BIZMANDU
www.bizmandu.com

अर्थतन्त्र चलायमान छैन, तर तीन महिनामै डेढ खर्ब ऋण, पुरानो तिर्न प्रयोग भएको आशंका

२०८३ कात्तिक १८

अर्थतन्त्र चलायमान छैन, तर तीन महिनामै डेढ खर्ब ऋण, पुरानो तिर्न प्रयोग भएको आशंका
अर्थतन्त्र चलायमान छैन, तर तीन महिनामै डेढ खर्ब ऋण, पुरानो तिर्न प्रयोग भएको आशंका


काठमाडौं। साउनयता वाणिज्य बैंकहरुले एक खर्ब ४६ अर्ब रुपैयाँ नयाँ ऋण लगानी गरिसकेका छन्। त्यसमध्ये असोजमा मात्र ८५ अर्ब रुपैयाँ ऋण प्रवाह भएको हो। तीन महिनामा विस्तार भएको ऋणमध्ये ५८ प्रतिशत असोज महिनामा मात्र बढेको हो।

GBIME
Tata

दसैंतिहारका कारण आयातमा वृद्धि हुँदा केही ऋण बढेको हो। तर, चाडबाडका लागि गएको ऋण लामो अवधिको होइन। बैंकहरुले पछिल्लो समय दिएको ऋणको प्रकृति हेर्दा लामो अवधिको देखिन्छ।

नयाँ उद्योग धन्दा आएको छैन, पुरानो उद्योगधन्दाको क्षमता विस्तार पनि भएको छैन। तर पनि अस्वाभाविक रुपमा ऋण बढेको छ। बढेको नयाँ ऋण पुरानो ऋणको साँवा-ब्याज भुक्तानीका लागि प्रवाह भएको आशंका नियामक राष्ट्र बैंकको छ।

बैंकरका अनुसार, पछिल्लो समय ऋणको माग होटल, जलविद्युत, तेल रिफाइनरीमा धेरै छ। यसबाहेक घर र गाडी किन्न ऋणको माग आउन थालेको छ।

‘होटल र जलविद्युतमा ऋणको माग भएपनि त्यो अहिले नै जाने पैसा होइन। त्यसैले होटल र जलविद्युतका कारण ऋण प्रवाह बढाउँदैन’ ती अधिकारीले भने, ‘बर्खा सुरु भएको र ठूला चाडबाड आइरहेको हुनाले होटल र जलविद्युत क्षेत्रमा काम हुँदैनन्, त्यसैले त्यहाँ पैसा जाँदैन।’

तेल रिफाइनरी साना प्लान्ट भएकाले अर्बौ रुपैयाँ प्रवाह हुँदैन। घर-गाडी भनेको लाख र करोडको ऋण हो। ठूलो आकारमा जाँदैन। राष्ट्र बैंकका अधिकारीहरुका अनुसार, प्रवाह भएको नयाँ ऋण पुरानो ऋण नियमित गर्न प्रयोग भएको छ।

अहिले राष्ट्र बैंकले निर्माण व्यवसायी र जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायलाई मात्र राहत दिएको छ। त्यसबाहेक अन्य क्षेत्रलाई नियामकीय सुविधा छैन।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा लामो समय काम गरेर बाहिरिएका एक पूर्व कार्यकारी निर्देशकका अनुसार, अहिले नियामकले आँखा चिम्लिएको अवस्था छ। ऋण विस्तार गर्ने भनेर उसले  सबै नट-बल्टु खोलेर फ्याँकिदिएको छ।

‘नट बल्टु खोसेर कमजोर पारेको फाइदा बैंकहरुले उठाएका हुन्। उद्योगधन्दा नचल्ने, ऋण गइरहने अवस्था छ,’ उनले भने, ‘राष्ट्र बैंकको सुपरिवेक्षण कमजोर भएकाले अप्राकृतिक र अवास्तविक हिसाबले ऋण बढेको हो। ऋण उत्पादनमूलक क्षेत्रमा बढेको होइन।’

राष्ट्र बैंकले चालु पुँजी ऋणमा कडाइ गरेसँगै ऋण लगानीमा कमी हुँदै गएको थियो। पछि समष्टिगत माग नै घटेकाले ऋणको माग हुन छाड्यो। अहिले सबैजसो उद्योगहरुले आफ्नो चालु पुँजी ऋणको सीमा घटाइरहेका छन्।

सरकारकै कम्पनीहरु कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले १०औं अर्ब ऋण लिने गरेकोमा अहिले ऋण खाता शून्य बनाएर राखेका छन्। ठूला सूचना प्रविधि तथा टेलिकम कम्पनीहरुले पनि ऋण घटाएका छन्।

‘हरेक त्रैमासमा २/३ खर्ब रुपैयाँ बैंकहरुको पुरानो ऋण भुक्तानी हुन्छ। त्यो भुक्तानी भएको ऋणको खाल्डो पुरेर अर्को डेढ खर्ब ऋण विस्तार हुनु भनेको अहिलेको अवस्थामा शंकास्पद नै देखिन्छ,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंकले नै गरेको प्रादेशिक अध्ययनहरुले उद्योगधन्दाको क्षमता घटेको छ। यस्तो बेला ऋण जानु भनेको कतै दुरुपयोग भएको छ भनेर बुझ्नुपर्छ।‘

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये एक दर्जनले ऋण बढाएका छन्। बाँकीको ऋण घटेको छ। घटेका बैंकका ऋणहरु बढेका बैंकहरुले खोसेर लगेका हुन्। उनीहरुले आधारदरमै समेत ऋण दिएर ऋण लगेका छन्।

‘एउटा बैंकको ऋण अर्कोले खोसेर लैजानु भनेको समग्रमा त ऋण उत्ति नै हो,’ उनले भने, ‘तर यहाँ खोसेको ऋण बाहेक अर्को डेढ खर्ब ऋण बढेको छ।’ उनका अनुसार, अहिले सरकारी र प्रशासनिक डरको माहौल छ। यस्तोमा ऋणमा समस्या आयो भने ऋणी र बैंकरलाई नै थुन्न थालिएको छ।

‘ऋण नउठ्दा थुनिनु पर्ने त भयो नै, राष्ट्र बैंकले पनि थुप्रै भ्वाङहरु खोलिदिएकाले एभरग्रिनिङ गर्न सजिलो भएको छ,’ केही समयअघि एक वाणिज्य बैंकबाट अवकाश भएका प्रमुख कार्यकारीले भने, ‘अर्थतन्त्र चलायमान भएर ऋण गएको होइन, हिसाब मिलाउन ऋण गएको हो भनेर बुझ्न ठूलो अर्थशास्त्र बुझिरहनु पर्दैन।’