काठमाडौं। सुनचाँदीको मूल्य महँगिँदै जाँदा तिहारमा परम्परागत हस्तकलाका सामानको माग बढ्न थालेको छ। धनतेरसदेखि लक्ष्मीपूजासम्म सुनचाँदीसँगै तामाका दियो, पानस, घण्टी, करुवा, मूर्ति र चरेसका थालजस्ता नेपाली मौलिक हस्तकलाका सामग्रीले बजार पाउन थालेका छन्।
पहिले धनतेरसका दिन मात्रै यस्ता सामग्री खरिद गर्ने उपभोक्ता पछिल्लो समय घरको सजावट र उपहारका लागि समेत हस्तकलाका सामान रोज्न थालेका छन्। सुनचाँदीको मूल्य लगातार बढेपछि तुलनात्मक रूपमा सस्तो र परम्परागत पहिचान बोकेका हस्तकलाका सामग्रीप्रति उपभोक्ताको आकर्षण बढेको व्यवसायीको भनाइ छ।
नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यका अनुसार धनतेरसदेखि लक्ष्मीपूजासम्म हस्तकलाका सामग्रीको माग उल्लेख्य हुने गरेको छ। यस वर्ष उपभोक्ताले मौलिक नेपाली उत्पादन खोज्न थालेकाले व्यवसायीले पनि परम्परागत शिल्प र नेपालीपन झल्किने सामग्री उत्पादनमा जोड दिएका छन्।
‘बजारको मागअनुसार कला तथा परम्परागत शिल्पकलाका व्यवसायीले धनतेरस र तिहारलाई लक्षित गरेर नेपालीपन झल्किने सामग्री तयार गरेका छन्। पहिले नेपालीजस्तो देखिने पानस र चरेसका थालसमेत भारतबाट आयात हुन्थे। कमसल र उपभोक्ताको स्वास्थ्यमा असर गर्न सक्ने आयातित सामग्रीलाई विस्थापित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिएका छौँ,’ शाक्यले भने।

महासंघका अनुसार तिहारका बेला आन्तरिक तथा बाह्य बजारमा गरी २५ देखि ३० करोड रुपैयाँ बराबरको हस्तकलाका सामग्री बिक्री हुने अनुमान छ। काठमाडौं उपत्यकामा मात्रै करिब पाँच करोड रुपैयाँको कारोबार हुने अध्यक्ष शाक्यको आकलन छ।
तर, यस वर्ष हस्तकलाका सामग्रीको मूल्य भने गत वर्षको तुलनामा करिब २० प्रतिशत बढेको छ। कच्चा पदार्थको मूल्यवृद्धि र आयातमा लाग्ने कर तथा शुल्कका कारण उत्पादन लागत बढेको व्यवसायी बताउँछन्।
‘सरकारले कच्चा पदार्थ आयातमा १३ प्रतिशत भ्याट लगाउनुका साथै अन्य शुल्कसमेत थपिएका छन्। अन्तर्राष्ट्रिय बजारमा तामा, पित्तल र ढलोटको मूल्य पनि बढेकाले त्यसको असर नेपाली हस्तकलाका सामग्रीको मूल्यमा परेको हो,’ शाक्यले भने।
नेपालमा हस्तकलाका सामग्री उत्पादनका लागि भारत र मलेसियाबाट कच्चा पदार्थ आयात हुने गरेको छ। तामा, पित्तल र ढलोटबाट बन्ने सामग्रीको लागत बढ्दा बजार मूल्य पनि बढेको हो।
शाक्यका अनुसार तिहारमा सबैभन्दा बढी बिक्री हुने सामग्रीमध्ये दुईदेखि तीन सय रुपैयाँ मूल्यका तामा र पित्तलका भाँडाकुँडा पर्छन्। तामाको खड्कुलो, पानस, भगवानका मूर्ति अंकित पानस, विभिन्न देवदेवीका मूर्ति तथा चरेसका थाल उपभोक्ताको रोजाइमा छन्।
मध्यम वर्गीय उपभोक्ताले ५० हजार रुपैयाँसम्मका हस्तकलाका सामग्री खरिद गर्न सक्ने गरी बजारमा विभिन्न मूल्यका उत्पादन उपलब्ध छन्। यसबाहेक महँगा र कलात्मक सामग्रीसमेत बजारमा पाइने उनले बताए।

महासंघका अनुसार नेपालमा परम्परागत हस्तकलाका सामग्री उत्पादन गर्ने व्यवसायीको संख्या एक हजार तीन सयभन्दा बढी छ। तिहारजस्ता पर्वले यस्ता व्यवसायीलाई मौसमी बजार उपलब्ध गराउनुका साथै मौलिक कला र शिल्पको संरक्षणमा समेत योगदान पुर्याउँदै आएका छन्।