BIZMANDU
www.bizmandu.com

नेप्से र सीडीएससीसहित यी संस्थाले गर्नुपर्नेछ सिस्टम अडिट, साइबर सुरक्षा बढाउन २४ घण्टै निगरानी

२०८३ कात्तिक १८

नेप्से र सीडीएससीसहित यी संस्थाले गर्नुपर्नेछ सिस्टम अडिट, साइबर सुरक्षा बढाउन २४ घण्टै निगरानी
नेप्से र सीडीएससीसहित यी संस्थाले गर्नुपर्नेछ सिस्टम अडिट, साइबर सुरक्षा बढाउन २४ घण्टै निगरानी


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचना प्रविधिको प्रयोगमा न्यूनतम सूचना प्रविधि मानक (आइटी स्ट्न्डर्डस्) तोक्ने भएको छ।

GBIME
Tata

सेबोनले सूचना प्रविधि नीति, २०८३ मार्फत बजार, व्यवसायी, संस्था तथा कोषहरुले प्रयोग गरिरहेका सूचना प्रविधिको प्रयोगलाई स्तरीकृत गर्न हुनुपर्ने न्यूनतम सूचना प्रविधि मानक (आइटी स्ट्न्डर्डस्) तोकेर लागू गर्ने बताएको हो।

सूचना प्रविधि नीति मंगलबार संचालक समितिबाट पारित गरेर सेबोनले लागू गरेको छ। सेबोनले आफ्ना सम्पूर्ण सेवा तथा प्रक्रियाहरुलाई समयबद्ध र सूचना प्रविधिमा आधारित प्रणाली रुपान्तरण गर्ने बताएको छ।

सेबोनले सूचना प्रविधिमैत्री बजार बनाउन आवश्यक सहजीकरण गर्ने, बजार पूर्वाधार संस्थाहरू र बजार सहभागीलाई बोर्डले तोकेको सूचना प्रविधि सम्बन्धी न्यूनतम आधार मानक (बेसलाइन स्ट्न्डर्डस्) तय गरी परिपालना गराउने बताएको छ।

नीति अनुसार नेप्से र सीडीएससीको प्रणालीको संपरीक्षण (सिस्टम अडिट) गराउनुपर्ने व्यवस्था गरिने भएको छ। ती संस्थाले वार्षिक र अन्य बजार सहभागीहरूले द्विवार्षिक सूचना प्रविधि अडिट गराउनुपर्नेछ।

अडिटमा कम्तिमा कारोबार प्रणाली, राफसाफ साइबर सुरक्षा नियन्त्रण, बीपीसी/डीआरपी र डाटा व्यवस्थापन समावेश हुनुपर्नेछ।

अडिट प्रतिवेदन तीन महिनाभित्र बोर्डमा पेस गर्नुपर्नेछ। संवेदनशील निष्कर्षहरु पाइएमा ३० दिनभित्र सुधार गर्नुपर्नेछ। सिस्टम अडिटलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लेखापरीक्षक छनोटसम्बन्धी मापदण्ड सहितको प्रणाली लेखापरीक्षण ढाँचा बनाउने सेबोनले नीतिमा उल्लेख गरेको छ।

बजार पूर्वाधार संस्थाहरू(नेप्से, सीडीएससी)ले सुरक्षा संचालन केन्द्र (सेक्युरिटी अपरेसन सेन्टर) स्थापना गरी वा मान्यता प्राप्त प्रबन्धित सुरक्षा सेवा प्रदायकमार्फत चौबीसै घण्टे साइबर खतरा निगरानीको व्यवस्था गर्नुपर्नेछ।

बोर्ड, बजार पूर्वाधार संस्था र बजार सहभागीहरू(ब्रोकर, मर्चेन्ट बैंकर) ले डिजिटल पूर्वाधारलाई सुरक्षित, विश्वसनीय र जवाफदेही बनाउनका लागि सूचना प्रविधि बाह्यकरण (आइटी आउट सोर्सिङ) कार्यलाई स्पष्ट कानुनी र प्राविधिक दायराभित्र ल्याउने नीतिमा उल्लेख छ।

बाह्य सेवा प्रदायकसँग गरिने अनुबन्धनमा सेवा स्तर सम्झौता (सर्भिस लेभल एग्रिमेन्ट) तथ्यांक सुरक्षा, गोपनीयता तथा दायित्व, अडिट तथा निरीक्षण अधिकार र बहिर्गमन रणनीति लागू गरिने भएको छ।

सेबोनले पुँजी बजार एकीकृत साइबर घटना रिपोर्टिङ पोर्टल बनाएर साइबर घटना प्रतिक्रिया तथा रिपोर्टिङको व्यवस्था गर्ने भएको छ।

बजार सम्बन्धी गुनासो समाधान गर्न सूचना प्रविधिको प्रयोगमा जोड दिने, पुँजी बजारको पारिस्थितिक प्रणालीमा गुनासो दर्ता गर्न सकिने केन्द्रिकृत गुनासो व्यवस्थापन प्रणालीको व्यवस्था गरिनेछ।

इ-सेबोनको अवधारणा विकास गर्ने नीतिमा उल्लेख छ। नेप्से, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, सीडीएससीसहितको साझा डेटा सेन्टर स्थापना गरिने भएको छ।

बजार सम्बन्धी तथ्यांक, अभिलेखहरूको सुरक्षित अभिलेख तथा प्रयोगका लागि बजार सम्बन्धी केन्द्रीय तथ्यांक बैंकको स्थापना तथा व्यवस्थापन गर्ने नीतिमा उल्लेख छ।

धितोपत्र बजारको तथ्याङ नेपालभित्रै भण्डारण गर्नुपर्ने,र्‍यान्समवेयर वा साइबर आक्रमणबाट डेटा जोगाउन स्न्यापसट र एयर-ग्याप्ड ब्याकअप दुवै प्रणाली अनिवार्य गरिएको छ।

बोर्डमा पेश गरिने विवरण, प्रतिवेदन, लगानीकर्ता र ब्रोकरबीचको सम्झौता तथा केवाइसी प्रक्रियामा डिजिटल हस्ताक्षरको प्रयोग गरिने नीतिमा उल्लेख छ।

सेबोनले संस्थाको कार्य प्रकृति र जिम्मेवारी अनुसार बजार सम्बद्ध पक्षहरूलाई पहिलो तह (बोर्ड, नेप्से, सीडीएससी), दोस्रो तह (ब्रोकर, मर्चेन्ट बैंकर) र तेस्रो तह (क्रेडिट रेटिङ, सेयर रजिस्ट्रार) मा वर्गीकरण गरी भिन्न-भिन्न सूचना प्रविधि सम्बन्धी व्यवस्था गर्ने बताएको छ।

यस्तै, नीतिको कार्यान्वयनका लागि बोर्डका सूचना प्रविधि हेर्ने कार्यकारी निर्देशकको संयोजकत्वमा सूचना प्रविधि नीति कार्यान्वयन तथा अनुगमन समिति गठन गर्नेछ।