काठमाडौं। भारतीय दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल एक्सपल्स ४५० सार्वजनिक गरेको छ।
कम्पनीले ४२१ सीसीको लिक्विड कुल्ड इन्जिनसहित सार्वजनिक गरेको यो मोटरसाइकलमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सुविधा समेत उपलब्ध गराएको छ।
एक्सपल्स सिरिजको फ्ल्यागसिप मोडलका रुपमा ल्याइएको एक्सपल्स ४५० मा जडान गरिएको ४२१ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले ९ हजार १०० आरपीएममा ४६.७ एचपी पावर र ७ हजार ५०० आरपीएममा ३८ एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पिड गियरबक्स र स्लिप एन्ड असिस्ट क्लच छ।
यसको पावर र टर्क एक्सपल्स २१० को तुलनामा निकै बढी छ। एक्सपल्स २१० ले २४.६ एचपी पावर र २०.७ एनएम टर्क उत्पादन गर्छ।
एक्सपल्स ४५० मा केवाईबीको ४३ एमएम कार्ट्रिज टाइप यूएसडी फ्रन्ट सस्पेन्सन छ। यसको फ्रन्ट सस्पेन्सनमा २२५ एमएम ट्राभल उपलब्ध छ। यो एक्सपल्स २१० को तुलनामा १५ एमएम बढी हो।
फ्रन्ट सस्पेन्सनमा कम्प्रेसन र रिबाउन्डका लागि २२ स्टेपसम्म एड्जस्ट गर्न मिल्ने सुविधा छ। यसले कठिन र असमान सडकमा समेत राइडिङ सहज बनाउने अपेक्षा गरिएको छ। पछाडिको सस्पेन्सनको विस्तृत विवरण भने कम्पनीले सार्वजनिक गरेको छैन।
मोटरसाइकलमा ट्युबलेस स्पोक ह्विल छ। अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायर प्रयोग गरिएको छ। यी विशेषताले मोटरसाइकल अफरोड राइडिङका लागि तयार पारिएको बुझिन्छ।
एक्सपल्स ४५० को अर्को आकर्षण यसको स्मार्ट कनेक्टिभिटी फिचर हो। यसमा करिब ७ इन्चको टीएफटी डिस्प्लेमार्फत बिल्ट-इन एन्ड्रोइड अटो र एप्पल कारप्ले सुविधा उपलब्ध गराइएको छ। यसले मोटरसाइकलको डिस्प्लेमै स्मार्टफोनका विभिन्न सुविधा प्रयोग गर्न सकिन्छ।
कम्पनीका अनुसार यो मोटरसाइकल हिरो मोटरस्पोर्ट्स टिमको प्रत्यक्ष प्राविधिक सुझाव र अनुभवका आधारमा विकास गरिएको हो। सन् २०२० देखि विकासको चरणमा रहेको यो मोटरसाइकल यसअघि ईआईसीएमए प्रदर्शनीमा प्रोटोटाइप तथा कन्सेप्टका रुपमा देखाइएको थियो।
हिरोले एक्सपल्स ४५० सुरुवातमा अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि ल्याउने जनाएको छ। यसको आधिकारिक मूल्य र बजारमा उपलब्ध हुने समय भने सार्वजनिक गरिएको छैन।