BIZMANDU
www.bizmandu.com

अमेरिकामा मध्यावधि निर्वाचन : अर्थतन्त्र र लोकतन्त्रको अवस्थाप्रति अधिकांश मतदाता नकारात्मक

२०८३ कात्तिक १८

अमेरिकामा मध्यावधि निर्वाचन : अर्थतन्त्र र लोकतन्त्रको अवस्थाप्रति अधिकांश मतदाता नकारात्मक
Photo: AFP


अमेरिकामा मध्यावधि निर्वाचन (मिडटर्म्स) जारी छ। मतदाताहरूले डोनाल्ड ट्रम्पको राष्ट्रपतीय कार्यकालको बाँकी अवधिमा ठूलो प्रभाव पार्न सक्ने यो निर्वाचनमा भाग लिएका छन्।

GBIME
Tata

अमेरिकी मतदाताले अर्थतन्त्र र लोकतन्त्रको अवस्थालाई निर्वाचनका सबैभन्दा महत्त्वपूर्ण मुद्दा मानेका छन्। ७९ हजारभन्दा बढी मतदाताको सर्वेक्षणमा ३९ प्रतिशतले अर्थतन्त्र र ३२ प्रतिशतले लोकतन्त्रको अवस्थालाई प्रमुख मुद्दा बताएका हुन्।

एसएसआरएस नामक सर्वेक्षण संस्थाले विभिन्न सञ्चारमाध्यमको समूहका लागि यो तथ्यांक संकलन गरेको हो। सर्वेक्षणमा मतदाताको उमेर, लिंग, शिक्षा र अन्य सामाजिक आधारमा पनि धारणा समेटिएको छ।

सर्वेक्षणमा १४ प्रतिशत मतदाताले आप्रवासनलाई सबैभन्दा महत्त्वपूर्ण मुद्दा मानेका छन्। स्वास्थ्य सेवा, विदेश नीति र अपराधलाई प्राथमिक मुद्दा मान्ने मतदाताको हिस्सा भने तुलनात्मक रूपमा कम छ।

अमेरिकी अर्थतन्त्रको अवस्थाप्रति अधिकांश मतदाता नकारात्मक देखिएका छन्। सर्वेक्षणमा सहभागी ७५ प्रतिशतले अर्थतन्त्रको अवस्था राम्रो नभएको वा खराब रहेको बताएका छन् भने २५ प्रतिशतले उत्कृष्ट वा राम्रो रहेको बताएका छन्।

आफ्नो परिवारको आर्थिक अवस्थाबारे सोध्दा ४४ प्रतिशतले दुई वर्षअघिको तुलनामा अवस्था बिग्रिएको बताएका छन्। ३८ प्रतिशतले अवस्था उस्तै रहेको र १८ प्रतिशतले सुधार भएको बताएका छन्।

सर्वेक्षणमा सहभागी ६५ प्रतिशत मतदाताले राष्ट्रपति ट्रम्पका नीतिले अमेरिकी अर्थतन्त्रको अवस्था बिगारेको बताएका छन्। २८ प्रतिशतले ती नीतिले अर्थतन्त्रमा सुधार ल्याएको र ८ प्रतिशतले ट्रम्पको कुनै प्रभाव नरहेको बताएका छन्।

मध्यावधि निर्वाचनमा ट्रम्पप्रतिको समर्थन वा विरोधले आफ्नो मतलाई प्रभाव पारेको विषयमा पनि मतदातासँग प्रश्न गरिएको थियो। ४३ प्रतिशतले ट्रम्पको विरोध आफ्नो मतदानको एउटा कारण रहेको बताएका छन् भने ४१ प्रतिशतले उनी आफ्नो मतदानको कारक नरहेको बताएका छन्।

त्यस्तै, १६ प्रतिशत मतदाताले ट्रम्पप्रतिको समर्थन आफ्नो मतदानको कारण रहेको बताएका छन्। यसले निर्वाचनमा ट्रम्पप्रतिको असन्तुष्टि पनि महत्त्वपूर्ण विषय बनेको देखाउँछ।

सर्वेक्षणमा सहभागी ३८ प्रतिशत मतदाताले अमेरिकाको वर्तमान अवस्थाप्रति आक्रोशित रहेको बताएका छन्। थप ३७ प्रतिशतले असन्तुष्टि जनाएका छन् भने १८ प्रतिशतले सन्तुष्ट र ७ प्रतिशतले उत्साहित रहेको बताएका छन्।

