BIZMANDU
www.bizmandu.com

कुमार बेनमाथि छानबिन गर्न कांग्रेस पदाधिकारीको माग, विपक्षी मोर्चा कस्न राजनीतिक संवाद बढाउने

२०८३ कात्तिक १९

कुमार बेनमाथि छानबिन गर्न कांग्रेस पदाधिकारीको माग, विपक्षी मोर्चा कस्न राजनीतिक संवाद बढाउने
कुमार बेनमाथि छानबिन गर्न कांग्रेस पदाधिकारीको माग, विपक्षी मोर्चा कस्न राजनीतिक संवाद बढाउने


काठमाडौं। कांग्रेसमा इनम सापकोटा प्रकरणमा प्रत्यक्ष जोडिएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार कुमार बेनमाथि छानबिन गर्नुपर्ने माग उठेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको अनौपचारिक बैठकमा नेताहरुले बेनको भूमिका शंकास्पद भन्दै छानविनको माग उठेको हो।

GBIME
Tata

अनुसन्धान गर्ने आधिकारिक निकाय हुँदाहुँदै कानुनभन्दा माथि गएर बेनले मोबाइल दुई दिन राख्नु नै शंकास्पद भएको एक पदाधिकारीले बताए। ‘इनम सापकोटाको मोबाइल लिएर दुई दिनसम्म मोबाइलबाट के के डिलेट गरे? के के थपे। यसको डिटेल बाहिर आउनुपर्छ। यसबारे प्रधानमन्त्रीका सल्लाहाकार वेनमाथि छानविन गर्नुपर्छ,’ पदाधिकारी बैठकमा अधिकांशको माग थियो।

बिचौलिया इनम सापकोटाको दुई वटा मोबाइल प्रहरीको फरेन्सिक जाँच अघि दुई दिनसम्म कुमार बेनले नियन्त्रणमा राखेको सुचना वाहिरिएको थियो। ‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन,’ बिहीबार फेसबुकमार्फत थापाले भनेका छन्।

गत पुसमा विशेष महाधिवेशन गरेको कांग्रेसले असोजमा १५ औं महाधिवेशन सम्पन्न गरेको थियो।

कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले सबै कन्टेन्ट हटाएर सभापति थापामाथि आरोपको विषय थपिएको दाबी गरे। ‘अडियो पनि बाहिर रेकर्ड गरिएको छ। इनम सापकोटाको बयान सफेद झुट हो। बिचौलियाको मोबाइल दुई दिनसम्म राखेर सबै डिलेट गर्ने र १८ करोड भन्ने चाहि थपिएको छ,’ सहमहामन्त्री शिवाकोटीले भने,’ यसबारे पूर्ण रुपमा छानबिन गर्नुपर्छ।’

कांग्रेस महामन्त्री प्रदीप पौडेलले सभापति थापालाई पक्राउको सरकारी तयारीबारे पनि छलफल भएको बताए। महामन्त्री पौडेलले कुनै प्रमाणबिना पक्राउ नगर्न चेतावनी दिए। ‘सरकारलाई हाम्रो चुनौति छ। कसरी पुष्टि गर्नुहुन्छ। कि त त्यो बयान हो भनेर भन्न सक्नुपर्छ। प्रहरीसँग भएको मोबाइल लाने हो? हाम्रो सभापतिमाथि अनुसन्धान गर्नुस्। तर अनुसन्धान विधि र कानुनमा टेकेर होस्,’ पौडेलले भने।

सरकारले लोकतन्त्रको हुर्मत लिन खोजेको भन्दै पदाधिकारीहरुले विपक्षी दलसँग संवाद बढाएर मोर्चा बनाउनसमेत आग्रह गरे। ‘सरकार गलत बाटोमा हिडिरहेको छ। सबैलाई तर्साउन खोजेको छ। पञ्चायतकालमा पनि नभएको घटना छ। राजनीतिक दललाई निषेध गरेर गैरराजनीतिक बनाउन खोजिरहेको छ,’ अर्का पदाधिकारीले भने, ‘लोकतन्त्रलाई निस्तेज खोजेको बेला प्रमुख प्रतिपक्षी दलको नेताको हिसाबले हामीले सबै राजनीतिक दलसँग संवाद गर्नुपर्छ भनेका छौं।‘

लोकतान्त्रिक शक्ति एक भएर लाग्न मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीसँग कांग्रेस सभापति थापाको भेट भएको कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बताए। ‘पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सभापति थापा ओली भेट्न पुग्नुभएको हो,’ शर्माले भने।