काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले प्रतिशोधपूर्ण कदम चालेर पार्टी सभापति गगन थापालाई पक्राउ गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसले ललितपुरको बज्रबाराहीमा बिहीबार गरेको कार्यक्रममा महामन्त्री राणाले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारविपरीत रहेको आरोप लगाए।
उनले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गर्दै सरकारले प्रतिशोधपूर्ण कदम चाले त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।
‘सभापति गगन थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं।’
आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीमाथि कानुनी प्रक्रिया मिचेर धरपकड गर्न खोजिएको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको उनको दाबी छ। ‘गैरकानुनी पक्राउ गर्न नमानेपछि आइजीपी हटाइयो,’ महामन्त्री राणाले भने।
सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिनु लोकतान्त्रिक व्यवस्था र विधिको शासनका लागि गम्भीर भएको उनको भनाइ छ।
राणाले न्यायालयमाथि समेत सरकारले आफ्ना निकट व्यक्ति प्रयोग गरेर प्रभाव पार्न खोजिरहेको आरोप लगाउँदै राज्यका प्रमुख अंगलाई नियन्त्रणमा लिने प्रयास लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताए। उनले प्रधानमन्त्री बालेन्द्र शाहमाथि तानाशाह बन्न खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि सबै सचेत नागरिक सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए।