काठमाडौं। यस वर्षको तिहार दिदीबहिनीका लागि महँगो बनेको छ। तिहारमा दाजुभाइलाई दिने भाइमसला (ड्राइफ्रुट्स)को मूल्य अचाक्ली बढ्दा त्यसको भार दिदीबहिनीलाई परेको हो।
चीनसँगका दुई नाका बन्द भएका कारण कपडाको मूल्य पनि ३० प्रतिशत महँगो भएको छ। भाइमसलादेखि कपडाको मूल्य अकासिंदा उपभोक्ताले छोइनसक्नु भन्दै परिणाम घटाएर किन्न थालेका छन्।

किराना व्यवसायीका अनुसार भाइमसलाको भाउ पोहोरभन्दा अत्याधिक बढेको छ। सबैभन्दा बढी पेस्ताको भाउ बढेको पाइएको छ।
पोहोर तिहारमा थोक बजारमा प्रति किलो १८०० रुपैयाँ रहेको पेस्ताको भाउ अहिले ३६०० रुपैयाँ पुगेको छ। खुद्रा बजारमा एक किलो पेस्तालाई उपभोक्ताले ४ हजार रुपैयाँ तिर्नुपर्छ।

नरिवलको भाउ किलोमा १०० रुपैयाँ बढेको छ। ल्वाङ, मखना र दालचिनीको मूल्य भने घटेको छ।
तिहारमा काजु, बदाम, छोकडा, किसमिस, ओखर, मखना, मिश्री, ल्वाङ, दालचिनी, सुकुमेल, अंजिर र नरिवलको खपत धेरै हुने गर्छ। थोक बजारमै काजु प्रति किलो १७००, बदाम १७८०, छोकडा कालो ५०० र सेतो ६०० रुपैयाँ छ।

यस्तै सुकुमेल जम्बो प्रति किलो ६०००, ल्वाङ १७००, अंजिर १४५०, मखना १७००, नरिवल ७५०, ओखर ५००, किसमिस ७००, दालचिनी रोलवाला १००० र सामान्य खालको ७०० रुपैयाँ छ।

गत वर्ष तिहारमा थोक बजारमा काजु १७००, बदाम १६००, किसमिस ६००, छोकडा ५००, सुकुमेल जम्बो ६०००, दालचिनी सामान्य खालको ५५० र रोलवाला ११००, ओखर ५००, मिश्री १८०, ल्वाङ १८०० र मखना १५०० रुपैयाँ किलो थियो।

पेस्ताको मूल्य भने तीजपछि किलोमा ४०० रुपैयाँ बढेको सामाखुशीस्थित गोर्खाली स्टोरका सञ्चालक कृष्ण भट्टले जानकारी दिए।
भन्सार विभागका अनुसार पेस्ताको आयात गत वर्षको भन्दा कम छ। चालु आवको असोजसम्म ३० लाख रुपैयाँको १९५७ किलो पेस्ता आयात भएको छ। गत वर्ष सोही अवधिमा ४ करोड रुपैयाँको ३४ हजार केजी भन्दा बढी पेस्ता आएको थियो।

चालु आर्थिक वर्ष २ अर्ब ४७ करोड रुपैयाँको ५७ लाख ९६ हजार किलो ड्राइफ्रुट्स आयात भएको छ। गत वर्ष सोही अवधिमा २ अर्ब ५९ करोड रुपैयाँको २ करोड १४ लाख किलो भन्दा बढी ड्राइफ्रुट्स आयात भएको तथ्यांक छ।