काठमाडौं। संयुक्त राष्ट्रसंघका एआई तथा साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टर्न-हार्ट नेपाल आइपुगेका छन्। उनी शनिबार काठमाडौंमा आयोजना हुने ‘नेसनल एआई समिट २०२६’मा सहभागी हुन बिहीबार नेपाल आइपुगेका हुन्।
संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्यसमेत रहेका एस्टर्न-हार्ट सम्मेलनका प्रमुख वक्ता हुन्।
सम्मेलनमा उनले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकले कसरी आफ्नो स्थान बनाउन सक्छन् भन्ने विषयमा विचार प्रस्तुत गर्नेछन्। नेपालको एआई विकासको सम्भावना, डिजिटल सार्वभौमिकता र प्रविधिमा आत्मनिर्भर बन्न आवश्यक रणनीतिबारे पनि उनले धारणा राख्नेछन्।
पछिल्लो समय विश्वभर एआईको विकास तीव्र गतिमा भइरहेको अवस्थामा नेपालले एआई प्रविधिको विकास र प्रयोगमा कसरी फड्को मार्न सक्छ भन्ने विषय सम्मेलनको मुख्य चासो रहनेछ। एआई क्षेत्रमा देखिएका अवसर र चुनौती पहिचान गर्दै नेपालको क्षमता विस्तारका उपायबारे पनि छलफल हुनेछ।
एस्टर्न-हार्ट डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय व्यापार, डिजिटल गभर्नेन्स र साइबर सुरक्षा नीतिका अनुभवी विज्ञ हुन्। उनले दुई दशकभन्दा लामो समयदेखि संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र, बहुराष्ट्रिय कम्पनी र विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै आएका छन्।
‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ अर्थात् ‘प्रतिबद्धतादेखि प्रगतिसम्म : नेपालको कृत्रिम बुद्धिमत्ता क्षमता विस्तार’ मूल नारासहित सम्मेलन आयोजना हुन लागेको हो।
एकदिने सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञ सहभागी हुनेछन्। नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिको पनि उपस्थिति रहने आयोजकले जनाएको छ।
सम्मेलनले नेपालमा एआई प्रविधिको विकास, विस्तार र प्रभावकारी प्रयोगका लागि नयाँ सम्भावनाको खोजी गर्ने अपेक्षा गरिएको छ। साथै, विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालको उपस्थिति बलियो बनाउन आवश्यक नीति, लगानी र जनशक्ति विकासका विषयमा समेत छलफल हुनेछ।