU
www.bizmandu.com

इभीको ब्याट्री : विश्वको ८०% उत्पादन क्षमता एउटै देशमा, लिथियम महँगिन थालेपछि नयाँ चुनौती

२०८३ कात्तिक २१

इभीको ब्याट्री : विश्वको ८०% उत्पादन क्षमता एउटै देशमा, लिथियम महँगिन थालेपछि नयाँ चुनौती
इभीको ब्याट्री : विश्वको ८०% उत्पादन क्षमता एउटै देशमा, लिथियम महँगिन थालेपछि नयाँ चुनौती


काठमाडौं। विद्युतीय गाडीको विस्तारले विश्वको ऊर्जा बजारमा नयाँ प्रतिस्पर्धा जन्माएको छ। कुनै समय महँगो र सीमित प्रविधि मानिने ब्याट्री अहिले विश्व अर्थतन्त्रको रणनीतिक वस्तु बन्दै गएको छ।

GBIME
Tata

विद्युतीय गाडी (इभी) को प्रयोग बढ्दै जाँदा यसको ब्याट्रीको माग पनि संसारभर तीव्र रुपमा बढिरहेको छ। सन् २०२५ मा मात्रै विश्वभर इभिमा प्रयोग हुने १.२ टेरावाट आवर (टीएचडब्लू) बराबरको ब्याट्री खपत भएको छ। यो सन् २०२४ को तुलनामा झन्डै ३० प्रतिशत बढी हो।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर प्रयोग भएको कुल ब्याट्रीमध्ये ७० प्रतिशतभन्दा बढी इभीमा प्रयोग भएको छ। सन् २०२४ मा यस्तो हिस्सा झन्डै ८० प्रतिशत थियो।

इभीको ब्याट्री मागमा चीन सबैभन्दा अगाडि छ। सन् २०२५ मा विश्वभर इभीमा प्रयोग भएको ब्याट्रीमध्ये झन्डै ७५ प्रतिशत चिनियाँ उत्पादकले आपूर्ति गरेका छन्। चीनमा मात्रै विश्वको कुल इभी ब्याट्री मागको ६० प्रतिशत खपत भएको छ।

युरोपेली युनियनको हिस्सा झन्डै १५ प्रतिशत र अमेरिकाको १० प्रतिशत छ। चीनबाहेकका विकासशील तथा उदीयमान अर्थतन्त्रमा पनि इभी ब्याट्रीको माग बढिरहेको छ। यी देशको हिस्सा सन् २०२५ मा ६ प्रतिशत पुगेको छ।

एलएफपी ब्याट्रीको प्रयोग बढ्दै

पछिल्लो समय इभीमा प्रयोग हुने लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीको प्रयोग तीव्र रुपमा बढेको छ। सन् २०२५ मा विश्वभर इभीमा जडान भएका ब्याट्रीमध्ये ५५ प्रतिशतभन्दा बढी एलएफपी थिए। अघिल्लो वर्ष यस्तो हिस्सा झन्डै ५० प्रतिशत थियो।

एलएफपी ब्याट्री तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले यसको प्रयोग बढिरहेको हो। सन् २०२५ मा एलएफपी ब्याट्रीको औसत मूल्य प्रतिकिलोवाट आवरमा निकेल, म्याङ्गानिज र कोबाल्ट प्रयोग हुने एनएमसी ब्याट्रीको तुलनामा ४० प्रतिशतभन्दा बढी सस्तो थियो।

चीनमा एलएफपी ब्याट्रीको उत्पादन र प्रयोग सबैभन्दा धेरै छ। चीनबाहेकका विकासशील देशमा पनि यसको प्रयोग बढिरहेको छ। ती देशमा बिक्री हुने विद्युतीय कारमध्ये दुई तिहाइमा एलएफपी ब्याट्री प्रयोग हुन थालेको छ।

