BIZMANDU
www.bizmandu.com

जापान नेपालको विश्वासिलो विकास साझेदार : परराष्ट्रमन्त्री शिशिर खनाल

२०८३ कात्तिक १९

जापान नेपालको विश्वासिलो विकास साझेदार : परराष्ट्रमन्त्री शिशिर खनाल
जापान नेपालको विश्वासिलो विकास साझेदार : परराष्ट्रमन्त्री शिशिर खनाल


काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले जापान नेपालको विश्वासिलो विकास साझेदार भएको बताएका छन्।

GBIME
Tata

उनले बिहीबार साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसनले गरेको ‘साफजुआ सिम्पोजियम’को उद्‍घाटन समारोहमा जापान पछिल्लो सात दशकदेखि नेपालको विश्वासिलो विकास साझेदारका रुपमा रहेको भन्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् उत्थानशीलता र मानव संसाधन विकासका क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गरे।

उनले हाल जापानमा ३ लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र गत वर्ष जापानमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली दोस्रो धेरै रहेको उल्लेख गर्दै यसले दुई देशबीचको शैक्षिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्धलाई थप जीवन्त बनाएको बताए।

मन्त्री खनालले भोटेकोशी विपद्का बेला जापानले उपलब्ध गराएको तत्कालीन राहत सामग्री तथा फरेन्सिक विशेषज्ञता र डीएनए पहिचानमा गरेको सहयोगले दुई देशबीचको गहिरो मित्रता र ऐक्यबद्धता झल्काएको बताए।

नेपाल-जापान सम्बन्धमा योगदान पुर्‍याएका पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत मदनकुमार भट्टराईलाई यस वर्ष जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान प्रदान गरेकामा उनले खुसी व्यक्त गरे।

जापान सरकारको ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप’ (जेडीएस) कार्यक्रमले सार्वजनिक नीति, सुशासन र विकास प्रशासनमा नेपालको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुगेको मन्त्री खनालको भनाइ थियो।

उनले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल-जापान मित्रतालाई थप सुदृढ बनाएको बताए।