काठमाडौं। स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतका १९ मध्ये ६ वटा ठेक्काको सम्झौता तोडिने भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुधबार विभागबाट सञ्चालित आयोजना तथा कार्यक्रमको समीक्षा बैठक राखेर प्रगतिको सम्भावना नरहेका ६ वटा रुग्ण ठेक्काको सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेका हुन्।
‘विभाग अन्तर्गतका १९ वटा रुग्ण ठेक्कामध्ये प्रगतिको सम्भावना नरहेका ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने निर्णय गरेका छौं,’ उनले भने।
उनका अनुसार मन्त्रालयको निरन्तर निगरानी र सहजीकरणपछि ६ वटा आयोजना सम्पन्न भएका छन् भने थप ५ वटा आयोजनाको निर्माण कार्य अघि बढेको छ।
मन्त्री लम्सालले स्थानीय पूर्वाधार निर्माण सम्बन्धी कार्ययोजना संशोधन गरी आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिएका छन्।