युरोपमा भने सन् २०२५ मा इभी ब्याट्रीको मागमध्ये १० प्रतिशतभन्दा बढी एलएफपी ब्याट्रीले ओगटेको छ। अमेरिकामा भने चिनियाँ आयातमा लगाइएको उच्च कर र अन्य नीतिगत व्यवस्थाका कारण यसको प्रयोग घटेको छ।

ब्याट्रीको मूल्य घट्यो, तर लिथियमको मूल्य बढ्न थालेपछि चुनौती

सन् २०२५ मा विश्वभर ब्याट्रीको औसत मूल्य ८ प्रतिशतले घटेको छ। उत्पादन प्रक्रियामा भएको सुधार, नयाँ प्रविधिको विकास, उत्पादन लागतमा आएको कमी र बजारमा बढेको प्रतिस्पर्धाले ब्याट्री सस्तो बनाउन सहयोग गरेको हो।

तर पछिल्लो समय लिथियम र कोबाल्टको मूल्य फेरि बढ्न थालेको छ। सन् २०२६ को सुरुवातमा लिथियमको मूल्य अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ।

लिथियमको मूल्य बढ्नुमा इभीसँगै ऊर्जा भण्डारण प्रणालीमा ब्याट्रीको माग बढ्नु, चीनमा लिथियमको मौज्दात कम हुनु र केही खानीको उत्पादन अस्थायी रुपमा बन्द हुनु प्रमुख कारण छन्।

लिथियमको मूल्य निरन्तर बढिरहे ब्याट्री उत्पादन लागत पनि बढ्न सक्छ। यही कारण उत्पादक कम्पनीले लिथियममा निर्भरता कम गर्ने विकल्पका रुपमा सोडियम आयन ब्याट्रीको विकासमा पनि जोड दिन थालेका छन्।

चीनको ब्याट्री उत्पादनमा ८० प्रतिशतभन्दा बढी हिस्सा

विश्वभर लिथियम आयन ब्याट्री उत्पादन क्षमता सन् २०२५ को अन्त्यसम्म ४ टेरावाट आवरभन्दा बढी पुगेको छ। यो सन् २०२४ को तुलनामा करिब ३० प्रतिशत बढी हो।

तर ब्याट्री उत्पादनमा केही देशको मात्रै ठूलो नियन्त्रण छ। विश्वको कुल उत्पादन क्षमतामध्ये ८० प्रतिशतभन्दा बढी चीनमा केन्द्रित छ। युरोपेली युनियन र अमेरिकाको हिस्सा भने ६ देखि ७ प्रतिशतको हाराहारीमा छ।

चीन, दक्षिण कोरिया र जापानका कम्पनीले विश्वभरका अधिकांश ब्याट्री सेल उत्पादन गरिरहेका छन्। विशेषगरी चिनियाँ कम्पनीको बजार हिस्सा निरन्तर बढिरहेको छ।

युरोपमा सन् २०२५ मा चिनियाँ कम्पनीको हिस्सा ५० प्रतिशतभन्दा बढी पुगेको छ। अमेरिकामा भने चिनियाँ उत्पादकको हिस्सा ५ प्रतिशतभन्दा केही बढी मात्रै छ।

चीनको बलियो उत्पादन क्षमता र कम लागतका कारण युरोप र अमेरिकाका कम्पनीलाई प्रतिस्पर्धा गर्न चुनौती भइरहेको छ। चीनको तुलनामा युरोप र अमेरिकामा ब्याट्री उत्पादन लागत ५० प्रतिशतसम्म बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

सोडियम आयन र सोलिड स्टेट ब्याट्रीमा पनि काम हुँदै

लिथियमको मूल्य बढ्न थालेपछि ब्याट्री उत्पादक कम्पनीले सोडियम आयन ब्याट्रीलाई अर्को विकल्पका रुपमा अघि बढाउन थालेका छन्।

