काठमाडौं। निष्क्रिय कम्पनीको दर्ता खारेज गर्न वा निरन्तरता दिन चाहनेलाई सरकारले जरिवाना छुटको समय बढाएको छ। आर्थिक वर्ष २०८२/८३ को विवरण बुझाई कानुन बमोजिम लाग्ने शुल्क दाखिला गरेमा त्यसअघिका वर्षमा लागेको सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ।
अर्थ मन्त्रालयको २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीलाई यस्तो सुविधा दिएको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयले सूचना जारी गर्दै उक्त सुविधा आगामी पुस मसान्तसम्म लिन सक्नेगरी समय थप गरेको हो।
यो व्यवस्थाले लामो समयदेखि कारोबार बन्द गरेर बसेका तर कानुनी रूपमा कम्पनी खारेज नगरेका सञ्चालकलाई दर्ता खारेजीमा सहज हुनेछ। त्यस्तै, कारोबार निरन्तरता दिन चाहने कम्पनीले पनि पुरानो बक्यौता तथा जरिवानाको भारबाट छुट पाउनेछन्।
सुविधा लिन चाहने कम्पनीहरूले आर्थिक विवरण पुस मसान्तभित्र कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणालीमार्फत पेस गर्न सक्नेछन्।