काठमाडौं। तिहारका लागि व्यवसायीले करिब ४५ करोडको झिलिमिली बत्ती भित्र्याएका छन्। तिहारमा सजावटका लागि प्रयोग गरिने भएकाले व्यवसायीले झिलिमिली बत्ती ल्याएका हुन्।
उनीहरुले यसपालि विगतका वर्षको भन्दा गुणस्तरीय बत्ती भित्र्याएको र त्यही कारण मूल्य महँगो भएको बताएका छन्। व्यवसायीहरुका अनुसार झिलिमिली बत्तीको भाउ यसपालि २५ प्रतिशत महँगिएको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं नेपाल लाइट सेन्टरका संचालक रेशम देवकोटाले डलरको भाउ वृद्धि, रसुवा नाका बन्द लगायत कारण बत्तीको भाउ बढेको बताए।
‘यस वर्ष तिहारका बत्ती महँगो भएर आएका छन्। डलरको भाउ वृद्धि हुँदा तथा आयातका लागि ढुवानीमा धेरै रकम खर्च हुँदा भाउ बढेको हो। साथै हामीले यसपालि गुणस्तरीय बत्ती ल्याएका छौं। गुणस्तर राम्रो हुँदा मूल्य केही बढी हुनु स्वाभाविक हो,’ उनले भने।
व्यवसायीले गत वर्ष करिब २५ करोड रुपैयाँको झिलिमिली बत्ती ल्याएका थिए। पोहोर जेनजी आन्दोलनको असरस्वरुप बत्तीको आयात घटेको थियो। व्यवसायीले परार ४० करोड रुपैयाँभन्दा बढी मूल्यको बत्ती ल्याएका थिए।
‘यसपालि ४५ करोड रुपैयाँ हाराहारीको बत्ती भित्रिएको छ। तर, परिमाण घटेको छ,’ देवकोटाले भने।
महासंघका महासचिव शंकर देवकोटाले उपभोक्ताले पुरानै झिलिमिली बत्ती प्रयोग गर्ने भएकाले आयात नबढाएको बताए। ‘बजारमा अहिले झिलीमिली बत्ती किन्न तँछाडमछाड छैन। कतिपय उपभोक्ताले पुरानै बत्तीले काम चलाउँछन्। त्यसैले हामीले उत्साही भएर आयात गरेका छैनौं,’ उनले भने।
होलसेल व्यापारीले झिलिमिली बत्ती धमाधम बजारमा पठाइरहेका छन्। सुन्धारास्थित ओम श्री बालाजीका संचालक सुदर्शन प्रसाद पौडेलले झिलिमिली बत्तीको माग विगतका वर्षको तुलनामा घटेको बताए।
‘बजारमा बत्तीको माग पहिलेजस्तो छैन। एकपटक किनेको बत्तीले चार पाँच वर्षसम्म काम गर्ने भएका कारण पनि माग नबढेको हो। अहिले बत्तीको भाउ पनि महँगिएको छ,’ उनले भने।
कति छ मूल्य?
बजारमा झिलिमिली बत्तीको मूल्य सामान अनुसार फरक फरक छ। गत वर्ष १५० रुपैयाँ परेको लिड बत्तीको मूल्य यसपटक २५० रुपैयाँसम्म पुगेको छ। यो ९ देखि १० मिटरको मूल्य हो।
वाटर फल्स बत्तीको मूल्य २०० देखि २५० रुपैयाँ पर्ने व्यापारीहरुको भनाइ छ। उनीहरुका अनुसार वार्म कलर लाइट ९ देखि १० मिटरको मूल्य ३०० देखि ४०० रुपैयाँ पर्छ।