BIZMANDU
www.bizmandu.com

इनमले सुनेको आधारमा दिएको ‘बयान’मा टेकेर कांग्रेस सभापति थापालाई पक्राउ गर्न मिल्छ?

२०८३ कात्तिक १९

इनमले सुनेको आधारमा दिएको ‘बयान’मा टेकेर कांग्रेस सभापति थापालाई पक्राउ गर्न मिल्छ?
इनमले सुनेको आधारमा दिएको ‘बयान’मा टेकेर कांग्रेस सभापति थापालाई पक्राउ गर्न मिल्छ?


काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहका व्यक्तिहरू पक्राउ परे। पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण तथा टोपबहादुर रायमाझीसम्म पक्राउ प्रकरणमा शरणार्थी बनाएर लैजाने प्रमुख गिरोहले दिएको बयान र बैंकिङ कारोबारको आधार हेरिएको थियो। त्यो बेलामा आरोपीले संवैधानिक निकायका प्रमुखसम्मलाई पोलेका थिए।

GBIME
Tata

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईले बयानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम नै जोडेर रकम लिएको आरोप लगाएका थिए। तर, अनुसन्धान गर्दै जाँदा राईको संलग्नता पुष्टि भएको छैन। बयानकै आधारमा उनलाई पक्राउ गरिएन।

‘मनी ट्रेल भएन। त्यतिखेर अरू कारण हेर्दा देखिएन,’ तत्कालीन अनुसन्धानमा खटिएका एक उच्च प्रहरीले सुनाए।

अहिले सम्पत्ति शुद्धीकरणको हिरासतमा रहेका इनम सापकोटाको कनेक्सन उच्च तहका प्रहरी अधिकृत, राजनीतिज्ञदेखि न्याय क्षेत्रका मानिससँग देखिएको छ। इनमको बयान भन्दै बाहिरिएको अडियोमा धेरैलाई पोलेका छन्।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति गगन थापालाई समेत पार्टीको वैधानिकताको मुद्दा मिलाउन १८ करोड रुपैयाँ लिएको बयान इनमले दिएका छन्। तर, बाहिरिएको अडियोमा १८ करोड रुपैयाँ लिएर पार्टीको वैधानिकता गगनलाई दिएको पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कुराकानीमा सुनेको बताएका छन्।

पहिलो त्यो अडियोमै प्रश्न छ।

इनम पक्राउअघिनै प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले दुई दिन मोबाइल नियन्त्रणमा राखेको समाचार सेतोपाटीले सार्वजनिक गरेको थियो। त्यो आधारमा अडियोको बयानमै प्रश्न छ। त्यसमा पनि इनमले पूर्व प्रधानन्यायाधीश राणाले कुराकानी गर्दा सुनेको उल्लेख गरेका छन्। यो आधारमा गगनलाई पक्राउका लागि वा नियन्त्रणका लागि यो प्रमाणको कुनै अर्थ छैन। यही आधारमा गगनलाई पक्राउ गरेमा प्रश्न उठ्न सक्छ।

पार्टीको आधिकारिकताका लागि १८ करोड दिएको पुष्टि गर्नका लागि पहिला पूर्व प्रधानन्यायाधीश राणाको अनुसन्धान हुनुपर्छ। त्यो अनुसन्धानका आधारमा मनी ट्रेल भएको भेटिएमा पैसा आएका आधार खोज्नुपर्छ। त्यो आधारमा गगनको कनेक्सन देखिएमा मात्रै इनम प्रकरणमा बयान लगायतका अरू प्रक्रियामा बोलाउने बाटो खुल्छ। पक्राउ परेका व्यक्तिसँग बयान लिँदा सरकारी वकिल राख्नुपर्छ।

इनमसँग बयान लिँदा सरकारी वकिल थिए त?

प्रहरीले बयान भने सरकारी वकिल राखेर गर्ने गर्छ। अदालतमा अभियोगपत्र पुगेपछि आरोपीको बयान नै सबै प्रमाण बन्दैन। धेरैले अदालतमा र सरकारी वकिलमा पुगेपछि बयान फेर्ने समेत गरेका छन्। त्यसैले मुद्दाको अन्तिम किनारामा भने अदालतमा भएको बयानलाई धेरै मान्यता दिने गरिन्छ। अनुसन्धानका क्रममा हुने आरोपीको बयानले घटनालाई केही न्यारोडाउन भने गर्छ।

कसैले बोलेको आधारमा नै पक्राउ गर्न नमिल्ने पूर्व एआइजी टेकबहादुर राई बताउँछन्।

‘बयानलाई प्रमाणित गर्नुपर्ने हुन्छ। त्यसको लागि थप प्रमाण जुटाउने, कहाँ, कहिले, कसरी लगायत खोज्नुपर्छ। बयान अनुसन्धानको लागि प्रारम्भिक विन्दु मात्र हो,’ राईले भने।

आर्थिक अपराध भएकाले यस्ता घटनामा घटनास्थल कमै हुन्छ। इनमले डिल भएको स्थान खुलाएको खण्डमा देख्ने, सुन्ने कोही भए थप प्रमाणित गर्न सकिन्छ। त्यस्तै प्राविधिक रूपमा पनि पुष्टि गर्ने धेरै आधार हुन्छन्। जस्तै तोकिएको स्थानमा उपलब्ध सिसिटिभी, मोबाइल लोकेसनलगायत प्रहरीले बयानलाई थप बलियो बनाउन खोज्नुपर्छ।

यो घटनामा रकम लिने र दिने व्यक्ति सापकोटा होइनन्। जहाँ प्रधानन्यायाधीश जोडिएका छन्। इनमभन्दा प्रभावकारी बयान जबराको हुन्छ। जबराले बयानमा स्वीकारेमा थप अनुसन्धान हुन सक्छ। यस्तै आधिकारिकता विवादमा फैसला गर्ने न्यायाधीशसम्म पनि अनुसन्धान पुग्नुपर्छ। घटनाक्रम पुष्टि भएमा प्रहरी मनी ट्रेलसम्म पुग्न सक्छ।