मूल्यवृद्धिले पछिल्लो एक वर्षमा आफ्नो परिवारलाई गम्भीर वा मध्यम स्तरको आर्थिक कठिनाइमा पारेको ७९ प्रतिशत मतदाताले बताएका छन्। बाँकी २१ प्रतिशतले भने मूल्यवृद्धिका कारण कुनै कठिनाइ नभएको बताएका छन्।

इन्धनको मूल्यप्रति ५९ प्रतिशत मतदाता निकै चिन्तित छन् भने खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यप्रति ५८ प्रतिशतले चिन्ता व्यक्त गरेका छन्। त्यस्तै, ६२ प्रतिशतले सामान्यभन्दा बढी मूल्यवृद्धिको कारण ट्रम्पका नीति रहेको बताएका छन् भने ३८ प्रतिशतले उनको नियन्त्रणबाहिरका कारण जिम्मेवार रहेको बताएका छन्।

सर्वेक्षणमा सहभागी ६२ प्रतिशत अमेरिकी मतदाताले इरानमाथि सैन्य कारबाही गर्ने अमेरिकी निर्णय गलत भएको बताएका छन्। बाँकी ३८ प्रतिशतले उक्त निर्णय सही रहेको धारणा व्यक्त गरेका छन्।

इरानसँगको द्वन्द्वले संसद्का लागि गरिएको मतदानमा महत्त्वपूर्ण प्रभाव पारेको ७४ प्रतिशत मतदाताले बताएका छन्। बाँकी २६ प्रतिशतले भने उक्त द्वन्द्व आफ्नो मतदानका लागि सामान्य वा कुनै प्रभाव नपार्ने विषय रहेको बताएका छन्।

के हो मिडटर्म्स?

यो निर्वाचनमा अमेरिकी नागरिकहरूले संसद्का सदस्यहरू चयन गर्न मतदान गर्छन्। अमेरिकी संसद् दुई सदनबाट बनेको हुन्छ- प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) र सिनेट।

अमेरिकामा प्रत्येक दुई वर्षमा निर्वाचन हुन्छ। राष्ट्रपतिको चार वर्षे कार्यकालको बीचमा हुने निर्वाचनलाई मध्यावधि निर्वाचन (मिडटर्म्स) भनिन्छ।

यो निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सदस्यका लागि निर्वाचन हुनेछ। उनीहरूको कार्यकाल दुई वर्षको हुन्छ। प्रतिनिधिसभामा सामान्यतया प्रस्तावित कानुनहरू प्रस्तुत गर्ने र तिनमाथि छलफल गर्ने काम हुन्छ।

त्यसैगरी, संसद्‍को माथिल्लो सदन सिनेटका कुल १०० सिटमध्ये ३५ सिटका लागि पनि निर्वाचन हुनेछ। सिनेटरहरूको कार्यकाल ६ वर्षको हुन्छ। अन्य जिम्मेवारीसँगै उनीहरूले प्रतिनिधिसभाबाट पारित भएर आएका प्रस्तावित कानुनलाई अनुमोदन गर्ने वा अस्वीकार गर्ने काम गर्छन्।

यसै दिन अमेरिकाका धेरै राज्यका मतदाताहरूले राज्यस्तरका राजनीतिक प्रतिनिधिहरू पनि चयन गर्नेछन्।

क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया र मिसिगन राज्यमा हुने गभर्नर (राज्य प्रमुख) पदको निर्वाचनलाई विशेष चासोका साथ हेरिनेछ।

मध्यावधि निर्वाचनको परिणामले संसद्‍मा कुन राजनीतिक दलको नियन्त्रण रहनेछ भन्ने निर्धारण गर्छ। अर्थात्, राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले संसद्‍मा बहुमत कायम राख्छ वा विपक्षी डेमोक्रेटिक पार्टीले नियन्त्रण लिन्छ भन्ने कुरा यसै निर्वाचनबाट तय हुन्छ। यसले राष्ट्रपतिलाई आफ्ना योजना कार्यान्वयन गर्न कति सहज वा कठिन हुन्छ भन्ने पनि निर्धारण गर्छ।

यस निर्वाचनको नतिजालाई अमेरिकी जनताले राष्ट्रपतिको अहिलेसम्मको कार्यसम्पादनप्रति कति सन्तुष्टि वा असन्तुष्टि जनाएका छन् भन्ने मापनका रूपमा पनि हेरिन्छ।

कसले जित्ला?

