काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ)का लागि कानुनी व्यवस्था गर्न लागेको छ।
सेबोनले पुँजी बजारमा कारोबारको गति, तरलता र मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरदिवसीय कारोबार सञ्चालनमा ल्याउन अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली ल्याउन लागेको हो।
सेबोनले नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको छ। मस्यौदामा अन्तरदिवसीय धितोपत्र कारोबार सञ्चालनका लागि स्टक एक्सचेञ्ज र धितोपत्र दलाल व्यवसायीले सेबोनबाट स्वीकृति लिनु पर्नेछ।
मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्र मात्र अन्तरदिवसीय कारोबारका लागि योग्य हुने मस्यौदामा उल्लेख छ।
धितोपत्र दलाल व्यवसायीले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन क्षमता तथा उपयुक्तता मूल्याङ्कन गरेर मात्र अन्तरदिवसीय कारोबारको सुविधा उपलब्ध गराउनु पर्नेछ।
धितोपत्र दलाल व्यवसायीले अन्तरदिवसीय कारोबार सञ्चालन गर्नुअघि ग्राहकको आदेश, मार्जिन, जोखिम सीमा तथा अन्य आवश्यक सर्तको परीक्षण गर्नुपर्ने व्यवस्था मस्यौदामा छ।
धितोपत्र दलाल र धितोपत्र दलाल व्यवसायीले अन्तरदिवसीय कारोबार सञ्चालनका लागि आवश्यक प्रणाली, सुरक्षा व्यवस्था तथा वास्तविक समय जोखिम नियन्त्रण प्रणाली कायम गर्नुपर्ने, लगानीकर्ताले अन्तरदिवसीय कारोबार अन्तर्गत धितोपत्र खरिद/बिक्री गरी कायम भएको खुला अवस्था सोही दिन धितोपत्र बिक्री/खरिद गरी खुला अबस्था बन्द गर्नुपर्नेछ।
तोकिएको समयभित्र खुला अवस्था बन्द नभएमा स्वतः बन्द हुने नियमावलीको मस्यौदामा छ।
अन्तरदिवसीय धितोपत्र कारोबार गर्ने प्रत्येक ग्राहकले तोकिए बमोजिमको आवश्यक मार्जिन कायम राख्नुपर्ने, कारोबारको उतारचढाव अनुसार भेरियसन मार्जिन तोक्न सकिने, प्रत्येक ग्राहक, धितोपत्र व्यवसायी, धितोपत्र तथा सम्पूर्ण बजारका लागि अधिकतम कारोबार सीमा निर्धारण गरिने मस्यौदामा उल्लेख छ।
प्रस्तावित नियमावली अनुसार प्रत्येक धितोपत्र दलाल व्यवसायीले जोखिम व्यवस्थापन प्रणाली, आन्तरिक नियन्त्रण प्रणाली तथा गुनासो व्यवस्थापन संयन्त्रको व्यवस्था गर्नुपर्ने छ।
सेबोनले मस्यौदामा सरोकारवालाको सुझाव मागेको छ।