BIZMANDU
www.bizmandu.com

क्यान्भाले कर्मचारी कटौतीसहित पुनर्संरचनाको गर्‍यो घोषणा, १२७१ कर्मचारी प्रभावित हुने

२०८३ कात्तिक १८

क्यान्भाले कर्मचारी कटौतीसहित पुनर्संरचनाको गर्‍यो घोषणा, १२७१ कर्मचारी प्रभावित हुने
क्यान्भाले कर्मचारी कटौतीसहित पुनर्संरचनाको गर्‍यो घोषणा, १२७१ कर्मचारी प्रभावित हुने


अस्ट्रेलियाको चर्चित स्टार्टअप क्यान्भाले आफ्नो व्यवसाय पुनर्संरचना गर्ने घोषणा गरेको छ। कम्पनीको यो निर्णयबाट २२ प्रतिशत अर्थात १ हजार २७१ कर्मचारीले रोजगारी गुमाउने वा स्थानान्तरण हुनुपर्ने वा आफ्नो कार्यभूमिका परिवर्तन गर्नुपर्ने भएको छ।

GBIME
Tata

कम्पनीकी सहसंस्थापक तथा सीइओ मेलानी पर्किन्सले १३ वर्षको इतिहासमा यो सबैभन्दा कठिन क्षण भएको बताएकी छन्। उनले कर्मचारीलाई पठाएको सन्देशमा पछिल्लो वर्ष कम्पनीका लागि अहिलेसम्मकै कठिन रहेको र एक दशकमा पहिलोपटक वृद्धि सुस्ताएको उल्लेख गरेकी छन्।

एआईको प्रभाव र नयाँ प्रविधि समावेश गर्न लाग्ने खर्चका कारण कम्पनीको मूल्यांकन घटेको बताइएको छ। यसअघि कम्पनीका दुई लगानीकर्ता ब्ल्याकबर्ड भेन्चर्स र एयरट्रीले क्यान्भाको मूल्यांकन गत वर्षको अन्त्यमा रहेको ६० अर्ब अस्ट्रेलियन डलरबाट घटाएर करिब ४९ अर्ब डलर कायम गरेको रिपोर्ट सार्वजनिक भएको थियो।

पुनर्संरचनाअन्तर्गत कम्पनीले आफ्ना थप प्रडक्सन टिमलाई सिड्नीमा केन्द्रित गर्ने भएको छ। आगामी वर्षदेखि हाइब्रिड प्रणालीमा काम गर्ने कर्मचारीले सातामा दुईदेखि तीन दिन कार्यालयमा उपस्थित हुनुपर्नेछ।

३७ देशमा कर्मचारी रहेको क्यान्भाले नयाँ प्रविधिले मानिसको कन्टेन्ट क्रियसन गर्ने तरिका र प्रयोगकर्ताको अपेक्षा परिवर्तन गरिरहेको जनाएको छ। पर्किन्सले नयाँ उत्पादन विस्तारसँगै एआई प्रविधिमा हुने खर्च पनि बढेको बताएकी छन्।

पर्किन्सले सन् २०१३ मा क्यान्भा स्थापना गरेकी थिइन्। विश्वविद्यालयको पढाइ १९ वर्षको उमेरमै छाडेर कम्पनी सुरु गरेकी उनले प्राविधिक सीप वा डिजाइन पृष्ठभूमि नभएका व्यक्तिले पनि व्यावसायिक देखिने ग्राफिक्स र प्रस्तुति तयार गर्न सक्ने प्लेटफर्म विकास गरेकी हुन्।