सोडियम आयन ब्याट्रीको मुख्य फाइदा चिसो मौसममा पनि राम्रोसँग काम गर्न सक्नु हो। पछिल्लो पुस्ताका यस्ता ब्याट्रीले माइनस ४० डिग्री सेल्सियस तापक्रममा पनि आफ्नो क्षमताको करिब ९० प्रतिशतसम्म काम गर्न सक्छन्।

तर लिथियम आयन ब्याट्रीको तुलनामा यसको ऊर्जा भण्डारण क्षमता कम छ। त्यसैले अहिले लामो दूरीका इभीका लागि यो त्यति प्रतिस्पर्धी छैन। साना विद्युतीय कार, दुईपांग्रे तथा तीनपांग्रे सवारी र ऊर्जा भण्डारण प्रणालीमा यसको प्रयोग बढी उपयुक्त हुने देखिएको छ।

यस्तै, सोलिड स्टेट ब्याट्रीको विकासमा पनि टोयोटा, बीवाइडी र सामसङजस्ता कम्पनी लागिरहेका छन्। यसले भविष्यमा इभिको रेन्ज बढाउने र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ। तर यसको उत्पादन अझै महँगो र जटिल भएकाले तत्कालै सबै प्रकारका इभीमा प्रयोग हुने अवस्था छैन।

२०३५ सम्म ब्याट्रीको माग ५ टेरावाट आवर पुग्ने अनुमान

विश्वभर इभीको प्रयोग बढ्दै जाँदा सन् २०३५ सम्म ब्याट्रीको माग अहिलेको तुलनामा निकै बढ्ने अनुमान गरिएको छ।

आईईएका अनुसार सन् २०३० सम्म इभी ब्याट्रीको माग झन्डै ३ टेरावाट आवर पुग्नेछ। सन् २०३५ सम्म यो बढेर करिब ५ टेरावाट आवर पुग्ने अनुमान छ।

यसमा विद्युतीय कारसँगै विद्युतीय ट्रकको योगदान पनि बढ्नेछ। सन् २०२५ मा कुल इभी ब्याट्री मागको ८ प्रतिशत हिस्सा विद्युतीय ट्रकको थियो। सन् २०३० र २०३५ सम्म यस्तो हिस्सा करिब १० प्रतिशत पुग्ने अनुमान छ।

पुराना ब्याट्री रिसाइकल गर्न अझै समय लाग्ने

इभीको प्रयोग बढे पनि पुराना ब्याट्री रिसाइकल गरेर पुनः प्रयोग गर्ने बजार भने तत्काल ठूलो हुने देखिँदैन।

सन् २०२० देखि २०२५ सम्म लिथियम आयन ब्याट्रीको प्रयोग ६ गुणाभन्दा बढी बढेको छ। तर अहिले प्रयोग भइरहेका अधिकांश ब्याट्री अझै गाडीमै छन्। यस्ता ब्याट्रीको आयु सकिएर रिसाइकल गर्न उपलब्ध हुन करिब १५ वर्ष लाग्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

अहिले चीनमा विश्वको ८५ प्रतिशतभन्दा बढी ब्याट्री रिसाइकल गर्ने क्षमता छ। तर पुराना ब्याट्री पर्याप्त मात्रामा उपलब्ध नहुँदा रिसाइकल उद्योगले पनि आवश्यक कच्चा पदार्थ जुटाउन समस्या भोगिरहेका छन्।

यसरी इभीको बजार विस्तारसँगै ब्याट्री उत्पादन, मूल्य, प्रविधि र रिसाइकलिङको बजारसमेत परिवर्तन भइरहेको छ। आगामी वर्षमा ब्याट्री उत्पादनमा चीनको प्रभाव कति रहन्छ र अन्य देशले त्यसको विकल्पमा कति लगानी गर्न सक्छन् भन्ने कुराले विश्वको इभी बजारलाई प्रभाव पार्ने देखिन्छ।