विगतका निर्वाचनहरूमा मतदाताहरूले राष्ट्रपतिको पार्टीलाई नै दण्डित गर्ने प्रवृत्ति देखिएको छ। अर्थात्, राष्ट्रपतिको पार्टीलाई समर्थन गर्नुको सट्टा विपक्षी पार्टीलाई मतदान गर्ने गरेका छन्।

हालैका जनमत सर्वेक्षणहरूले राष्ट्रपतिको लोकप्रियता घटेको देखाएका छन्। सर्वेक्षणसम्बन्धी वेबसाइट सिल्भर बुलेटिनका अनुसार डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो राष्ट्रपतीय कार्यकाल सुरु गर्दा उनको अनुमोदन दर ५० प्रतिशतभन्दा केही बढी थियो।

तर, अक्टोबरको सुरुतिर यो घटेर करिब ३७ प्रतिशतमा झरेको थियो। यसैबीच, ६१ प्रतिशत अमेरिकीहरूले उनको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका थिए।

यद्यपि, संसद्‍का सबै सिटमा दुवै पार्टीबीच कडा प्रतिस्पर्धा छैन। केही सिटमा रिपब्लिकन वा डेमोक्रेटिक पार्टीको जित लगभग निश्चित मानिन्छ।

निर्वाचन अभियान र राजनीतिक प्रतिस्पर्धाको विश्लेषण गर्ने संस्था कुक पोलिटिकल रिपोर्टका अनुसार सीमित संख्यामा मात्रै यस्ता निर्वाचन क्षेत्र छन्, जहाँ दुवै पार्टीमध्ये जुनसुकैले जित्न सक्छन्।

प्रतिनिधिसभाका १८ निर्वाचन क्षेत्रलाई यस्तो प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा पहिचान गरिएको छ। तीमध्ये फ्लोरिडा र मिसिगनका निर्वाचन क्षेत्र पनि छन्।

त्यस्तै, सिनेटका ६ वटा निर्वाचन क्षेत्रमा पनि कडा प्रतिस्पर्धा हुने देखाइएको छ। तीमध्ये अलास्का र टेक्ससका सिटहरू पनि छन्।

यस वर्षको निर्वाचनको नतिजा अनुमान गर्न कठिन हुनुको अर्को कारण प्रतिनिधिसभाका निर्वाचन क्षेत्रहरूको सीमाङ्कनलाई लिएर दुई पार्टीबीच भइरहेको विवाद हो।

रिपब्लिकन पार्टीले केही राज्यमा आफ्नो पक्षलाई चुनावमा फाइदा पुग्ने गरी निर्वाचन क्षेत्रका नक्सा तयार गर्ने प्रयास गर्‍यो। त्यसपछि डेमोक्रेटिक पार्टीले पनि त्यसैअनुसार कदम चाल्यो।

ट्रम्पका लागि यसले के अर्थ राख्छ?

डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक सदनमा बहुमत हासिल गरेको खण्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसद्‍बाट कानुन पारित गराउन कठिन हुनेछ।

यसले उनका आन्तरिक नीतिसम्बन्धी योजना कार्यान्वयनमा अवरोध पुर्‍याउन सक्छ। यद्यपि, ट्रम्पले आफ्नै पार्टीका सांसदहरूको व्यापक समर्थनबिना पनि राष्ट्रपतीय अधिकार प्रयोग गर्ने विभिन्न उपाय अपनाउँदै आएका छन्।

संसद्‍का दुई सदनमध्ये कुनै एकमा डेमोक्रेटिक पार्टीको नियन्त्रण भएमा उसले विभिन्न समितिमार्फत ट्रम्पको राष्ट्रपतीय कार्यकालका गतिविधिहरूमाथि छानबिन गर्न सक्नेछ।

भ्रष्टाचारसम्बन्धी आरोप, ह्वाइट हाउसमा निर्माण गर्न लागिएको नयाँ बलरुम (विशेष समारोह कक्ष) र अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय (आइस) का गतिविधि तथा कार्यशैलीमाथि पनि छानबिन हुन सक्छ।

यसैबीच, डेमोक्रेटिक पार्टीभित्र ट्रम्पविरुद्ध महाभियोग लगाउने वा नलगाउने भन्ने विषयमा पनि बहस भइरहेको छ।

रिपब्लिकन पार्टीले संसद्‍माथिको आफ्नो नियन्त्रण कायम राख्न सफल भएको खण्डमा भने ट्रम्पले आफ्नो बाँकी राष्ट्रपतीय कार्यकालमा योजनाअनुसार काम अघि बढाउन सक्नेछन्।