काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जनताका अपेक्षा पूरा गर्नका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
उनले बुधबार काठमाडौंको दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै नागरिकका आकांक्षा सम्बोधन सरकारको मुख्य जिम्मेवारी भएको बताए।
‘प्रशासनिक भवन केवल भौतिक संरचना मात्र होइन, यो जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधार स्तम्भ र नागरिकका आकांक्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो,’ उनले भने, ‘जनताले राखेका अपेक्षा पूरा गर्नतर्फ तीनै तहका सरकार गम्भीर हुने विश्वास छ।’
उनले जनप्रतिनिधि र कर्मचारीहरूलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे।

राष्ट्रपतिले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार भएको बताए।
‘सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो,’ उनले भने।
उनले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको भन्दै यसतर्फ ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरे। त्यसअघि राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दीरमा पूजा गरेका थिए।